close

प्राविधिक शिक्षा पढाएर त्रियुगालाई शैक्षिक हब बनाइँदै 

प्राविधिक शिक्षा पढाएर त्रियुगालाई शैक्षिक हब बनाइँदै 

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका जिल्लाभरिमै प्राविधिक शिक्षासहितको शैक्षिक हब निर्माणमा जुटेको छ । त्यसका लागि नगरपालिकाले नगरका हरेक सामुदायिक विद्यालयमा छुट्टाछुट्टै प्राविधिक विषय पढाउने गरी योजना कार्यान्वयनमा लगेको छ । नगरले बनाएको शिक्षा नीतिमै प्राविधिक शिक्षामा जोड दिइएको छ । 

 

सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण गरेर नगरपालिकाले प्राविधिक धारलाई प्राथमिकतामा राखेको हो । नगरले विद्यालय शिक्षा पूरा गर्नेबित्तिकै रोजगारी सिर्जना हुने शिक्षामा जोड दिएको छ । 

 

त्यसका लागि त्रियुगा नमुना विद्यालय गाईघाटमा सिभिल इन्जिनिरिङ, रामजानकी माध्यमिक विद्यालय मोतीगडामा कानुन, जनता माध्यामिक विद्यालय देउरीमा कृषि, लक्ष्मीपुर माविमा पशु तथा भेटरेनरी, जनता अम्वेबर मावि राजाबासमा पशु भेटरेनरी, बालमन्दिर मावि बालमन्दिर बोक्सेमा अमिन तथा कम्प्युटर विषय पठनपाठन सुरु गरिसकेको छ । 


त्रियुगाले शिक्षाको गुणस्तर कायम गर्न भौतिक पूर्वाधारमा पनि ध्यान दिएको छ । विद्यालयहरूलाई भौतिक पूर्वाधारमा सबल बनाउन भवन निर्माणका लागि रकम उपलब्ध गराउँदै आएको नगरप्रमुख बलदेव चौधरीले बताए । 

 

‘विकसित देशमा जस्तै विद्यार्थी ६ घन्टा मात्र होइन, पूरै दिन विद्यालय बस्ने वातावरण कसरी बनाउन सकिन्छ भन्नेबारे अध्ययन गरिरहेका छौँ’, नगरप्रमुख चौधरीले भने । विद्यालयमा विद्यार्थी मात्र नभई अभिभावकसमेत पढ्न सक्ने वातावरण निर्माण गर्ने योजना रहेको उनले सुनाए ।

 

नगरप्रमुख चौधरीले नगरपालिकाको वडा नम्बर ३ मोतीगडा, ५ को दमौटी, ७ को कालीखोला माविको विद्यालय भवन शिलान्यास गरे । नगरपालिकाले ३ वटै विद्यालयलाई ४÷४ कोठे भवन निर्माण गर्न चालू आर्थिक वर्ष २०७७/७८ मा ३६ लाखका दरले १ करोड ८ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

 

त्यसैगरी सदरमुकाम गाईघाटस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि क्रमागत योजनाअन्तर्गत वार्षिक १ करोड ५० लाखका दरले ४ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको नगरप्रमुख चौधरीले जानकारी दिए । 

 

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिका लागेको छ । ‘पहिला योजना बाँडफाँट कार्यालयमै बसेर गरिन्थ्यो तर अहिले आवश्यकताको आधारमा अनुगमन गरी दिन थालेका छौँ । कार्यालयमा बसेर योजना दिँदा आवश्यक भए÷नभएको थाहा नहुने हुँदा अनुगमन गरेरै योजना दिने गरेका छौँ’, नगर उपप्रमुख देवीकुमारी चौधरीले भनिन् ।

 
गुणस्तरीय शिक्षा प्रदान गर्न भौतिक पूर्वाधारसहित दरबन्दीअनुरूप शिक्षक व्यवस्थापन गर्दै विषयगत शिक्षकको अभाव समाधान गर्नुपर्ने वडा नम्बर ५ का वडाध्यक्ष उद्धवसिंह थापाले बताए । 

 

नगरपालिकाले नगर क्षेत्रभित्रका ७२ सामुदायिक विद्यालयमध्ये १५ वटामा भौतिक पूर्वाधार निर्माण सम्पन्न गरिसकेको छ । विद्यालयको आवश्यकतालाई सबै मिलेर पूरा गर्न सके गुणस्तरीय शिक्षा दिन सकिने जनता माध्यमिक विद्यालय दमौटीका प्रधानाध्यापक ढंकबहादुर थापाको सुझाव छ ।