close

भक्तपुरको गुठी संस्थान मौलिक शैलीमा पुनर्निर्माण हुने 

भक्तपुरको गुठी संस्थान मौलिक शैलीमा पुनर्निर्माण हुने 

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाको गुठी संस्थान कार्यालय भवन मौलिक शैलीमा पुनर्निर्माण हुने भएको छ । बुधबार नगर प्रमुख सुनील प्रजापतिको अध्यक्षतामा बसेको बैठकले गुठी संस्थान पुनर्निर्माणबारे छलफल गरेको हो ।


 
भक्तपुरको वडा नम्बर ५ स्थित गुठी संस्थान कार्यालयको भवन पुनर्निर्माणका लागि तयार पारिएको नक्सा कोरिसकेको छ । भक्तपुर दरबार क्षेत्रमा रहेको गुठी संस्थान कित्ता नम्बर ७५४, क्षेत्रफल ०–०८–३ –०० जग्गाको पेस भएको नक्सा सम्बन्धमा साविकबमोजिम स्मारक शैली र स्वरूपअनुसार नक्सा पास प्रक्रियाका लागि अगाडि बढाउने निर्णय गरिएको नगर प्रमुखले बताए ।

 

पुरातत्त्व विभागले ३५ फिटभन्दा अग्लो बनाउन नहुने तर्क गर्दै साविक भवनमा रहेको मन्दिरको झन्डै १ तल्ला घटाई नक्सा स्वीकृत गरेपछि नगरपालिकाले त्यसलाई अस्वीकार गर्दै आएको थियो ।

 

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार सम्पदामा निजी घरसरह उचाइ मापदण्ड कायम हुन नसक्ने भन्दै नगरपालिकाले पटक पटक उक्त नक्सा साविकबमोजिम परिमार्जन गरी ल्याउन पुरातत्त्व विभागमा पठाएको थियो । 

 

तर, पुरातत्त्व विभागले सच्याउन नमानेपछि नगरपालिकाको अगुवाइमा बैठक बसी मौलिक शैलीमा साविकबमोजिमको नक्सा पास अगाडि बढाउन सबै सरोकारवाला सहमत भएका हुन् ।

 

नगरप्रमुख प्रजापतिले भक्तपुर सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको सहर भएको हुँदा यहाँका सम्पदा पुनर्निर्माण वा जीर्णोद्धार संवेदनशील विषय भएको बताए । प्राप्त ऐतिहासिक प्रमाण र तथ्यको आधारमा गुठी संस्थान कार्यालयको भवन पुनर्निर्माण हुनुपर्नेमा जोड दिए ।

 

भक्तपुर नगरपालिकाले सम्पदा पुनर्निर्माण जनताको रायसुझाव र तिनकै सहभागितामा अगाडि बढाइरहेको उपप्रमुख रजनी जोशीले बताइन् । स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्र भक्तपुरका प्रमुख अरुणा नकर्मी सम्पदा क्षेत्रमा निर्माण भइरहेका सम्पदाको पुनर्निर्माण स्मारक भएको सुनाउँछिन् ।