close

उदयपुरगढी पुनः निर्माण गर्न थप २ करोड

उदयपुरगढी पुनः निर्माण गर्न थप २ करोड

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीस्थित पुरानो गढी पुनः निर्माण गर्न झन्डै २ करोड रुपैयाँ सरकारले छुट्याएको छ । 


गत वर्ष स्थगित भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न देशभरका १ सय पर्यटन गन्तव्यभित्र परेको उदयपुरगढीको पर्यटकीय प्रवद्र्धन गर्न गाउँपालिकाले थालेको पुरानो गढी पुनर्निर्माणलाई पूर्णता दिन संघीय सरकारले १ करोड ९३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो ।

 

बजेट विनियोजनले अघिल्लो वर्ष गाउँपालिकाले निर्माण थालेको पुरानो गढीको संरचना निर्माण सुचारु हुनेछ । गत वर्ष संघीय सरकारकै ५० लाख र गाउँपालिकाको २३ लाख ५० हजार गरी साढे ७३ लाख रुपैयाँमा पहिलो चरणको काम सुरु भएको थियो ।

 

गढी पुनः निर्माण उपभोक्ता समितिका अध्यक्ष बोधकुमार घिमिरेले तत्कालीन गढीको जग, बंकर र कम्पाउन्ड घेराबार गत वर्ष नै बनाइसकिएको बताए । गढीलाई पुनर्जीवन दिलाउने अन्य ऐतिहासिक प्रमाण अध्ययन गरी सकेसम्म पहिलेजस्तै बनाइने उनको दाबी छ । 

 

गाउँपालिकाले गढी पुनः निर्माणका लागि २ करोड ७५ लाख रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर) ३ वर्ष अघि नै तयार पारेको छ । गाउँपालिकाले ८२ लाख रुपैयाँ लागत सहभागिताबापत जुटाउनेछ भने बाँकी पर्यटन मन्त्रालयसँग माग गरेअनुसार सो बजेट दिने कार्यक्रम स्वीकृत भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले जानकारी दिए ।

 

उनका अनुसार मन्त्रालयको गत २९ माघको निर्णयअनुसार गढी पुनः संरचनाका लागि सो बजेट स्वीकृत भएको हो । बजेट स्वीकृत भएसँगै पुरानो गढीको पुनः संरचना सुचारु हुन लागेको सुवेदीले बताए ।

 

उदयपुरगढीको इतिहास पुनर्जीवन गर्दै तत्कालीन अवस्था झल्कने गरी पर्यटन केन्द्र बनाउन गाउँपालिकाले काम सुरु गर्ने उनको भनाइ छ । फागुनभित्र रकम निकासा भए चैतदेखि काम सुरु गर्ने योजना रहेको अधिकृत सुवेदीले बताए । 

 

तत्कालीन २२ से २४ राज्यमा हाल चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १ मा पर्ने चौदण्डीगढी राज्यको सहायक मुकाम बनाएर राखिएको ठाउँ हो, उदयपुरगढी । पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा उदयपुरगढी कब्जा गरेर युद्धपोत स्थापना गरेको इतिहास रहेको घिमिरे बताउँछन् ।

 

गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरका अनुसार ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ मा उदयपुरगढी देशभरका १ सय प्रमुख गन्तव्यमा छनोट भएको थियो । 

 

सय गन्तव्यमध्ये परेसँगै स्थानीय समाजसेवी घिमिरेलाई पर्यटन समिति संयोजक तोकेर गाउँपालिकास्तरीय पर्यटन प्रवद्र्धनको गतिविधि सुरु गरे पनि कोभिडका कारण अभियान रोकिन पुगेको थियो । उदयपुरगढी गाउँपालिकाको वडा नम्बर ५ मा रहेको झन्डै २ सय ५० वर्षअघिको पुरानो गढीको भग्नावशेषलाई पुनर्जीवन दिने काम पुनः संरचनाले गर्नेछ । 

 

पुरानो गढी, तत्कालीन सैनिक बंकर, कोतखाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त संरचनाको भग्नावशेषका संरचनासहित पुनः निर्माण गरिने उनले बताए ।  गाउँपालिका मुकामदेखि १ किलोमिटर उत्तर–पश्चिममा रहेको पुरानो गढी पुनर्संरचनापछि यहाँ पर्यटकको आकर्षण बढ्ने अपेक्षा समितिको छ ।  यहाँ २०२८ मै कच्ची सडक पुगिसके पनि सोही वर्ष त्यहाँको सदरमुकाम गाईघाट सारेपछि बिरानो बन्दै गएर गढी भग्नावेशषमा मात्र सीमित हुन पुगेको थियो । 

 

साविक पञ्चावती गाविस कार्यालय, जिल्लाकै जेठो पञ्चावती माध्यमिक विद्यालय १–१२), स्वास्थ्य चौकी, प्रहरी चौकी, इलाका हुलाक, कृषि तथा भेटरेनरी कार्यालय रहे पनि मानव आकर्षण कम रहेको उदयपुरगढी क्षेत्र ०७३ मा सम्पन्न स्थानीय तह निर्वाचनसँगै पुनः गुल्जार बन्दै गएको छ । जिल्लाको मध्य भागमा पर्ने उदयपुरगढी गाउँपालिका साविकका पञ्चावति, तावाश्री, बर्रे, डुम्रे र भलायडाँडा गाविसलाई समायोजन गरेर बनाइएको हो । 

 

गाउँपालिका केन्द्र बनेसँगै ऐतिहासिक गढीको इतिहासलाई पुनर्जीवन दिन जनप्रतिनिधि र स्थानीय अगुवाले ऐतिहासिक पुरानो गढीको पुनर्संरचना थालेका हुन् । पुरानो गढीको पुनर्निर्माण गर्दा ५ सय मिटर व्यासको कम्पाउन्ड घेराबार, बाहिरपट्टि १ सय ३० मिटर लामो र ६ फिट अग्लो तथा भित्र १४ फिट उचाइको १ सय मिटर लामो गारो लगाइएको छ । 

 

त्यहाँभित्र गढी, कोतखाना, इनार र बगैँचा निर्माण गरिनेछ भने सैनिक बंकर बनाउने प्राविधिक स्टिमेट छ ।