close

ताप्लेजुङमा कोरोनाविरुद्धको खोप : माग बढी, लगाउने कम

ताप्लेजुङमा कोरोनाविरुद्धको खोप : माग बढी, लगाउने कम

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– लक्षित संख्याको तुलनामा ताप्लेजुङमा कोरोनाविरुद्धको खोप लगाउनेको दर क्रमशः घट्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालयले जनाएअनुसार पहिलो र दोस्रो चरणमा लक्षित संख्याभन्दा निकै कमले मात्र कोरोनाविरुद्धको खोप लगाएका हुन् ।


जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार १५–२४ माघसम्म सञ्चालित कोरोनाविरुद्धको खोपको पहिलो चरणमा १ हजार ४ सय ५ जनाले लगाउने अनुमान गरिएकामा त्यसको ६१ प्रतिशत अर्थात् ८ सय ६६ जनाले मात्र लगाए । 


यस्तै, दोस्रो चरणमा १ हजार ५ सय ५० जनाले लगाउने अनुमान गरिएकामा अनुमानको ४१ प्रतिशत अर्थात् ६ सय ६९ व्यक्तिले मात्र खोप लगाएका छन् । 


ताप्लेजुङका नियमित खोप केन्द्रमार्फत २३ फागुनदेखि ७ चैतभित्र १६ हजार बढी नागरिकलाई खोप लगाउने योजना बनाइएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलका अनुसार ५५ वर्षमाथिका नागरिक, शिक्षक, सवारी चालक र यातायात मजदुरलाई तेस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाइँदै छ ।


फुङ्लिङ नगरपालिकाभित्रका २४ नियमित खोप केन्द्रबाट २३ फागुनदेखि कोरोनाविरुद्धको खोप लगाइनेछ । नगरपालिकाबोहक १ सय ५३ खोप केन्द्रमार्फत निर्वाचन क्षेत्र नं. १(क) मा २५ फागुनबाट र निर्वाचन क्षेत्र नं. १(ख) मा २ देखि ७ चैतसम्म १ सय ६२ खोप केन्द्रमार्फत कोरोनाविरुद्धको खोप लगाइने भएको छ । 


पहिलो चरणमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मीलगायतलाई लगाइएको खोप दोस्रो चरणमा २ देखि ८ फागुनसम्म भने पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, निजामती सेवाका कर्मचारी, नेपाल प्रहरी, सीमामा खटिने सशस्त्र प्रहरीलगायतलाई दिइएको थियो ।


तेस्रो चरणमा ताप्लेजुङमा १६ हजार ९० जनालाई खोप लगाइनेछ । यीमध्ये ५५ देखि ५९ वर्ष उमेर समूहका ४ हजार ६ सय ६२ जना, ६० देखि ६४ वर्ष उमेर समूहका ३ हजार ७ सय ३, ६५ देखि ६९ वर्ष उमेर समूहका २ हजार ९ सय २८ जना, ७० देखि ७४ वर्ष उमेर समूहका २ हजार २ सय १५ जना, ७५ देखि ८० वर्ष उमेर समूहका १ हजार ४ सय ९३ जना र ८० वर्षदेखि माथिका १ हजार ८९ जनालाई तेस्रो चरणको खोप दिने योजना बनेको स्वास्थ्य कार्यालयले जनाएको छ ।