close

खोटेहाङकाे ‘दलितसँग गाउँपालिका’ कार्यक्रम

खोटेहाङकाे ‘दलितसँग गाउँपालिका’ कार्यक्रम

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको खोटेहाङ गाउँपालिकाले ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरेको छ । दलित समुदायको उत्थान एवं आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ गाउँपालिकाले ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरेको हो ।

 

दलित समुदायको जीवनस्तर उकास्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७७/७८ मा विनियोजित दलित लक्षित कार्यक्रमअन्तर्गत गाउँपालिकाको वडा नम्बर ९ लिच्कीराम्चेबाट ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरिएको हो ।

 

चालू आर्थिक वर्ष लिच्कीराम्चेसहित खोटेहाङको वडा नम्बर ३ सावाकटहरे र वडा नम्बर ४ बड्कादियालेमा कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । 

 

लिच्कीराम्चेमा आइतबार आयोजित दलितसँग गाउँपालिकासम्बन्धी अभिमुखीकरण गोष्ठी सोही वडाका दलित महिला सदस्य रेणुका विकको अध्यक्षतामा सम्पन्न भएको थियो । 

 

‘दलितसँग गाउँपालिका’ कार्यक्रमअन्तर्गत ३ वटै वडाका दलित समुदायलाई स्वास्थ्य, शिक्षा तथा व्यवसाय छनोट, दर्ता र सञ्चालनलगायतको विषयमा जानकारी दिइनेछ ।

 

यस्तै, दलित परिवारको आर्थिक आयआर्जनमा टेवा पु¥याउने लक्ष्यअनुसार १५ जना उद्यमीलाई उत्पादन सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम छ । यसबाहेक वडा स्तरीय दलित सञ्जाल गठन, दलित र गैरदलितबीच सहभोजलगायत कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

 

स्थानीय तह कार्यान्वयनमा आएदेखि नै दलितका लागि सञ्चालन गरिएको मोबाइल मर्मत, साबुन बनाउने तालिम र लुगा सिउने मेसिन खरिद प्रभावकारी नदेखिएपछि यस वर्ष फरक तरिकाले कार्यक्रम सञ्चालन गरिएको हो ।

 

दलित समुदायको उत्थानका लागि उपयुक्त कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वानसहित उत्कृष्ट प्रस्तावलाई स्वीकृत गरेर ‘दलितसँग गाउँपालिका’ कार्यक्रम लागू गरिएको अध्यक्ष राईले बताए ।

 

‘दलितसँग गाउँपालिका’ कार्यक्रमका लागि परेका प्रस्तावमध्ये इन्द्र नारथुंगेको प्रस्ताव छनोट भएको थियो । २०७४ मा दलितका लागि मोबाइल तालिम, २०७५ मा साबुन बनाउने तालिम सञ्चालन गरिएको थियो । यस्तै, २०७६ मा लुगा सिउने मेसिन खरिद गरेर वितरण गरिएको थियो ।

 

‘दलित समुदायका लागि अहिलेसम्म सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी देखिएन । नयाँ तरिकाले सोच्नुपर्ने अवस्था देखियो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘सोही कारण दलितका लागि कस्तो कार्यक्रम उपयुक्त होला भनेर प्रस्ताव आह्वान गर्‍यौँ । परेकामध्ये उपयुक्त प्रस्तावका आधारमा कार्यक्रम अघि बढाइएको हो ।’ कार्यक्रमको सहजीकरण इन्द्र नारथुंगेले गरिरहेका छन् ।