म्याग्दी– म्याग्दीको मुनामा सम्पन्न प्रथम धवलागिरि गाउँपालिका स्तरीय किशोरी सम्मेलनले बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि ११ बँुदे घोषणापत्र जारी गरेको छ ।
सम्मेलनमा सहभागी जनप्रतिनिधि, सरोकारवाला र किशोरीहरूले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेका हुन् ।
गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरि गाउँपालिकाको समन्वय र संगम म्याग्दीको आयोजनामा भएको सम्मेलनमा ११ वटा विद्यालयमा गठन भएका किशोरी सञ्जालका ४८ जना प्रतिनिधि सहभागी थिए ।
किशोरी शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने विषयमा सम्मेलनमा छलफल गरेर प्रतिबद्धतासहितको घोषणापत्र जारी भएको संगम म्याग्दीका अध्यक्ष दीपक पौडेलले जानकारी दिए ।
किशोरावस्थामा विवाह गर्दा हुने असर तथा हानिबारे समुदाय स्तरमा सचेतना फैलाउने, २० वर्ष पुगेपछि मात्र विवाह गर्ने, कानुनले तोकेभन्दा कम उमेरमा विवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई जानकारी गराउने र कानुनी कारबाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ ।
सबै विद्यालयमा महिनावारी हुँदा प्रयोग गर्ने प्याड विसर्जनका लागि इन्सिलेटरको व्यवस्थापन गर्न सम्मेलनमा सहभागी किशोरीले माग गरे ।
२० वर्ष नपुगी विवाह गर्ने जोडीलाई गाउँ–ठाउँमा मिलाउने गलत प्रवृत्तिको विरोध गर्ने र त्यस्तो हुन लागेको जानकारी पाए प्रहरीलाई सूचना दिने घोषणापत्रमा उल्लेख छ । सम्मेलनमा किशोरीमाथि हुने यौनशोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षा ग्यारेन्टी र त्यस्ता घटनामा संलग्नलाई कानुनी कारबाही माग गरिएको थियो ।
महिनावारीलाई प्राकृतिक प्रक्रियाको रूपमा लिन आग्रह गर्दै त्यो अवस्थामा अँध्यारो कोठामा थुन्ने, घरबाट बाहिर निस्कन नदिने, मीठो–मसिनो खान नदिने अन्धविश्वास र रुढीवादको भत्र्सना गर्दै महिनावारीको अवस्थामा किशोरीमैत्री वातावरण बनाउन आग्रह गरे ।
कार्यक्रममा सहभागीले किशोरी सञ्जालमार्फत विद्यालय र समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमका साथै बालविवाह हुन लागेको सूचना जनप्रतिनिधि र प्रहरीलाई गराएको बताएका थिए ।
किशोरी सञ्जालकी सोनिया केसी, नरदेवी विक, लक्ष्मी विकलगायतले विद्यालयमा स्यानिटरी प्याडको सुविधा भएसँगै महिनावारी हुँदा विद्यालय जाने वातावरण बने पनि प्याडको सुरक्षित व्यवस्थापन गर्न ठाउँ नभएको बताए ।
धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले कानुनले अपराध मानेको बालविवाहको एक कारण गलत संस्कृति पनि भएको बताए । बालविवाहले महिलाको शिक्षा, स्वास्थ्य, सामाजिकलगायत धेरै क्षेत्रमा असर गरेको उनको भनाइ छ ।
गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बालविवाह न्यूनीकरणका लागि गाउँपालिकाले सञ्चालन गरेको उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।
ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यामबहादुर थापाले गरिबी, पारिवारिक समस्या, सामाजिक सञ्जाल र मोबाइलको दुरुपयोग बालविवाहको कारण भएको बताए ।
गाउँपालिकाका योजना अधिकृत कृष्ण सुवेदी र शिक्षा अधिकृत कमलप्रसाद ढकालले बालविवाह न्यूनीकरणका लागि किशोरी नै सचेत हुनुपर्नेमा जोड दिए ।