close

अन्तर्राष्ट्रिय नारी दिवस: व्यासले दौडायो महिला

अन्तर्राष्ट्रिय नारी दिवस: व्यासले दौडायो महिला

Trulli
ADVERTISEMENT

तनहुँ- १ सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा तनहुँको व्यास नगरपालिकाले प्रथम व्यास नगर महिला खुला हाफ म्याराथन प्रतियोगिता गरेको छ । 

 

व्यास नगरपालिकाको वडा नम्बर ३ व्यासगुफादेखि वडा नम्बर ११ तनहुँसुरसम्मको २१ किलोमिटरको दूरीमा सोमबार महिला धावक दौडिए ।

 

५५ जना धावकलाई पछाडि पार्दै धादिङकी रसिला तामाङले हाफ म्याराथनको उपाधि आफ्नो पोल्टामा पारेकी छन् । १ घन्टा ४९ मिनेटमा निर्धारित दूुरी पार गरी तामाङले उपाधि हात पारेकी हुन् । उनले उपाधिसँगै नगद ४१ हजार ७७ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् । 


१ घन्टा ४९ मिनेट १ सेकेन्डमा दूरी पूरा गर्दै खोटाङकी प्रिया राई दोस्रो भइन् । कास्कीकी अनिता राई तेस्रो भइन् । उनले एक घन्टा ५५ मिनेट ३२ सेकेन्डमा दूरी पार गरेको आयोजकले जानकारी दिएको छ । 

 

दोस्रो र तेस्रोले क्रमशः ३१ हजार ७७ रुपैयाँ, २१ हजार ७७ रुपैयाँको साथमा प्रमाणपत्र पाए । 


कालीकोटकी विशेषता ऐडी, तनहुँ व्यासकी नम्रता गुरुङ, तनहुँ ऋषिङकी सीता रानाभाट, भक्तपुरकी आयुषा श्रेष्ठ र ओखलढुंगाकी पदकुमारी सुनुवार सान्त्वना भए । उनीहरूले क्रमशः १ घन्टा ५५ मिनेट ५७ सेकेन्ड, १ घन्टा ५८ मिनेट ४५ सेकेन्ड, २ घन्टा ३५ सेकेन्ड, २ घन्टा ३ मिनेट १९ सेकेन्ड र २ घन्टा ८ मिनेट २८ सेकेन्डमा दूरी पार गरे ।

 

सान्त्वना हुने ५ जनालाई जनही ११ हजार ७७ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ५६ जना महिला धावकको सहभागिता थियो । तीमध्ये १२ जना तनहुँ बाहिरका हुन् ।

 

प्रतियोगिताका विजयी महिला धावकलाई गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार प्रदान गरे । 

 

हाफ म्याराथन व्यास गुफादेखि सफासडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, वेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक, चण्डीथान, गद्दीचौतारा हँुदै ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुंगिएको थियो ।


व्यास नगरपालिकाले मानुङकोटदेखि पुलिमराङसम्म ४४ किलोमिटर दूरीको अल्ट्रा म्याराथन प्रतियोगिता हरेक वर्ष सहिद दिवस अवसर पारेर गर्दै आएको छ ।

 

अल्ट्रा म्याराथन चौथो संस्करण सम्पन्न गर्दा महिला सहभागिताको महत्त्वलाई बुझेर महिला हाफ म्याराथन आयोजना गरिएको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।