close

खोटाङका वडा तहमै लगाइँदै कोरोनाविरुद्धको खोप

खोटाङका वडा तहमै लगाइँदै कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङमा कोभिड-१९ बाट प्रभावितमध्ये दोस्रो प्राथमिकतामा परेका स्थानीयलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको छ ।

 

दोस्रो प्राथमिकतामा परेकामध्ये ६५ वर्षमाथिका व्यक्ति, दीर्घ रोग भएका तथा पहिलो चरणमा छुट भएका लक्षित समूहलाई प्राथमिकता दिएर आइतबारदेखि खोप लगाउन सुरु गरिएको हो ।

 

जिल्लाका १० स्थानीय तहमध्ये ३ दिनभित्र ऐँसेलुखर्क गाउँपालिका, केपिलासगढी, रावाबेँसी, साकेला, दिप्रुङ चुइचुम्मा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङका लक्षित समूहलाई खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । 

 

बराहपोखरी गाउँपालिका, जन्तेढुंगा र खोटेहाङका लक्षित समूहलाई आगामी २ देखि ८ चैतसम्म खोप दिने तयारी छ । 

 

दोस्रो प्राथमिकतामा परेकामध्ये १० हजार १ सय १४ जनालाई २३ फागुनदेखि ८ चैतसम्म खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । दोस्रो प्राथमिकतामा परेका करिब ५० हजारलाई खोप दिने तयारी भइरहे पनि खोपको अभावमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, ६५ वर्षमाथिका व्यक्ति र दीर्घ रोग भएकालाई मात्र प्राथमिकतामा राखेर खोप दिने तयारी गरिएको जिल्ला स्तरीय खोप समन्वय तथा अनुगमन समितिले जनाएको छ । 

 

पहिलो प्राथमिकताका लक्षित समूहलाई जिल्ला अस्पताल दिक्तेल, प्राथमिक स्वास्थ्य केन्द्र ए‍ेसेलुखर्क र स्वास्थ्य चौकी खोटाङ बजारबाट कोभिडविरुद्धको खोप लगाउने व्यवस्था गरिएको छ । दोसो प्राथमिकताका लक्षित समूहलाई भने ७९ वडाका स्वास्थ्य संस्थाबाटै खोप दिने तयारी छ ।

 

कोरोनाविरुद्धको खोपका लागि हरेक स्वास्थ्य संस्थामा ३/३ दिन शिविरको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए । 

 

५५ वर्षदेखि ७४ वर्ष, ४० वर्षदेखि ५४ वर्ष उमेर समूहमध्ये क्यान्सर, मुटु तथा मिर्गौलाजस्ता दीर्घ रोगी, वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीलाई दोस्रो प्राथमिकताको लक्षित समूहका रूपमा खोप दिने सरकारको तयारी छ । 

 

पहिलो प्राथमिकतामा परेका जिल्लाका लक्षित समूहका १ हजार ७ सय ४० जनालाई खोप दिइएकामा पुनः दोस्रो प्राथमिकतामा परेका करिब ५० हजार जनालाई खोप दिने लक्ष्य राखिएको छ । पहिलो प्राथमिकतामा परेका लक्षित समूहलाई गत १५ देखि २४ माघ र २ देखि ११ फागुन गरी २ चरणमा खोप लगाइएको थियो ।