close

मोहन बस्नेतका १६ घन्टा

४ मन्दिरको दर्शन, ५ कार्यक्रममा सहभागी, भात सधैँ घरकै 

मोहन बस्नेतका १६ घन्टा

४ मन्दिरको दर्शन, ५ कार्यक्रममा सहभागी, भात सधैँ घरकै 

Trulli
ADVERTISEMENT

जनप्रतिनिधिले गर्ने हरेक गतिविधि जनताको भाग्य र भविष्यसँग जोडिन्छ । स्थानीय तहका जनप्रतिनिधिले एक दिन गर्ने कामले उसको सामाजिक सेवाप्रतिको लगावको छनक दिन्छ । हाम्रा जनप्रतिनिधिको एक दिनको समय कसरी बित्छ ? के गर्छन् उनीहरु ? कसलाई भेट्छन् ? के निर्णय गर्छन्लगायतमा सबैको चासो हुनसक्छ । यही चासो ‘जनप्रतिनिधिको एक दिन’ले मेट्नेछ । यस पटक छन् काठमाडौंको दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत ।

 

काठमाडौं– आइतबार बिहानै दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतलाई मानेभन्ज्याङ सडक खण्डको निर्माण कसरी अगाडि बढ्दै छ भनेर चासो लाग्यो । उनी सडक अनुगमनमा तत्कालै जान चाहन्थे तर दैनिकीले निस्कन सक्ने अवस्था थिएन । 


नगरप्रमुख बस्नेत ५ बजे उठेर मर्निङ वाकमा निस्किए । ‘मर्निङ वाक भने पनि स्थानीयसँग उनको घुलमेल हुने गर्दो रहेछ,’ बस्नेत भन्छन्, ‘सोहि समय नगरभित्रका ज्येष्ठ नागरिक र जनताका गुनासो, छलफलमै व्यस्त भइन्छ ।’ धर्मकर्ममा विश्वास राख्ने प्रमुख बस्नेतले करिब २ घन्टाको हिँडाइमा नगरभित्रका दक्षिणकालीलगायत ४ वटा मठमन्दिर दर्शन गरे । नगरमा पहुँच नपुग्ने नागरिकको गुनासो सुन्दै सामान्य समस्याको तत्कालै हल गर्ने प्रयास गरे । 


तत्कालै समाधान गर्न नसकिने समस्यालाई आफ्नो डायरीमा उतारे । उनीकहाँ सडक निर्माण, खानेपानी, विपन्नका लागि सहयोगलगायतका समस्या आउने गर्दा रहेछन् । ५ बजे घरबाट निस्कने नगरप्रमुुख बस्नेत बेलुका ७ बजे मात्र घर पुग्छन् । तर, आइतबार भने ८ बज्दा मात्र घर पुगे । 


घर आइपुग्दा चिया, खाजा तयारी अवस्थामा थियो । देश दुनियाँको चासो राख्ने स्वभावका नगरप्रमुख बस्नेतले पत्रपत्रिका पल्टाउँदै चिया, खाजा खाए । केही बेर पारिवारिक कुराकानीमा समय बिताए । 


पारिवारिक मन्थनमै व्यस्त थिए । एक्कासि फोनको घन्टी बज्यो । नचिनेको आवाज लाग्यो । उनले एकै पटक सोधिहाले, ‘कहाँबाट ? को बोल्नुभयो ?’ उताबाट आवाज आयो, ‘विपन्नलाई सहयोग गरिदिनुपर्‍यो ।’

 

उनले हतार–हतार सहयोगको कुरा डायरीमा उतारिहाले किनकि ११ बजे बसपार्क आसपासको सडक ढलान तथा मानेभन्ज्याङ सडक ढलानको छलफलमा पुग्नैपर्ने थियो । १० बजे घरबाट निस्किएपछि उनले १ घन्टाको छलफल चलाए । सडकमा ढलान कार्य भइरहेकाले निरीक्षण गरेर फर्किए । 

 

त्यसलगत्तै १२ बजे महिला स्वयंसेविकाको कार्यक्रममा पुगे, जहाँ उनलाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको थियो । त्यतिबेलासम्म उनले खाना खाएका थिएनन् । स्वास्थ्यमा सामान्य समस्या देखिएकाले बाहिर खाना खान छाडेको उनी बताउँछन् । स्वयंसेविकाको कार्यक्रम सकेर करिब १ बजे घर पुगे, खाना खानकै लागि । 

 

खाना खाएर करिब ३० मिनेट आराम गरे र नगरपालिका फर्किए । नगरपालिकामा विकास निर्माण, सम्पदा पुनर्निर्माण, स्वास्थ्य संस्थाका कर्मचारीको समायोजन र विपन्न परिवारका बिरामीलाई सहयोगलगायत विषयमा छलफल चलाए । 


करिब १ बजे खाना खाएका नगरप्रमुख बस्नेतले खाजा भने खाएनन् । उनी भन्छन्, ‘सबैजसो जनप्रतिनिधिको अवस्था यस्तै छ । जनताको समस्या, गुनासा सुन्नुपर्ने भएकाले आफ्नो र परिवारका लागि पर्याप्त समय दिन सकिँदैन । ’


४ बजेसम्म नगरपालिकामा रहेका बस्नेत वडा नम्बर ४ को सडक निर्माणको विषयमा छलफलका लागि त्यतिबेलै निस्किए । छलफल सकेर नगरपालिकाको विकास निर्माणका विषयमा वडा नम्बर १ मा जनप्रतिनिधिसँग छलफल कार्यक्रम तय गरिएको थियो । बस्नेत त्यतै लागे । 


छलफल सकेर करिब ६ बजे बेलुकी घर पुगे । केही समय दिनभरिको थकान मेटाउँदै परिवारसँग गफिए । सामाजिक सञ्जाल चलाउँदै थकान मेटाए । करिब ९ बजे उनले रातीको खाना खाए । अध्ययनमा रुचि राख्ने भएकाले केहीबेर पुस्तक पल्टाएर सुतेको बताउँछन् उनी ।