close

बैतडीका ८४ मध्ये ३० वडा सचिवविहीन 

बैतडीका ८४ मध्ये ३० वडा सचिवविहीन 

Trulli
ADVERTISEMENT

बैतडी - बैतडीका ८४ वडामध्ये  ३० वडामा सचिव अभाव रहेको छ । वडाहरूमा दरबन्दीअनुसारका सचिव नहुँदा कामकाज प्रभावित हुने गरेको छ ।


सचिव नभएका वडाहरूले प्राविधिक सहायकबाट सचिवको काम गराइरहेको सुनर्या गाउँपालिकाका नायव सुब्बा धनबहादुर चन्दले जानकारी दिए । गाउँपालिकाका ८ वडामध्ये ५ वटामा सचिव नभएको उनले बताए । ती वडाहरूमा प्राविधिक सहायकले सचिवको काम गरिरहेको उनको भनाइ छ ।


पाटन नगरपालिकाका १० वटै वडामा दरबन्दीअनुसारका सचिव नभएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । प्राविधिक सहायकले नै सचिवको काम गरिरहेको उनले जनाए ।


पुर्चौडी नगरपालिकाका १० वडामध्ये ९ वडामा सचिव छैनन् । ती वडामा प्राविधिक सहायकहरूले नै सचिवको काम गरिरहेको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले जानकारी दिए ।


यस्तै, डिलासैनी गाउँपालिकामा भने एक वडाबाहेक अन्य सबै वडाहरूमा सचिवको पदपूर्ति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले जानकारी दिए । अहिले वडा–७ मा मात्रै सचिव नभएको र त्यहाँ प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिइएको छ । 


यस्तै, दोगडाकेदार गाउँपालिकाको पनि एक वडा ७ नम्बरमा मात्रै सचिव नभएको र अरु सबै वडामा सचिव रहेको गाउँपालिका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए ।
सिगास गाउँपालिकाको वडा–४, ७ र ९ गरी तीन वडामा प्राविधिक सहायकले सचिवको काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत टीकासिंह धामीले बताए । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको ७ नम्बर वडामा पनि सचिवबिनै काम चलाउनु परेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्द बताउँछन् ।


वडामा सचिवको दरबन्दी नहुँदा काम चलाउ रुपमा मात्रै काम भइरहेको दशरथचन्द नगरका वडा–७ का वडाअध्यक्ष चक्रप्रसाद शर्माले बताए ।  उनले भने, ‘अहिले काम चलाउका आधारमा मात्रै काम भइरहेको छ, पञ्जीकरणका लागि नभई नहुने हुँदा प्राविधिकलाई जिम्मा दिइएको हो । सचिवको काम अलग हुन्छ, प्राविधिक सहायकको काम अलग । त्यसैले वडामा सचिवको दरबन्दी नहुँदा काम गर्न निकै समस्या छ ।’ 


यस्तै, पञ्चेश्वर गाउँपालिकाका ६ वडामध्ये वडा–२,४ र ५ मा सचिव नरहेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन् । शिवनाथ गाउँपालिका भने जनप्रतिनिधि आएको ३ वर्षसम्म वडा सचिवविहीन थियो । अहिले वडा–४ बाहेक सबैमा सचिवको पदपूर्ति भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए ।

 

यस्तै, मेलौली नगरपालिकाका ९ वडामध्ये ३ वडा सचिवविहीन रहेको नगरपालिकाका सूचना अधिकारी कालीप्रसाद भट्टले जानकारी दिए । वडा–१, ५ र ९ मा प्राविधिक सहायकले काम गरिरहेको उनको भनाइ छ ।