close

५ लाखले पुरिए बेनी सडकका खाल्डा, १४ लाखकाे नयाँ पिच

५ लाखले पुरिए बेनी सडकका खाल्डा, १४ लाखकाे नयाँ पिच

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दी सदरमुकाम बेनी बजारको सडक मर्मत सुरु गरिएको छ । कालोपत्रे गरिएका बजारका सडकमा खाल्डाखुल्डी पुर्नुका साथै उप्किएको ठाउँमा पुनः कालोपत्रे गर्न लागिएको हो ।


बेनी नगरपालिकाले वडा नम्बर ७ र ८ मा पर्ने सडकको पुनः कालोपत्रे र खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । वडा नम्बर ८ मा १ सय ६५ मिटर सडकमा १ सय २२ वर्गमिटर प्वाल पुरिएको छ । 


८ सय २० स्क्वायर मिटर पिच गरिएको नगरपालिकाका प्राविधिक कुमार थापाले बताए । वडा नम्बर ७ मा १ सय ६५ मिटर दूरीमा २ सय ३० स्क्वायर मिटर ओभरले पिच गरिएको छ । यसअघि गरिएको कालोपत्रे उप्किएको ठाउँमा प्रिमिक्स प्रविधिबाट कालोपत्रे गरिएको हो । 

 

सडक कालोपत्रेका लागि वडा नम्बर ७ ले चालू आर्थिक वर्षमा १० लाख र ८ नम्बर वडाले ८ लाख रुपैयाँ विनियोजन गरेका थिए । ठेक्का प्रतिस्पर्धाका क्रममा खुसी होम बिल्डर्सले १४ लाख ८ हजार ८ सय १० रुपैयाँमा ठेक्का लिएका थिए । 


१७ लाख ४६ हजार ८ सय ७१ रुपैयाँ लागत अनुमान गरिएको थियो । ठेक्का लगाइसकेपछि केही ठाउँमा सडक मर्मतका लागि बजेटले अपुग भएपछि वडा नम्बर ७ र ८ ले अन्य योजनाबाट काटेर ५ लाख रुपैयाँ विनियोजन गरेका थिए । 


पछिल्लो ५ लाख रुपैयाँ बजेटको कोटेसनको माध्यमबाट कालोपत्रेका काम गराइएको छ । पिच उप्किएर खाल्डाखुल्डी परेको, धुलो उड्न थालेको र दुर्घटनाको जोखिमका साथै साउजाउमा समस्या भएको थियो । 


सडक मर्मतपछि आउजाउ सहज हुने, धुलो नउड्ने र दुर्घटनाको जोखिम पनि घट्ने बेनी नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए ।