close

शिक्षक दरबन्दी मिलानमा स्थानीय तह सक्रिय, धवलागिरि जिल्लाकै पहिलो 

शिक्षक दरबन्दी मिलानमा स्थानीय तह सक्रिय, धवलागिरि जिल्लाकै पहिलो 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले जिल्लामै पहिलो पटक शिक्षक व्यवस्थापन र दरबन्दी मिलान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम पालिका स्तरीय कार्यविधि बनाएर शिक्षक दरबन्दी मिलान र व्यवस्थापन गरेको हो । 

 

विद्यार्थी संख्या अनुपातको आधारमा पहिलो चरणमा पुलमा रहेका प्राथमिक तहका १४ जना शिक्षकको दरबन्दी मिलान गरिएको गाउँपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले जानकारी दिए । 

 

‘५ वटा विद्यालयको दरबन्दी काटेर प्रस्तावित मावि र निमावी तह चलाएका विद्यालयलाई उपलब्ध गराएका छौँ’, उनले भने, ‘९ जनालाई सम्बन्धित विद्यालयको माथिल्लो तहमा अध्यापन गर्ने गरी व्यवस्थापन भएको छ ।’

 

नेरवाङ, चेचुङ, जगन्नाथ र जनज्योति आधारभूत तथा किसानी माविको १÷१ वटा दरबन्दी काटिएको छ । चन्द्रज्योति माविले २, बुद्धिविकास र धनजनता मावि तथा लुलाङ आधारभूतले १÷१ वटा दरबन्दी पाएका छन् । 

 

शिक्षा विकास तथा मानव संसाधन विभागले थप गरेको १ वटा पूरा दरबन्दी र २ वटा राहत दरबन्दी ३ वटा विद्यालयलाई उपलब्ध गराइएको छ । जनकल्याण मावि गुर्जा र लमसुङ माविले १÷१ वटा राहत तथा धवलागिरि आधारभूत विद्यालय मुनाले १ वटा दरबन्दी पाएको छ । 

 

गाउँपालिकाको शिक्षा समितिले प्रावि तहमा १० जनाभन्दा कम विद्यार्थी भएको विद्यालयमा १, २० जनासम्म भएकामा २, ५० सम्म भएकामा ३ र ५० भन्दा बढी भएकामा ४ वटा दरबन्दी कायम गरी बढी भएको दरबन्दी प्रस्तावित निमावि र माविलाई उपलब्ध गराउने कार्यविधि बनाएको थियो । 

 

२८ वटा विद्यालय रहेको धवलागिरिमा २०७७ को अभिलेखअनुसार कक्षा १२ सम्म ३ हजार ६ सय ४५ जना विद्यार्थी अध्ययनरत छन् । १० वटा माध्यमिक विद्यालयमध्ये हेम नमुना आवसीय मावि शिवाङ र जनजागृति मावि मल्कवाङमा मात्र पूरा दरबन्दी छ । 

 

८ वटा मावि प्रस्तावित हुन् । ६–८ तहको पढाइ हुने ६ वटा आधारभूत विद्यालय पनि प्रस्तावित छन् । १२ वटा १–५ तहसम्मको पठनपाठन हुने विद्यालयमा १ सय ९ जनाको दरबन्दी छ । 

 

निमावि तहमा ४८ वटा दरबन्दी आवश्यक पर्नेमा १७ वटा उपलब्ध छ । माविमा ६४ वटा दरबन्दी आवश्यक पर्नेमा ४८ अपुग छ । कक्षा १२ सम्मको पठनपाठन हुने पालिकाको एक मात्र हेम नमुना आवासीय माविमा उच्च मावि तहको ३ वटा दरबन्दी भएकामा २ जना मात्र छन् । 

 

शिक्षक दरबन्दी मिलान, व्यवस्थापन र गाउँपालिकाले अनुदानको व्यवस्था मिलाएपछि प्रस्तावित विद्यालयलाई निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन अभिभावकबाट अप्रत्यक्ष हिसाबले शुल्क लिनुपर्ने समस्या कम भएको छ । 

 

धवलागिरि आधारभूत विद्यालयका प्रधानाध्यापक मनबहादुर पुनले देउसीभैलो, लाहुरे स्वागत र चन्दा मागेर शिक्षकको तलबभत्ता जुटाउँदै आएका प्रस्तावित विद्यालयलाई राहत मिलेको बताए । 

 

सहरी क्षेत्रमा न्यून विद्यार्थी भएका विद्यालयको दरबन्दी काटेर दुर्गम क्षेत्रका धेरै विद्यार्थी भएका विद्यालयमा पठाउन दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधिलाई अन्य पालिकाले पनि कार्यान्वयन गर्नुपर्ने शिक्षक रूपेश सुवेदीले बताए । 

 

गाउँपालिकाले प्रस्तावित विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि बजेट व्यवस्थापन गरेको छ । चालू आर्थिक वर्षमा ६० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनले ६ वटा मावि र ६ वटा निमाविलाई १२ जना शिक्षकका लागि बजेट व्यवस्थापन गरेको जानकारी दिइन् । 

 

शिक्षक दरबन्दी मिलान र व्यवस्थापन गर्नेमा धवलागिरि गाउँपालिका पहिलो बनेको छ । अन्य स्थानीय तह कार्यविधि बनाउने तथा कार्यान्वयनको चरणमा रहेको जनाएका छन् । विद्यार्थी संख्या न्यून भएका बिद्यालय समायोजन गरेको धवलागिरिले शिवाङमा प्रदेश सरकारको योजनाअनुसार आवासीय विद्यालय सञ्चालन गरेको छ ।