close

विदेशबाट फर्किएर कृषि कर्ममा, महिनामै लाखैंको आम्दानी

विदेशबाट फर्किएर कृषि कर्ममा, महिनामै लाखैंको आम्दानी

Trulli
ADVERTISEMENT

गुल्मी - छत्रकोट गाउँपालिका - ४ दिगामका कृष्णप्रसाद पन्थले एक दिनको अन्तरमा एक गाडी तरकारी र फलफूल बुटवल पुर्‍याउँछन् । स्थानीयले घर–घरमा उत्पादित तरकारी र फलफूल आफैंले बोकेर पन्थकहाँ लैजान्छन् । 


गाउँभरिका किसानको तरकारीले पन्थको घरको पिढीँदेखि सडक छेउसम्मै भरिन्छ । केही बेरमै व्यापारी आउँछन्, गाउँबाट संकलित सबै कृषि उत्पादन बोकेर बुटवलमा बिक्रीका लागि लगिन्छ ।


बिहान गाउँको बारीमा टिपेको तरकारी साँझ बुटवलका मण्डीहरूमा आइपुग्छ । पन्थले गाउँका काँक्रा, फर्सी, भुइँकटर, रुख कटहर, सोस्ता, गोबी, गोलभेडा, करेला, अकबरे खुर्सानीलगायतका कृषि उत्पादन संकलन गर्दै आएका छन् । उनले स्थानीयहरुसँग काँक्रा प्रतिकिलो १८, फर्सी ७, करेला १२, भुइँकटहर ४० रुपैयाँमा खरिद गर्छन् ।


गाउँलेसँग खरिद गरेको तरकारी बुटवल पुर्‍याएपछि काँक्रा प्रतिकिलो २५, फर्सी १०, करेला २०, भुइँकटहर ६० रुपैयाँमा बिक्री हुने गरेको पन्थ बताउँछन् ।


त्यस्तै, सोस्ता ४० रुपैयाँमा खरिद गरेर ६० सम्म र रुख कटहर पाकेको तथा काँचो २५ रुपैयाँसम्म बुटवलमा बिक्री हुने गरेको छ । फेन्सी व्यापारी पन्थले तरकारी संकलनको काम थालेको चार महिना मात्रै भयो । उनले  अहिलेसम्म सबैभन्दा बढी काँक्रा, सोस्ता, भुइँ र रुख कटहर बुटवलमा बिक्री गरेका छन् । 


४ महिनामा करिब ३ सय क्विन्टल काँक्रा, अढाई सय क्विन्टल सोस्ता, भुइँकटहरका ५ सयभन्दा बढी पिस र साढे ४ सय पिस रुख कटहर बिक्री भएको पन्थले बताए । ‘अहिले गाउँमा काँक्रा, फर्सी, करेला, भान्टा, खुर्सानीलगायतका तरकारी अधिक उत्पादन भएका छन् । तिनै उत्पादनलाई घरमा संकलन गरेर बुटवलमा बिक्रीका लागि लग्दै आएको छु । यसले किसानले पनि आम्दानी लिन पाएका छन् भने मेरो आम्दानी पनि बढेको छ,’ पन्थ खुसी सुनिन्छन् ।


दिगामकी दिलमाया रजालीले विभिन्न जातका तरकारी लिएर शृंगा आउने गरेकी छन् । कोरोना संक्रमणका कारण तरकारी बिक्री गर्न नपाउँदा किसान समस्या थिए । तर, पन्थले लकडाउन अवधिमा पनि गाउँको उत्पादन संकलन गरेर बिक्री गरिदिएपछि स्थानीय कृषक खुसी छन् ।

 

१६ वर्षको परदेश बसाइपछि स्वेदश फर्किएर कृषि कर्म


कृष्णप्रसाद पन्थ सानैमा भारत पसेका थिए । उनले १६ वर्ष खाडी मुलुक दुबईमा काम गरे । तीन वर्ष भयो, स्वदेश फर्किएको । ‘ऊर्जाशील उमेर परदेशमै बित्यो, श्रीमतीको आग्रहमा जान छाडें,’ उनले भने, ‘गाउँमै पनि फेन्सी र कृषि गरेर बसेको छु ।’


अहिले पनि पन्थको बारीमा अढाई-तीन लाखको गोबी तयार हुँदै छ । ३ टनेलमा गोलभेडा  खेती गरिरहेका छन् । ‘४ महिनामा मात्रै ८ देखि १० लाखको तरकारी संकलन गरेर बिक्री गरें’, पन्थले भने, ‘यसबाट करिब २ लाख नाफा भयो ।’ गाउँको उत्पादन बिक्रीमा सहजीकरण गरेपछि स्थानीय पनि खुसी रहेको उनको बुझाइ छ ।