close

अस्पताल बनाउन स्थानीयले दान दिए १२ रोपनी जग्गा 

अस्पताल बनाउन स्थानीयले दान दिए १२ रोपनी जग्गा 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्वर १ दोवाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी भन्दा बढी जग्गा दान गरेका छन् ।  


संघीय सरकारको ‘एक पालिका, एक अस्पताल’ योजना कार्यान्वयनका लागि स्थानीयले दोवा र मारका गाउँको बीचमा पर्ने १२ रोपनी ७ आना २ दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । 


स्थानीयबासीले उपलब्ध गराएको जग्गाको माटो परीक्षण र बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर पूर्वाधार निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको गाउँपालिकाले जनाएको छ । 


कसले कति दिए जग्गा ?


दोवाका वडा अध्यक्ष दिलिपकुमार गर्बुजाका अनुसार नौप्रसाद पुर्जाले एक रोपनी ३ पैसा, यादवबहादुर गर्बुजाले १ रोपनी ८ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले ५ रोपनी ४ आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले २ रोपनी २ आना र टिकाबहादुर पुर्जाले साढे २ आना जग्गा उपलब्ध गराएका हुन् ।  


अब के हुन्छ ?


‘कार्यपालिकाको बैठकले दोवामा पालिकास्तरीय अस्पताल बनाउने सर्वसम्मत निर्णय गरेपछि वडा स्तरमा जग्गा उपलब्ध गराउन प्रस्ताव आव्हान गरेका थियौ,’ वडा अध्यक्ष गर्बुजाले भने ‘स्थानीयले उपलब्ध गराएको मध्ये मापदण्ड पुग्ने र उपयुक्त मानिएको ठाउँमा जग्गामा अस्पताल बनाउने प्रक्रिया अघि बढेको छ ।’


कहाँ बन्दैछ ? 


अस्पताल निर्माणस्थल बेनी–जोमसोम सडक देखि ४ किलोमिटर भित्र पर्छ । मुख्य सडकदेखि दोवा जोड्ने सडकलाई स्तरोन्नति गरेर पालिकाका सबै वडाका बासिन्दा, सडकमा यात्रा गर्ने यात्रु र पर्यटकलाई सुविधा दिन सकिने वडा अध्यक्ष गर्बुजाले बताए । स्थानीयले उपलब्ध गराएको जग्गाको स्थानीय बजार मूल्य एक करोड रुपैयाँ भन्दा बढी छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्नपूर्ण गाउँपालिकालाई अस्पताल निर्माण गर्न चालु आर्थिक वर्ष २०७७/०७८ मा ७० लाख रुपैयाँ पठाएको थियो । जग्गा व्यवस्थापनसहित पूर्वाधार बनाउन डिपीआर अनुसार ठेक्का आव्हान गरिएको गाउँपालिकाका इञ्जिनियर इश्वरबहादुर भण्डारीले बताए । 


अन्य पालिका पनि ताते 
 

म्याग्दीका अन्य स्थानीय तहहरुले पनि अस्पताल निर्माणको प्रक्रिया अघि बढाएका छन् । धवलागिरी गाउँपालिकाले ताकममा र मंगला गाउँपालिकाले अर्मनको हाँडेभिरमा अस्पताल बनाउन ठेक्का प्रक्रिया अघि बढाएको छ । रघुगंगा गाउँपालिकाले बेगमा अस्पताल बनाउने निर्णय गरेर प्रक्रिया अघि बढाएको छ । 

 

बेनी नगरपालिमा जिल्लास्तरीय बेनी अस्पताल छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्ने सरकारले हालै निर्णय गरेको छ । संघीय सरकारले सबै स्थानीय तहमा ५ देखि १५ शय्या क्षमताको अस्पताल स्थापना गर्ने कार्यक्रम अघि बढाएको छ ।