close

भोजपुरमा गर्भवती महिला लक्षित मोबाइल स्वास्थ्य शुभकामना

भोजपुरमा गर्भवती महिला लक्षित मोबाइल स्वास्थ्य शुभकामना

Trulli
ADVERTISEMENT

भोजपुर– अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत भोजपुरका ९ वटा स्थानीय तहमा गर्भवती महिलाका लागि मोबाइल स्वास्थ्य शुभकामना कार्यक्रम सुरु गरिने भएको छ ।


करुणा फाउन्डेसन नेपाल, प्रदेश सरकार र स्थानीय तहको सहकार्य तथा मेडिक मोबाइलको प्राविधिक सहयोगमा ‘मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य शुभकामना कार्यक्रम सञ्चालन हुने भएको हो ।


कार्यक्रम सञ्चालनका लागि गर्भवती महिलासमक्ष जानकारी प्रदान गर्न मोबाइल सफ्टवेयर सञ्चालनसम्बन्धी स्वास्थ्यकर्मीलाई प्रशिक्षक–प्रशिक्षण कार्यक्रम पनि सुरु भएको छ । प्रत्येक पालिकाका लागि छुट्टाछुट्टै सञ्चालन हुने प्रशिक्षणअन्तर्गत पहिलो चरणमा पौवादुङ्मा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई ३ दिने तालिम दिइएको छ ।


तालिममा मोबाइल प्रविधि प्रयोगबारे स्वास्थ्यकर्मीलाई प्रशिक्षण गराइएको करुणा फाउन्डेसन भोजपुरका कार्यक्रम प्रमुख राजेन्द्र पराजुलीले जानकारी दिए । स्वास्थ्यकर्मीले प्रशिक्षणपछि आफ्नो वडाभित्रका स्वयंसेविकालाई मोबाइल प्रविधिसम्बन्धी अभिमुखीकरण गराउनेछन् ।


अभिमुखीकरणपछि स्वयंसेविकाहरूले आफ्नो टोल तथा समुदायमा गर्भवती भएका महिलालाई मोबाइल प्रविधिमा दर्ता गराउने र दर्तापछि गर्भावस्थामा लिनुपर्ने सेवा, सुत्केरी अवस्थाबारे सुनिश्चित गराउने र गर्भावस्थामा देखिने खतराका लक्षणका विषयमा सम्झना सन्देशमार्फत जानकारी गराउने फाउन्डेसनको प्रदेश १ का वरिष्ठ कार्यक्रम अधिकृत मजबुल आलमले जानकारी दिए ।


अपांगता रोकथाम पुनस्र्थापना कार्यक्रमले जन्मजात तथा जन्मपछि हुने अपांगता न्यूनीकरण गर्ने, मातृशिशु मृत्यदर घटाउने र अपांगता भएका व्यक्तिसहितको समावेशी समाज निर्माणमा सहयोग पुग्ने आलमको भनाइ छ ।