close

नदी कटानको उच्च जोखिममा भुरुङ–तातोपानी बजार 

नदी कटानको उच्च जोखिममा भुरुङ–तातोपानी बजार 

Trulli
ADVERTISEMENT

म्याग्दी-  कालीगण्डकी नदीको कटानले प्राकृतिक तातोपानी कुण्ड, प्रहरी चौकीसहित दर्जनाैं होटल भएको भुरुङ–तातोपानी जोखिममा परेको हो । बेनी–जोमसोम सडक आयोजना विस्तारका लागि नदी किनारमा निर्माण भएको पक्की पर्खाल बाढीले भत्काएपछि जोखिम बढाएको छ । 


बेनी–जोमसोम–कोरला सडक आयोजनाले भुरुङ–तातोपानीको बस्ती र सडकलाई कटानबाट जोगाउन गत वर्ष निर्माण गरेको पक्की पर्खाल कालीगण्डकीको बाढीले कटान गरेर बगाएको थियो । 

पक्की पर्खाल कटान भएको ठाउँमा नयाँ पर्खाल निर्माणमा भएको ढिलाइले जोखिम बढाएको स्थानीय प्रेम गुरुङले बताए ।  ‘कालीगण्डकीमा पानीको सतह बढ्ने बेला बल्ल कटान रोकथामको काम सुरु भएको छ,’ उनले भने, ‘वैशाखबाट खोलामा पानीको सतह बढ्छ । त्यसअघि अहिलेकै गतिमा काम गरे पक्की पर्खाल निर्माण सकिएलाजस्तो छैन ।’

 

आउने बर्खामा बस्तीमै कालीगण्डकी पस्ने खतरा बढेको गुरुङले बताए । बस्तीको करिब ५ मिटर नजिकसम्म कालीगण्डकीले कटान गरेको छ । तल्लो तातोपानी बजारका करिब २५ घर उच्च जोखिममा परेको स्थानीय श्याम रानाले बताए । 


तल्लो तातोपानी बजारका अधिकांश घरमा होटल, चिया र खाजा पसल छन् । बेनी–जोमसोम सडकमा यात्रा गर्नेलाई लक्षित गरेर होटल तथा रेस्टुराँ सञ्चालन भइरहेका हुन् । सीमा प्रहरी चौकी भुरुङ–तातोपानीको कार्यालय भवन पनि यही छ । उपल्लो तातोपानी बजारमा सुविधासम्पन्न पर्यटकीय होटलसहित ५० बढी घर छन् ।


‘रोकथामको काम प्रभावकारी नहुँदा कालीगण्डकीले निरन्तर बस्तीतर्फ कटान गरिरहेको छ’, उनले भने, ‘निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्दा भएको ढिलासुस्तीले त्रास सिर्जना गरेको छ ।’


भुरुङ–तातोपानी बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको क्षेत्रमा पर्छ । ठेकेदारले गत वर्ष अन्नपूर्ण होटलको अगाडिदेखि नागढुंगासम्म सडकको विस्तार र नदी नियन्त्रणका लागि ३ सय मिटर पक्की पर्खाल निर्माण गरेको थियो । 

 

बर्खाको बाढीले ६ मिटर अग्लो सबै पक्की पर्खाल बगाएर बस्ती र सडक कटान गरेको हो । शर्मा युनाइटेडका साइट इञ्चार्ज रमेश सुवेदीले २ वटा प्याकेजमा मजदुर र डोजर परिचालन गरेर नदी किनारमा पक्की पर्खाल निर्माणको काम भइरहेको जानकारी दिए । 

 

गत माघदेखि काम सुरु गरेको ठेकेदारले हालसम्म करिब २ सय मिटर पक्की पर्खालको जग हालेको छ । ३ सय ७० मिटर पक्की पर्खाल निर्माण गर्नुपर्नेछ । २ वटा डोजर र करिब ४० जना मजदुरले काम गरिरहेका छन् । बर्खाअघि नै पक्की पर्खाल निर्माण सम्पन्न गर्न थप मजदुर परिचालन गरिने सुवेदीले बताए । 


गत वर्ष निर्माण गरेर बाढीले बगाएको पर्खालको बिमा दाबी गरे पनि भुक्तानी नपाएकाले समस्या भएको उनको भनाइ छ । यसपालि पनि ६ मिटर अग्लो पर्खाल बनाउने योजना छ । नदी नियन्त्रणमा भएको ढिलाइले तातोपानी बजार उच्च जोखिममा परेको विषयमा जिल्लाका सरोकारवालाले चासो दिएका छन् । 


गत साताको पाँचौँ जिल्लासभाले पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री जुटाएर नदी नियन्त्रणलाई तीव्रता दिन सम्बद्ध आयोजना तथा निर्माण व्यवसायीलाई ताकेता गर्ने निर्णय गरेको थियो । 


अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बेनी–जोमसोम–कोरला सडक आयोजना र शर्मा युनाइटेडलाई नदी नियन्त्रणसँगै सडक निर्माणलाई तीव्रता दिन पटक–पटक ताकेता गरिरहेको बताए ।