close

छोरी–बुहारीलाई लोकसेवा पढाउँदै माछापुच्छ्रे

छोरी–बुहारीलाई लोकसेवा पढाउँदै माछापुच्छ्रे

Trulli
ADVERTISEMENT

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिकाले छोरी–बुहारीलाई लक्षित गरी लोकसेवा आयोगको तालिम सुरु गरेको छ । पालिकाका ३५ जना महिलाहरूले लोकसेवाको परीक्षा तयारी गरिरहेका छन् । ‘सधैँ चुल्हो–चौकामा मात्रै हुन्थ्यौँ । आजभोलि घरबाट निस्किन पाएका छौँ’, वडा नम्बर ८ ठाँटीकी वसन्ती गौतम भन्छिन्, ‘अहिले समाज पनि महिलामैत्री भएको छ ।’ 

 

उनीजस्तै लाहाचोककी दीपा खुलाललाई पनि लोकसेवा दिने हुटहुटी छ । ‘लोकसेवा आयोगमा परीक्षा दिऊँजस्तो लागेको धेरै भयो । तयारी थिएन’, उनले भनिन्, ‘अब सरकारी जागिरे भइन्छ कि भन्ने विश्वास पलायो । गाउँपालिकालाई धन्यवाद ।’


३० जनाको संख्यामा आवेदन खुलाएर तालिम दिने भनिए पनि तोकिएभन्दा ५ जना थपिए । सबैलाई तालिममा सहभागी गराइएको छ ।  २४ माघदेखि सुरु भएको तालिम २ महिने अवधिको हो । तालिममा २२ जना बुहारी मात्रै छन् । सबैले लोकसेवाको परीक्षा पास गर्ने विश्वास लिएका छन् । गाउँपालिकाले ‘उपाध्यक्षसँग महिला बालबालिका कार्यक्रम’ अन्तर्गत तयारी कक्षा सञ्चालन गरेको हो । 


आत्मनिर्भर हुने र निजामती क्षेत्रमा महिलाको उपस्थिति बढ्ने विश्वासका साथ कार्यक्रम गरिएको उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताइन् । अहिले राजपत्र अनंकित प्रथम श्रेणीको नासु र द्वितीय श्रेणीअन्तर्गत खरिदार तहको कक्षा सञ्चालन गरिएको हो ।

 

तयारी कक्षामा धम्पुस, ल्वाङघलेल, रिभान, माछापुच्छ्रे, धिताल, घाचोक, लाहाचोक ठाउँबाट महिला उपस्थित भएका छन् । बिहान ८ देखि ९ बजेसम्म पढाइ हुन्छ । पालिकाले अघिल्लो वर्ष पोखरामै यो तालिम चलाएको थियो । 


‘महिलाहरू घरबाट निस्किनै सकेनन् । कमसेकम यस्ता तालिमले तिनमा आत्मविश्वास बढ्छ’, दवाडीले भनिन्, ‘केहीले जागिर पनि पाउलान् । महिला आत्मनिर्भर भए परिवारको अवस्था पनि सुध्रिन्छ ।’ नियमित रूपमा महिला लक्षित कार्यक्रम सञ्चालन गरिरहने उनको भनाइ छ ।