close

अल्लो उद्योग संरक्षणमा जुट्दै ऐँसेलुखर्क 

अल्लो उद्योग संरक्षणमा जुट्दै ऐँसेलुखर्क 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले अल्लो प्रशोधन प्रवर्द्धन कार्यक्रम ल्याएको छ । स्थानीय जंगलमा मात्रामा पाइने अल्लो संकलन गरेर प्रशोधन गर्दै कपडा उत्पादनका लागि गाउँपालिकाले अल्लो उद्योग प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

 

अल्लोबाट महँगा कपडा उत्पादन गर्दै स्थानीयको आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ ऐँसेलुखर्कको वडा नम्बर १ राखाबाँदेलमा अल्लो प्रशोधन एवं कपडा उत्पादनसम्बन्धी ३ महिने तालिम सञ्चालन भइरहेको छ ।

 

राखाबाँदेलका सामुदायिक वनमा पाइने अल्लो संकलन गरेर प्रशोधन गर्दै कपडा उत्पादनका लागि अढाई महिनादेखि तालिम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । 

 

राखाबाँदेलका सामुदायिक वनको करिब ६ सय रोपनी क्षेत्रफल अल्लोले ढाकेको छ । तर, हालसम्म स्थानीयले अल्लो प्रशोधन गर्ने र कपडा बुन्ने तालिम पाएका थिएनन् । 

 

प्रशोधन अभावमा अल्लोको हाँगा र डाला भैँसीलाई घाँस खुवाउने गरिएको थियो । दुधालु हुने भएकाले दुहुनो भैँसीलाई घाँसका रूपमा प्रयोग हुँदै आएको अल्लोलाई कपडा उत्पादनमा उपयोग गर्ने लक्ष्यका साथ गाउँपालिकाले तालिम आयोजना गरेको हो ।

 

तालिममा २ पुरुषसहित ८ जनाले सहभागिता जनाइरहेका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय सामुदायिक वन उपभोक्ता समितिले आयोजना गरेको तालिममा सहभागी महिला र पुरुषलाई अल्लो संकलन गर्ने, लोक्ता निकाल्ने, मेसिनमा हालेर उसिन्ने, सुकाउने, कुट्ने, धागो बनाउने, तानमा हाल्नेदेखि कपडा बुन्नेसम्मको सीप सिकाइँदै छ ।

 

राखाबाँदेलमा तालिमकै समय अल्लोको कपडा बुन्ने ४ वटा तान निर्माण गरिसकिएको छ । अल्लो कुट्ने र अल्लोको लोक्ता उसिन्ने भट्टी तथा धागो काट्ने २ वटा मेसिन ल्याइएको छ । 


अल्लो उद्योग सञ्चालनका लागि आवश्यक उपकरण एवं तालिम सञ्चालनका क्रममा करिब ७ लाख रुपैयाँ खर्च भइसकेको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

 

‘जंगलमा खेर गइरहेका अल्लो सदुपयोग गर्दै कपडा तयार पार्ने र बिक्री-वितरण गरेर स्थानीयको आयआर्जनमा टेवा पुर्‍याउने हाम्रो लक्ष्य हो,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘तालिममा सहभागीहरू एकदमै उत्साहित छन् । अल्लो कपडा तयार पारेर केही गर्छौं भन्ने जोश र जाँगर देखिएको छ ।’ 

 

अल्लोको लोक्ता संकलन गरेर ल्याउनेलाई प्रतिकेजी २५ रुपैयाँका दरले पारिश्रमिक दिने गरिएको छ । हालसम्म अल्लोको १ हजार ७ सय केजी लोक्ता संकलन भइसकेको छ । 

 

हाल अल्लोको लोक्ता खपत हुन थालेपछि स्थानीयले अल्लोको पात भैँसीलाई खुवाएर लोक्ता ल्याइदिने गरेका छन् । अल्लोको कपडा विशेषगरी कोट, स्टकोट, ह्याट, सल, गलबन्दीका रूपमा प्रयोग गर्ने गरिएको छ ।

 

बलियो र न्यानो हुने भएकाले अन्यभन्दा अल्लो कपडाको विशेष महत्त्व छ ।