close

मितव्ययी अधिकृत: भत्ता लिदैनन्, अरुलाई पनि अनावश्यक दिदैनन्

मितव्ययी अधिकृत: भत्ता लिदैनन्, अरुलाई पनि अनावश्यक दिदैनन्

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– स्थानीय तहको ठूलो बजेट प्रोत्साहन रकम र भत्ता सहित अनुत्पादक क्षेत्रमा खर्च भइरहेका बेला ताप्लेजुङको मिक्वाखाेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले भने दैनिक भ्रमण भत्ता(टिएडिए) र मासिक प्रोत्साहन भत्ता अस्वीकार गरेका छन् । 


अनावश्यक टिएडिए खाने परिपाटीले बजेटको ठूलो हिस्साको दुरुपयोग भइरहेको भन्दै मिक्वाखाेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले यस आर्थिक वर्षबाट टिएडिए नलिने घोषणा गरेका हुन् ।

 

‘कामकै लागि र त्यो रकम बुझेर कार्यालय प्रयोजनकै लागि खर्च हुन्छ भने मात्र टिएडिए लिने हो, नत्र अनावश्यक रुपले टिएडिए बुझ्दिन र अरुलाइ पनि अनावश्यक रुपले दिन्न पनि,’ गुरुङले भने । उनका अनुसार गाउँ कार्यपालिकाले निर्णय गरे अनुसार प्रमुख प्रशासकीय अधिकृतले बढीमा मासिक २० हजार रुपैंयासम्म टिएडिए लिन पाउँछन् । 


आन्तरिक आम्दानीसमेत नहुने र केन्द्रबाट प्राप्त बजेट अनावश्यक रुपमा टिएडिए लिने प्रणालीले बजेटको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा जानबाट रोक्न आफु यस्तो निर्णयमा पुगेको उनले जानकारी दिए । 


उनले २०७५ सालबाटै गाउँपालिकाले दिएको मासिक १० हजार रुपैयाँ प्रोत्साहन भत्ता समेत अस्वीकार गरेका थिए । २०७५ सालबाट सो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आएका गुरुङले सरकारको बजेट जनमैत्री काम र उत्पादनमुलक क्षेत्रमा खर्च गर्नुपर्ने आफ्नो प्रयास रहेको बताए । ‘त्यहिँ प्रयासलाइ सार्थक बनाउन मैले यस्तो निर्णय लिएको हुँ’, उनले भने ।