close

पाशुपत क्षेत्रमा शिवरात्रिको चहलपहलः मास्क अनिवार्य, ११ उपसमिति गठन 

पाशुपत क्षेत्रमा शिवरात्रिको चहलपहलः मास्क अनिवार्य, ११ उपसमिति गठन 

Trulli
ADVERTISEMENT

काठमाडौं– यस वर्षको शिवरात्रिमा मास्कबिना पशुपतिनाथ प्रवेश गर्न नपाइने भएको छ । कोरोना महामारीको त्रास कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र मन्दिर प्रवेश गर्न दिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

 

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा. प्रदीप ढकालले स्यानिटाइजर र मास्कबिना मन्दिर जान नदिइने बताए । उनले भने, ‘मास्कबिना आउने भक्तजनलाई मन्दिर प्रांगणमा प्रवेश गर्न दिइँदैन ।’


शिवरात्रिमा पशुपति दर्शनका लागि आउने भक्तजनलाई लक्षित गरी कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्यसम्पादन समितिको बैठकले सदस्य–सचिव डा. ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको छ । यसैगरी कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकत्वमा प्रचार–प्रसार व्यवस्थापन समिति गठन गरिएको छ भने परिषद् सदस्य भगवती देवको संयोजकत्वमा दर्शन, चन्दन व्यवस्था मन्दिर एवं रात्रिकालीन व्यवस्था समिति बनाइएको छ । 

 

त्यस्तै, परिषद् सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार समिति, परिषद् सदस्य अर्जुनप्रसाद बाँस्तोलाको संयोजकत्वमा साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्थापन समिति, परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ता–चप्पल व्यवस्थापन समिति र परिषद् सदस्य विश्वकरण जैनको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्था समिति गठन गरिएको छ ।


परिषद् सदस्य देवी बरालको संयोजकत्वमा सरकारी निकाय समन्वय समिति, परिषद् सदस्य उद्धवप्रसाद बरालको संयोजकत्वमा मेला, बजार तथा सजावट व्यवस्था समिति, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाको संयोजकत्वमा स्वयंसेवा परिचालन समिति र मूल्यांकन तथा तथ्यांक संकलन समिति गठन गरिएको कोषाध्यक्ष थापाले जानकारी दिए ।

 

शिवरात्रिमा सुरक्षा व्यवस्थाका लागि १० हजार सुरक्षाकर्मी खटाइने उनले बताए । कोषले महाशिवरात्रिमा पशुपति दर्शनमा आउने भक्तजनलाई सहज हुने गरी तयारी सुरु गरेको छ । महाशिवरात्रिका दिन महँगा गरगहना लगाएर र बालबालिका लिएर पशुपति क्षेत्रमा नआउनसमेत कोषले भक्तजनमा अनुरोध गरेको छ ।


फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि यस वर्ष २७ फागुनमा परेको छ । महाशिवरात्रिका अवसरमा गत वर्ष चैतदेखि कोरोनाका कारण पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा कोषले २५ फागुनदेखि गरिरहेको छ ।

 

महाशिवरात्रिका दिन भने ५ हजार १ सय र ११ हजार द्वीप प्रज्ज्वलनको मात्र विशेष पूजा गरिनेछ । कोषले महाशिवरात्रिका लागि करिब २० रुपैयाँ लाख बजेट छुट्याएको सदस्य सचिव ढकालले जानकारी दिए ।