close

कृषिकर्मी युवालाई सन्धिखर्कले दियो सहुलियत ऋण 

कृषिकर्मी युवालाई सन्धिखर्कले दियो सहुलियत ऋण 

Trulli
ADVERTISEMENT

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक रूपमा कृषि गर्ने युवाहरूलाई कर्जा दिने भएको छ । बेरोजगार युवालाई सस्तो ब्याजदरमा ऋण प्रदान गर्ने सुलभ कर्जा कार्यक्रमअनुसार सन्धिखर्क नगरपालिका र नेपाल बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

 

सम्झौतापत्रमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले हस्ताक्षर गरे ।

 

कार्यक्रममा नगरप्रमुख भुसालले कृषि क्षेत्रमा व्यावसायिक रूपमा काम गर्न खोज्ने कृषकको पहिचान गरी कर्जा वितरण गरिने बताए ।

 

सन्धिखर्क नगरपालिकाको ७५ लाख र नेपाल बैंकको ७५ लाख गरी १ करोड ५० लाख रुपैयाँ कृषि पेसा गर्ने बेरोजगार युवालाई उपलब्ध गराउन बैंकसँग सम्झौता गरिएको भुसालले जानकारी दिए ।

 

भुसालले १ लाखदेखि ३ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने बताए । विदेशबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएका व्यावसायिक कृषि गर्ने युवालाई छनोट गरेर ऋण उपलब्ध गराइने उनको भनाइ छ ।

 

बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले कृषि पेसा गर्नेलाई बिनाधितो कर्जा प्रवाह गरिने र यसको ब्याज २ देखि ३ प्रतिशत हाराहारीमा रहने जानकारी दिए ।

 

सुलभ दरमा कर्जा लिनेलाई बैंकको इन्टरनेट बैंकिङ, एटिएमलगायत अन्य सेवा निःशुल्क प्रदान गरिने उनको भनाइ छ ।

 

कार्यक्रममा नगर उपप्रमुख ठाकुरकुमार विकले कृषि पेसा गर्न चाहने युवालाई सुलभ कर्जा प्रवाह गरिने बताए । स्रोत-साधन नभएका युवालाई हौसला प्रदान गर्न बिनाधितो सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइने उनले जानकारी दिए।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद मरासिनीले पुँजी नभएका तर सीप भएकालाई कार्यक्रममा समेटिने प्रतिबद्धता जनाए ।