close

बडहरे–घोपाटार सडक निर्माण 

बडहरे–घोपाटार सडक निर्माण 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ४ बडहरे र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर १ मोली जोड्ने सडक निर्माण गरिएको छ । वडा कार्यालयको पहलमा बडहरेबाट दूधकोसीको किनारमा पर्ने घोपाटार पुग्ने करिब साढे १० किलोमिटर सडक निर्माण भएको हो ।

 

दूधकोसीपारि ओखलढुंगातर्फ सडक बनिसकेको अवस्थामा बडहरेतर्फबाट पनि घोपाटार पुलसम्म पुग्ने सडक निर्माण गरिएको हो । घोपाटारसम्म पुर्‍याइएको सडकबाट ओर्लिएपछि पुरानो झोलुंगे पुलबाट दूधकोसी तरेर गन्तव्यमा जान सकिने अवस्था बनेको बडहरेका वडाध्यक्ष किशोर बस्नेतले बताए । 


ओखलढुंगातर्फ दूधकोसीको किनारै किनार सोलु दूधकुण्ड जोड्ने सडक बनिसकेको अवस्थामा खोटाङतर्फबाट बडहरे–घोपाटार सडक विस्तार गरिएको हो ।

 

९ लाख रुपैयाँको तेल खरिद गरेर नगरपालिकाकै मेसिन प्रयोग गरेर सडक खनिएको हो । लामो समयदेखि झोलुंगे पुल सञ्चालनमा रहेको घोपाटारमा पक्की पुल निर्माण गर्न सके हलेसी तुवाचुङ नगरपालिकाबाट ओखलढुंगा, सोलुखुम्बु पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने वडाध्यक्ष बस्नेत बताउँछन् ।


ओखलढुंगामा रहेको सामुदायिक मिसन अस्पताल पुग्न हाल हलेसी–जयराम–हिलेपानी–ओखलढुंगा सडक प्रयोग भइरहेको अवस्थामा वडा कार्यालयले घोपाटारको छोटो बाटो खोल्ने प्रयत्न गरेको हो ।


घोपाटारमा मोटरेबल पुल बनेको खण्डमा जयराम ९ओखलढुंगातर्फ० बाट दूधकोसी किनार हुँदै घोपाटारबाट नदी तरेर हलेसी पुग्ने बाटो खुल्नेछ । 


बडहरे–घोपाटार सडक भविष्यमा हलेसी तुवाचुङ नगरपालिकाको तल्लो तटीय क्षेत्रमा निर्माण गरिने सडकसँग जोडिनेछ । अधिकांश भाग दूधकोसी र सुनकोसीले छेकिएको नगरपालिकाको तल्लो तटीय क्षेत्रमा नगर परिक्रमा गर्ने सडक निर्माणको योजना बनिरहेको जनाएको छ ।


‘झोलुंगे पुल रहेको घोपाटार व्यस्त नाका हो । पुल तरेपछि सोलु दूधकुण्डदेखि सहर जोड्ने बाटो भेटिन्छ,’ वडाध्यक्ष राईले भने, ‘ओखलढुंगाको मिसन अस्पताल पुग्नसमेत सहज र छोटो बाटो खुल्ने भएकाले घोपाटार पुग्ने सडक विस्तार गरिएको हो । घोपाटारमा पक्की पुल बनाउन प्रतिनिधिसभा र प्रदेश सांसदको ध्यान जान आवश्यक छ ।’ 


मंगलटारबाट पनि घोपाटार जोड्ने सडक बन्दै 

 

हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ६ मंगलटारबाट पनि घोपाटार जोड्ने सडक निर्माण सुरु गरिएको छ । नगरपालिकाको मेसिन र तेल प्रयोग गरेरै मंगलटारको भदौरेबाट घोपाटार जोड्ने सडक निर्माण सुरु गरिएको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए । 


करिब १२ वर्षअघि सुरु गरिएको हलेसी–मंगलटार–घोपाटार र दुर्छिम–मंगलटार–घोपाटार सडकको परिकल्पनाअनुसार वडा कार्यालयले मंगलटारबाट घोपाटार पुग्ने सडक विस्तार सुरु गरेको जनाएको छ । 


दशकअघि नै मंगलटार हुँदै घोपाटार पुग्ने सडक निर्माण गर्ने योजना बने पनि हालसम्म अधुरो थियो । मंगलटारबाटै सल्लेको महादेवबेँसी झर्ने सडक पनि निर्माण हुने वडाध्यक्ष राउतले बताए । 


‘मंगलटारलाई घोपाटार हुँदै ओखलढुंगासँग जोड्ने बहुप्रतीक्षित सडक मार्ग निर्माण आरम्भ भएको छ,’ वडाध्यक्ष राउतले भने, ‘छिट्टै हामी अन्तरवडा हुँदै अन्तरजिल्लासँग जोडिँदै छौँ ।’