close

नागरिकसँग जोडिँदै गुल्मी दरबार (भिडियो खबर)

नागरिकसँग जोडिँदै गुल्मी दरबार (भिडियो खबर)

ADVERTISEMENT

गुल्मी– स्थानीय सरकार गठन भएको तीन वर्ष पुग्यो । यो अवधिमा कतिपय स्थानीय तह भर्खर बामे सर्दै छन् भने कति नागरिक स्तरमा वाहावाही कमाइरहेका छन् । ठूला आयोजनामा जोड दिनेभन्दा पनि नागरिकसँग जोडिने दैनन्दिनका समस्यालाई समाधान गर्न सके स्थानीय तह आफैं अब्बल बन्ने रहेछ भन्ने उदाहरण गुल्मीको गुल्मी दरबार गाउँपालिकाले पेस गरेको छ । स्थानीयलाई नगरको स–साना कुरा पनि मोबाइलबाट जानकारी दिन मिल्नेलगायत थुप्रै काम गरेर अहिले गुल्मी दरबारले चर्चा बटुलिरहेको छ । 

 

गुल्मी दरबार गाउँपालिकाले आफूलाई सूचना, सुशासन र पादर्शितामा अब्बल बनाउँदै लगेको छ । सातौँ गाउँ सभामा प्रस्तुत गरेको प्रगति प्रतिवेदनका आधारमा गाउँपालिकाले सञ्चालन गरेका काम र योजना जिल्लामा उदाहरणीय देखिएका छन् । मासिक ई–बुलेटिन प्रकाशन र गाउँपालिकाको पहिचानसहितको लोगो निर्माण गरेको छ । नागरिकमैत्री बनाउन नागरिक सहायता कक्ष, नागरिक सहायता पुस्तिका, प्रत्येक कार्यालयमा विद्युतीय हाजिरी र एसएमएसमार्फत गाउँपालिकाका महत्त्वपूर्ण सन्देश तत्काल नागरिकको मोबाइलमा पुग्ने व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।


गाउँपालिकाले वडा नम्बर २ र ४ मा विपन्न परिवारलाई जस्तापाता र वडा नम्बर २, ४, ५ र ६ मा खानेपानी र सिँचाइ सहजताका लागि ५ सय लिटरको हिल ट्यांक वितरण गरेको छ । आर्थिक वर्षमा १९ किलोमिटर सडक विस्तार र ५ सय ५० मिटर सडक ग्राभेल भएको जनाएको छ । 

 

साथै, भौतिक निर्माणको क्षेत्रमा पनि महत्त्वपूर्ण काम गाउँपालिकाले गरेको छ भने अधुरा योजना सम्पन्न गर्न सातौँ गाउँसभामार्फत संशोधन गर्न पूरक बजेटसमेत पेस गरिएको गाउँपालिका अध्यक्ष अशोककुमार थापाले जानकारी दिए ।

 

आर्थिक वर्षमा गाउँपालिकाले १० वटा कार्यविधि निर्माण गरेर काम गरिरहेको छ ।  यस्तै, कार्यसम्पादनमा आधारित कर्मचारी प्रोत्साहन मापदण्ड, २०७७ निर्माण गरेर गाउँपालिकाले मासिक रूपमा कर्मचारीको कार्यसम्पादन मूल्यांकन र पुरस्कृत गर्दै गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायणप्रसाद अर्याल बताउँछन् ।