close

जलजलाको वारीबेनीमा सडक कालोपत्रे हुँदै

जलजलाको वारीबेनीमा सडक कालोपत्रे हुँदै

Trulli
ADVERTISEMENT

म्याग्दी- पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ वारीबेनीको सडक कालोपत्रे भएको छ । सडक डिभिजन कार्यालय बागलुङले मालढुंगा-बेनी सडकअन्तर्गत वारीबेनी खण्डको सडक मर्मत अन्तिम चरणमा पुर्‍याएको हो ।

 

यसअघि गरिएको कालोपत्रे उप्किएपछि नयाँ कालोपत्रे गरिएको हो । कालोपत्रे भएको सडकको कुनातर्फ पक्की नाला पनि निर्माण भएको छ । 

 

म्याग्दीको कालीपुल जोड्ने मोटरेबल पुलदेखि वारीबेनीको डाँडासम्म करिब ७ सय ५० मिटर सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको निर्माण व्यवसायी निराजन खतिवडाले बताए । उनका अनुसार साढे ५ देखि ९ मिटरसम्म फराकिलो ठाउँमा सडक कालोपत्रे गरिएको छ । 


प्रिमिक्स प्रविधिको कालोपत्रे गर्न त्रिशक्ति-तिलक निर्माण सेवाले १ करोड रुपैयाँमा २०७५ मा ठेक्का लिएको थियो । यो आयोजनाको ठेकेदार कम्पनीको आधिकारिक प्रतिनिधि अमृतकुमार श्रेष्ठ हुन् ।

 

आगामी २०७८ जेठ मसान्तसम्म ठेक्का सम्झौताको म्याद छ । अबको ७ दिनभित्र कालोपत्रे सकेर सडक हस्तान्तरण गर्ने त्रिशक्ति निर्माण कम्पनीका सञ्चालक खतिवडाले जानकारी दिए । यही आयोजनाअन्तर्गत वारीबेनीको डाँडादेखि आँखोलासम्म सडक विस्तार गरिएको छ । 


कुन क्षेत्रमा पिच गर्ने भन्ने अन्योल भएपछि १ वर्षदेखि काम रोकिएको थियो । वारीबेनीदेखि आँखोला खण्ड कालीगण्डकी करिडोर र वारीबेनी बजारभित्र सडक डिभिजनले कालोपत्रे गर्ने निर्णय भएपछि काम अघि बढेको हो । 


करिब १० वर्षअघि मालढुंगा-बेनी सडक आयोजनामार्फत गरिएको पिच उप्किएर सडक धुलाम्मे र हिलाम्मे हुने गरेको थियो । सडकको पूरै भाग कालोपत्रे भएपछि धुलो, हिलोबाट मुक्ति मिलेको वारीबेनीका रामबहादुर खत्रीले बताए ।