close

नमोबुद्धले यसरी मनायो महिला दिवस 

नमोबुद्धले यसरी मनायो महिला दिवस 

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाले १११औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । दिवसकै अवसरमा महिलाको हकहितका लागि योगदान गर्नेलाई सम्मान गर्दै नगरपालिकाभित्रका महिलाका समस्या तथा त्यसलाई समाधान गर्ने उपायबारे छलफलसमेत भयो ।

 

बागमती प्रदेशसभा सदस्य गोमा भुर्तेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरपालिकाका सबै वडाका महिला सहभागी थिए ।

 

कार्यक्रममा छोरी जन्माउनेलाई ५ हजार रुपैयाँ प्रोत्साहन रकमको व्यवस्था गर्ने वडा नम्बर ९ का वडाध्यक्ष मेलबहादुर लामा, शैक्षिक क्षेत्रबाट महिला सशक्तीकरणमा भूमिका निर्वाह गर्ने शिक्षिका चन्द्रादेवी खनाल, महिलाका लागि सेफ हाउस सञ्चालन गर्ने देवकी खनाल, सहकारीको माध्यमबाट महिलाको आर्थिक उन्नति र सशक्तीकरणमा भूमिका निर्वाह गर्ने भुवनेश्वरी श्रेष्ठ तथा नगरभित्रकै ज्येष्ठ महिला स्वास्थ्यस्वयंसेविका ठूलीमाया तामाङलाई सम्मान गरियो ।

 

प्रदेश सांसद भुर्तेल, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङलगायतले उनीहरूलाई सम्मान गरेका थिए । 


कार्यक्रम प्रदेशसभा सदस्य भुर्तेलले हरेक क्षेत्रमा महिलालाई ३३ प्रतिशत सहभागिता संविधानले सुरक्षित गरेको र त्यसलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताइन् । भुर्तेलले महिला अधिकारको लडाइँ नसकिएको दाबी गरिन् ।


नमोबुद्धका नगरप्रमुख तिमल्सिनाले नगरभित्र महिलाको सशक्तीकरण, आर्थिक उन्नति, हिंसा न्यूनीकरणका लागि नगरपालिकाले विगतदेखि नै सक्रियतापूर्वक काम गरिरहेको जानकारी दिए ।

 

उनले आगामी दिनमा पनि महिला हिंसा न्यूनीकरणमा विशेष जोड दिँदै सोहीअनुसार नगरपालिकाको नीति तथा कार्यक्रम तयार पार्ने बताए । ‘महिलालाई रोजगारी, राजनीतिक एवं सामाजिक क्षेत्रमा पहुँच वृद्धि गर्न लागिपरेका छौँ । समृद्ध नगर निर्माणमा महिलासँग हातेमाले गर्दै नगरपालिका अगाडि बढ्छ’, उनले भने । 


उपप्रमुख तामाङले महिला सशक्तीकरणका क्षेत्रमा अन्य स्थानीय तहभन्दा नमोबुद्ध नगरपालिका अग्रस्थानमा रहेको दाबी गरिन् । ‘हिंसापीडित, एकल महिलाका लागि नगरले थप विशेष कार्यक्रम ल्याएको छ । त्यसले महिलाको आर्थिक उन्नतिमा सघाउ पु¥याउनेछ’, उनले भनिन् । 

 

आगामी दिनमा नगरका वडा-वडामा सचेतनामूलक कार्यक्रम, आर्थिक विकासका लागि सीपमूलक तालिम सञ्चालन गर्ने उनको भनाइ छ । हिंसापीडित महिलालाई हिंसा सहेर नबस्न र नगरपालिकामा रहेको न्यायिक समितिमा आउन उनले आग्रह गरिन् ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले पछिल्लो समय नेतृत्वमा महिला सहभागिता बढ्दै जानु खुसीको कुरा भएको बताए । समृद्धिको सूचक चिल्ला बाटो र ठूला घर नभई सबै क्षेत्रमा समानताको पहुँच पुग्नुपर्नेमा उनले जोड दिए ।

 

नगरभित्र महिलालाई लक्षित गर्दै वडा नम्बर ९ बाट छोरी जन्माउनेलाई प्रोत्साहन रकम दिन थालिएको, सबै वडाका महिलाका लागि सीप विकास तालिम सञ्चालन गरिएको उनले बताए । 

 

कार्यक्रममा मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले महिला अधिकार, लैंगिक हिंसा र यौन दुव्र्यवहार विषयमा कार्यपत्र प्रस्तुत गर्दै नमोबुद्धमा महिलाको अवस्था, महिला हिंसा अवस्थाबारे जानकारी दिए ।


उनले ११ वटै वडामा प्रशिक्षण र अध्ययनको क्रममा देखिएको समस्यालगायत विषयमा तयार पारिएको रिपोर्ट नगरप्रमुख तिमल्सिनालाई हस्तान्तरण गरे ।

 

अवकाशप्राप्त वरिष्ठ महिला विकास अधिकृत माया लोहनीले महिला विकासका लागि भएका प्रयासबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने उद्यमशीलता विकास विज्ञ तथा जेन्डर मास्टर प्रशिक्षक विष्णु जोशीले सुखी नेपाली समृद्ध नेपालका लागि महिला उद्यमशीलताबारे कार्यपत्र प्रस्तुत गरिन् ।

 

नमोबुद्धले दिवस मनाउनुअघि नगरपालिकाका ११ वटै वडामा लैंगिक हिंसा न्यूनीकरणका विषयमा प्रशिक्षण कार्यक्रम गरेको थियो ।