close

सुशासनसँगै जवाफदेही बनेकाे एउटा अब्बल स्थानीय तह

सुशासनसँगै जवाफदेही बनेकाे एउटा अब्बल स्थानीय तह

Trulli
ADVERTISEMENT

गुल्मी– गुल्मी दरवार गाउँपालिकाले आफुलाई शुसासन र जवाफदेहिताको क्षेत्रमा अब्बल बनाउँदै लगेकोे छ । गाउँपालिकाले यो आर्थिक वर्षबाट गाउँपालिकाका विभिन्न गतिविधि समेटिएको मासिक इबुलेटिन प्रकाशन र गाउँपालिकाको पहिचानसहितको लोगो निर्माण गरेको छ । 


सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाउन नागरिक सहायता कक्ष, नागरिक सहायता पुस्तिका, प्रत्येक कार्यालयमा विद्युतिय हाजिरी र एसएमएस मार्फत गाउँपालिकाका महत्वपूर्ण सन्देश तत्काल नागरिकको मोवाइलमा पुग्ने व्यवस्था गाउँपालिकाले मिलाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।


कार्यसम्पादन सम्झौता


त्यस्तै जिल्लामै पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखबीच कार्य सम्पादन करार सम्झौता र कर्मचारी मुल्यांकलनको व्यावस्था मिलाइएको पाण्डेयले बताए । केही शाखा प्रमुखहरुले प्रतिवेदन बुझाएकाले मुल्यांकन गर्ने कार्य भइरहेको बताउँदै पाण्डेयले सेवा प्रबाहलाई छिटो, छरितो, पारदर्शी र मितव्यी बनाउने  उनको दावी छ । सातौं गाउँ सभामा प्रस्तुत गरेको प्रगति प्रतिवेदनका आधारमा गाउँपालिकाले संचालन गरेका काम र योजनाहरु जिल्लामा उदाहरणीय छन् । 


यस्तो छ प्रगति रिपोर्ट


गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा पनि मातृ शिशु, नवजात शिशु, पोषण, सरसफाई, परिवार योजनासहित गर्भवती महिलाहरुको स्वास्थ्यलाई ख्याल राख्दै ‘कस्तो छ आमा’ कार्यक्रम संचालनमा ल्याइएको छ । यो कार्यक्रम अहिले गाउँगाउँमा अत्यन्तै प्रभावकारी बनिरहेको छ । 


गज्जवको साथी शिक्षा 

 

त्यस्तै गाउँपालिकाले महिला बालबालिका र जेष्ठ नागरिकको निःशुल्क उपचार तथा औषधी वितरण, बर्थिङ सेन्टर सञ्चालन, अपांगता परिचय पत्र वितरण र विद्यार्थी केन्द्रित साथी शिक्षा कार्यक्रम गाउँगाउँमा संचालन गरिरहेको छ । 


त्यो बाहेक कृषकसँग कृषि प्राविधिक, खानेपानी, शिक्षा र रोजगारको क्षेत्रमा पनि थुप्रै काम भएका छन् । वडा नं २ र ४ मा बिपन्न परिवारलाई जस्तापाता र वडा नं २, ४, ५ र ६ मा खानेपानी र सिंचाई सजिलोका लागि ५ सय लिटरको हिल ट्यांक वितरण गरिएको गाउँपालिकाका प्रशासन शाखा प्रमुख टंक प्रसाद पन्थीले बताए । 

 

सडकको अवस्था 

 

चालु आर्थिक वर्षमा गाउँपालिकाले १९ किलोमिटर सडक विस्तार र ५ सय ५० मिटर सडक ग्राभेल भएको छ । भौतिक निर्माणको क्षेत्रमा पनि महत्वपूर्ण काम गाउँपालिकाले गरेको छ । त्यो बाहेक अधुरा योजना सम्पन्न गर्न सातौ गाउँ सभा मार्फत संसोधन गर्न पुरक बजेट पेश भएको गाउँपालिका प्रमुख अशोक कुमार थापाले जानकारी दिए । 

 

गाउँपालिकाले भूमि बैंक स्थापना गरेर बाँझो जग्गाहरुको लगत संकलन गरिरहेको छ । बेरोजगार युवाहरुलाई विभिन्न प्रोत्साहन दिएर सामुहिक खेती अगाडी बढाइरहेको थापाले बताए । यो आर्थिक वर्षमा गाउँपालिकाले १० वटा कार्यविधि निर्माण गरेर काम गरिरहेको छ । 

 

कानुन र कार्यविधिमा प्रगति 

 

भूमि बैंक सम्बन्धी कार्यविधि, सार्वजनिक जवाफदेहिता प्रवद्र्धन सम्बन्धी कार्यविधि, गुल्मीदरबार गाउँपालिकाको सार्वजनिक खर्च मितव्ययिता सम्बन्धी कार्यविधि, व्यवसाय दर्ता, नविकरण तथा कर कार्यविधि, कस्तो छ आमा संचालन कार्यविधि, कृषक समूह दर्ता व्यवस्थापन कार्यविधि, सार्वजनिक जवाफदेहिता प्रवद्र्धन सम्बन्धी कार्यविधि, टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि र कार्यसम्पादनमा आधारित कर्मचारी प्रोत्साहन मापदण्ड २०७७ निर्माण गरेर गाउँपालिकाले मासिक रुपका कर्मचारीको कार्यसम्पादन मुल्यांकन र पुरस्कृत गर्दै आएको छ । 

 

दण्ड र पुरस्कार 

 

सर्वोत्कृष्ट पुरस्कारबाट पुरस्कृत गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्यालले पुरस्कृत हुँदा कर्मचारीको कामको मुल्यांकन भएकोे बताए । गाउँपालिकाको यो परिपाटीले अहिले आफु पुरस्कृत भएपनि आगामी दिनमा अरु कर्मचारीहरुमा पनि उत्साह आउने प्रतिक्रिया दिए । गुल्मी दरवार गाउँपालिकाले नागरिकमैत्री सेवा प्रवाह, सुशासन र जवाफदेहिताको क्षेत्रमा निकै उदाहरणीय काम गरेको छ ।