close

लुम्बिनी विश्वविद्यालयले पायो देवदहमा १ सय बिघा जग्गा : स्थानीयको दीप प्रज्वलन

लुम्बिनी विश्वविद्यालयले पायो देवदहमा १ सय बिघा जग्गा : स्थानीयको दीप प्रज्वलन

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी बौद्ध विश्वविद्यालयले रूपन्देहीको देवदहमा करिब १ सय बिघा जमिन प्राप्त गरेको छ । मन्त्रिपरिषद्को ११ फागुन बैठकले बुद्धको मावलीगाउँमा जग्गा दिने निर्णय गरेको हो ।


देवदह नगरपालिका वडा नम्बर ८ स्थित बुद्धमावली सामुदायिक वनसहितको जग्गा विश्वविद्यालयले पाएको हो । लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारका लागि जग्गा अपुग थियो । विश्वविद्यालयले ५ वर्षदेखि देवदहमा जग्गा प्राप्तिका लागि पहल गर्दै आएको थियो ।


वनको जग्गा प्राप्तिका लागि अन्य स्थानमा जग्गा खरिद गरेर सोधभर्ना गर्नुपर्ने या सोबापतको रकम बुझाउनुपर्ने कानुनी प्रावधान छ । अर्थ मन्त्रालयले विश्वविद्यालयका लागि जमिन दिँदा चाहिने करिब २० करोड रुपैयाँ वन मन्त्रालयलाई दिने प्रतिबद्धतापछि मन्त्रिपरिषद्ले जग्गा दिने निर्णय गरेको 
हो ।


रूपन्देहीका जनप्रतिनिधि एवं अर्थमन्त्री विष्णु पौडेलले विशेष पहलमा वन मन्त्रालयलाई अर्थले नै सोधभर्ना गर्ने निर्णय लिएपछि विश्वविद्यालयले जग्गा पाएको हो । पौडेलले निर्वाचनमा आफ्नो घोषणापत्रमै बौद्ध विश्वविद्यालयको विकासलाई प्राथमिकतामा राखेका थिए । सोहीअनुरूप देवदहमा ६१ दशमलव २५ हेक्टर क्षेत्रफल रहेको जग्गामा विश्वविद्यालयले पूर्वाधार निर्माण गर्नेछ । 


अर्थमन्त्री पौडेलले रूपन्देहीको शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा जोड दिँदै आएका छन् । बुटवल मेडिकल कलेज, लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन कार्यालय स्थापना र पूर्वाधार निर्माण सुरु भइसकेको छ । बुटवल मेडिकल कलेजको गुरुयोजना अन्तिम चरणमा पुगेको छ । 


बौद्ध विश्वविद्यालयले बुटवलको नयाँगाउँमा डीन कार्यालयसहितको आंगिक क्याम्पस सुरु गर्दै छ । यसका लागिसमेत स्थानीय स्तरबाट जग्गा प्राप्ति भएको छ ।


विश्वविद्यालयका रजिस्ट्रार डा. तिलक आचार्यले लामो मिहिनेतपछि देवदहमा जग्गा पाएको बताए । ‘यही जग्गाका लागि म आफंै ५ वर्षदेखि हिँडिरहेँ । अर्थमन्त्री पौडेलको विशेष पहलपछि क्याबिनेटले जग्गा दिने निर्णय गरेको छ’, उनले भने, ‘यो विश्वविद्यालयको मात्रै नभई लुम्बिनी प्रदेशकै लागि ठूलो उपलब्धि हो ।’


विश्वविद्यालयले अहिले ३ वटा विषयमा देवदहमै पठनपाठन सुरु गरिसकेको छ । पूर्वाधार निर्माण तत्कालै सुरु हुने रजिस्ट्रार आचार्यले बताए । ‘देवदह, तिलौराकोट, बुटवल र लुम्बिनीमा विश्वविद्यालयका आंगिक संरचना हुनेछन्’, उनले भने, ‘अब पूर्वाधार अभाव नहुने गरी निर्माण थाल्छौँ ।’


२०६१ मा स्थापना भएको विश्वविद्यालय २०७१ मा मात्रै लुम्बिनीमा आएको हो । त्यसअघि विश्वविद्यालय सम्पर्क कार्यालयका रूपमा काठमाडौंमा मात्रै सीमित थियो । अहिले लुम्बिनीमा सुविधासम्पन्न पूर्वाधार निर्माण भएका छन् । 


केन्द्रीय कार्यालय भवन, पुस्तकालय, छात्रावास, आवासगृह, बौद्ध स्तुपासहितका संरचना लुम्बिनीमा तयार भएका छन् । विभिन्न ८ वटा क्याम्पसलाई सम्बन्धन दिएको छ । विश्वविद्यालयले तिलौराकोट, लुम्बिनी, बुटवल र देवदहमा पठनपाठन गराइरहेको छ । अहिले विश्वविद्यालयमा करिब ३ हजार विद्यार्थी अध्ययनरत छन् ।


देवदहमा प्राप्त जग्गामा तपोवनसहितको पूर्वाधार निर्माण गर्ने योजना छ । त्यसको गुरुयोजना कोरियन प्रोफेसर क्वाकको टिमले बनाइरहेको छ । क्वाक लुम्बिनीको बृहत्तर गुरुयोजना बनाउने योजनाकार पनि हुन् ।


रूपन्देही क्षेत्र नम्बर १ का सांसद छविलाल विश्वकर्माले विश्वविद्यालयलाई जग्गा दिने निर्णयको स्वागत गरे । ‘यो निर्णयले समग्र देवदहकै विकासमा आमूल परिवर्तन गर्नेछ’, उनले भने, ‘जग्गा प्राप्तिका लागि सहयोग गर्ने जनप्रतिनिधि, स्थानीय सबैलाई धन्यवाद ।’


देवदहमा विश्वविद्यालयले जग्गा पाएपछि स्थानीयले खुसीयालीमा दीपावली गरेका छन् । देवदहको विकासमा विश्वविद्यालय आउँदा ठूलो योगदान भएको देवदह नगरप्रमुख हिराबहादुर खत्रीले बताए । उनले भने, ‘५ वर्ष पहिलेबाट थालिएको काम अहिले पूरा भएको छ । हामी खुसी छौँ ।’