close

स्थानीयले गरे कटारी-घुर्मी सडक अवरुद्ध

स्थानीयले गरे कटारी-घुर्मी सडक अवरुद्ध

Trulli
ADVERTISEMENT

उदयपुर- निर्माण कम्पनीले समयमा काम नगरेको भन्दै उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ सिम्लेका स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

 

सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी–घुर्मी सडक खण्डमा पर्ने कटारी नगरपालिकाको वडा नम्बर ४ सिम्लेका स्थानीयले विस्तारको नाममा भत्काएर त्यत्तिकै छाडेकाले सडक अवरोध गरेका हुन् । 

 

निर्माण कम्पनी रौता सुसम आदित्य रेग्मी जेभीले सडक विस्तारका क्रममा सडक भत्काएर लामो समय छाडेपछि स्थानीयले धुलोको सास्ती बेहोर्दै आएका छन् । धुलो कम गर्न समय-समय पानी हाल्न दबाबस्वरूप स्थानीयले सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी-घुर्मी सडक बन्द गरेका छन् ।

 

प्रदेश १ सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत रौता सुसम आदित्य रेग्मी जेभीले ३ करोड २४ लाख ६ हजार ५ सय ७४ रुपैयाँको लागतमा निर्माणको जिम्मा लिएको हो । ६ चैत २०७६ मा ठेक्का सम्झौता भई काम थालेको थियो ।

 

कटारी बजारको अस्पताल चोकदेखि ३ हजार २ सय मिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो । यो सडक खण्डको काम समयमा ठेकेदारले नगर्दा समस्या भएको स्थानीयको गुनासो छ ।


‘बारम्बार हामीले नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउतसँग यस विषयमा कुरा राख्यौँ तर चासो दिएनन्’, स्थानीय कृष्ण खड्काको गुनासो छ ।

 

ठेकेदारले ३ हजार २ सय मिटर सडक कालोपत्रेको काम सुरु गरे पनि बीचमा अलपत्र छाडेपछि स्थानीय धुलो खान बाध्य भएका हुन । ‘धुलोले लगाएको कपडा फेरि लगाउनुपर्छ,’ कटारी नगरपालिकाको वडा नम्बर ४ सिम्लेका स्थानीय दीपक माकाजुले भने, ‘यो सडकमा धुलोले गर्दा माइक्रो, ट्याम्पो, बसमा पनि यात्रा गर्न सकिँदैन ।’


सडकमा आउजाउ गर्ने यात्रु मात्र होइन, होटल व्यवसायसमेत बन्द भएको व्यवसायी अमर श्रेष्ठले बताए । सडकमा दिनभरि उड्ने धुलोका कारण व्यापार व्यवसाय नै डुब्ने चिन्ता रहेको उनले सुनाए ।


ठेकेदारले धुलाम्मे सडकमा पानी हाल्ने सहमति गरे पनि पानी नहालेको व्यवसायी जमानसिंह बस्नेतले बताए । ‘धुलोले कुहिरो लागेजस्तै हुन्छ । सडक समयमा नबन्दा स्थानीयले केही समय अघि मरुवामा सडक अबरुद्ध गरेका थिए । धुलो उड्न नदिन दिनमा २ पटक पानी हाल्ने सहमति भएपछि सडक सुचारु भएको थियो । तर, अहिले पानी हाल्न छाडियो’, बस्नेतले भने ।