close

अग्निपीडित विद्यार्थीले पाए स्कुल पोसाक

अग्निपीडित विद्यार्थीले पाए स्कुल पोसाक

Trulli
ADVERTISEMENT

जुम्ला– गत १३ माघमा तिला गाउँपालिकाको वडा नम्बर ७ गोठीगाउँमा आगलागी भयो । आगलागीले गाउँ नै सखाप भयो । गाउँ नै खरानी भएपछि घर, अन्नपात, पशु चौपाया, विद्यार्थीका पोसाकसमेत जलेर नष्ट भए ।

 

कोरोना संक्रमणपछि अघिल्लो वर्षको चैतदेखि बन्द भएका विद्यालय झन्डै वर्ष दिनपछि खुलेका थिए । विद्यालय खुलेसँगै विद्यार्थी अध्ययनका लागि जान थालेका थिए ।

 

विद्यालय सञ्चालन भएको केही समयपछि गाउँ नै खरानी हुने गरी भएको आगलागीले विद्यार्थीका पोसाकसहित पाठ्यपुस्तकसमेत जलेर नष्ट भए । शैक्षिक सामग्री, पोसाक जलेर समस्या भएपछि एक्सन वक्र्स नेपाल जुम्लाले अग्निपीडित विद्यालयलाई स्कुल पोसाकसहित शैक्षिक सामग्री वितरण गरेको हो । 

 

गोठी, पोख्री गाउँका ८१ जना बालकालिकालाई शैक्षिक सामग्री र स्कुल पोसाक वितरण गरिएको एक्सन वक्र्स नेपाल जुम्लाका संयोजक केशव धितालले बताए । उनले भने, ‘आगलागी हुँदा पोसाकसमेत जलेपछि विद्यार्थीलाई समस्या थियो । त्यसैले पोसाक वितरण गरेका हौँ ।’ 


त्यसैगरी तिला गाउँपालिकाभित्रका २८ विद्यालयका ५६ जना अतिविपन्न बालकालिकालाई शैक्षिक सामग्री र पोसाक वितरण गरिएको छ । तातोपानी गाउँपालिकाको वडा नम्बर ६ हियाखोलास्थित कालिका आधारभूत विद्यालयका अतिविपन्न १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । संस्थाकी महासचिव सम्झना पौडेलले बालबालिकाको पठनपाठनलाई सहज बनाउन शैक्षिक सामग्री वितरण गरिएको बताइन् । 

 

तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले राज्यका साझेदार संस्थाले बालबालिकालाई शैक्षिक सामग्री र पोसाक वितरण गरेपछि विद्यालय जाने क्रम नियमित हुने विश्वास व्यक्त गरे ।