close

बृहत् लुम्बिनी चक्रपथ अन्तर्गतको पर्सा-पडेरिया सडक उद्घाटन

बृहत् लुम्बिनी चक्रपथ अन्तर्गतको पर्सा-पडेरिया सडक उद्घाटन

Trulli
ADVERTISEMENT

रूपन्देही- बेलवास-बेथरी-खैराघाट सडकअन्तर्गत मायादेवी गाउँपालिकाको तिनाउ नदीमा बन्न लागेको पक्की पुल र असुरैना मावि भवनको मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गरे ।

 

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सुगौली सन्धिका बेला नेपालमा रहने निर्णय गरेर मर्चवारका नागरिकले देशभक्तिको भावना देखाएको र राणा शासनविरुद्ध डा. केआई सिंहको नेतृत्वमा भएको आन्दोलनमा सशक्त सहभागिता जनाएको मर्चवार पछाडि पर्नु अस्वाभाविक भएको बताए । 

 

उनले गौरवपूर्ण इतिहास बोकेको मर्चवार पछि परेको देख्दा आफूलाई ग्लानि भएकाले अब यस क्षेत्रमा विकास र समृद्धिका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

 

‘चुनावमा जसलाई मन लाग्छ, इच्छाअनुसार भोट दिनुस्, त्यो तपार्इंहरूको सरोकारको विषय हो । मर्चवारको विकासको नेतृत्व हामी गर्छौं । भोट दिने-नदिने सबैको मुख्यमन्त्री हुँ’, पोखरेलले भने । पछाडि परेको क्षेत्र र वर्गलाई माथि उकास्न सक्दा मात्रै मुलुक सही बाटोमा अघि बढ्ने उनको भनाइ छ । 

 

भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले अब मर्चवार दुर्गम होइन, सुगम हुने र पछाडि होइन, अघि बढ्ने बताए । मर्चवारमा अहिलेसम्म नभएको विकास आफूहरूले केही वर्षमै गरेर देखाउने चौधरीको दाबी छ । 

 

२५ करोड ७९ लाख ८७ हजार रुपैयाँ खर्चिएर ४ लेन सडकका लागि २ वटा पुल बन्न लागेका हुन् । ३६ महिनाभित्र पुल निर्माण सम्पन्न हुनेछ । असुरैना माविको १२ कोठे भवन १ करोड ३२ लाख ५ हजार रुपैयाँमा बन्न लागेको हो ।

 

मुख्यमन्त्री पोखरेलले बृहत् लुम्बिनी चक्रपथअन्तर्गत पर्सा-पडेरिया सडक खण्डको उद्घाटन गरे ।


३८ करोड ३२ लाख ४० हजार रुपैयाँमा ४ लेन सडक बनेसँगै लुम्बिनी उद्यान बाहिरको क्षेत्र आकर्षक बनेको छ । अब लुम्बिनी घुमफिर गर्न आउने पर्यटकले पनि सहज आवागमन गर्न पाउनेछन् । भैरहवा-लुम्बिनी ४ लेन सडक विस्तारको काम पनि सम्पन्न भएको छ ।

 

सडक उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनीको बृहत्तर विकासको योजना अघि बढाइएको र यही योजनाअन्तर्गत सडक निर्माणको काम सम्पन्न भएको बताए ।

 

उनले केही वर्षमै लुम्बिनीमा तीव्र गतिमा विकासका काम अघि बढेको बताउँदै रामग्रामको गुरुयोजना तयार भएको, तिलौराकोटको गुरुयोजना बन्दै गरेकाले लुम्बिनीसगैं यी क्षेत्रको विकासले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

 

कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले विकासका लागि अब बजेटको अभाव नभई प्रतिफल दिने योजना आवश्यक रहेको बताए । लुम्बिनीबासीले विकासप्रति अपनत्व लिन सक्दा मात्रै विकासका काम प्रभावकारी हुने चौधरीले धारणा छ ।


लुम्बिनी प्रदेशसभाका कांग्रेस प्रमुख सचेतक फकरुद्दीन खान, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, नागरिक अगुवा हेमबहादुर विष्टलगायतले लुम्बिनीको विकासबारे चर्चा गरे ।

 

सडक, पुल, विद्यालय भवन, सिँचाइलगायत विकास आयोजनाका थुप्रै कार्यक्रम अहिले विकासमा पछि परेको मर्चबार क्षेत्रमा अघि बढेपछि स्थानीय खुसी छन् ।