close

पर्यटक नआउँदा गुम्यो गाउँपालिकाको आय

२ अर्ब रुपैयाँ बढी लगानीका घोडेपानीका होटल रित्तै

पर्यटक नआउँदा गुम्यो गाउँपालिकाको आय

२ अर्ब रुपैयाँ बढी लगानीका घोडेपानीका होटल रित्तै

Trulli
ADVERTISEMENT

म्याग्दी– पर्यटक आगमन ठप्प हुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको चालू आर्थिक वर्षको आन्तरिक आम्दानी प्रभावित भएको छ । 

 

पर्यटकीय स्थल घोडेपानी, पुनहिल र तातोपानी कुण्डको प्रवेश शुल्क उठाउन नपाएपछि गाउँपालिकाको १ करोड रुपैयाँ बढी आम्दानी गुमेको हो । गत आर्थिक वर्ष २०७६/७७ मा घोडेपानी–पुनहिल प्रवेश शुल्क र त्यहाँ चिया पसल सञ्चालनका लागि ६५ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । 

 

यसैगरी तातोपानी कुण्डको प्रवेश शुल्क उठाउन र त्यहाँ रेस्टुराँ चलाउन ५५ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । घोडेपानी पुनहिल भ्रमण र तातोपानी स्नानका लागि नेपालीलाई प्रतिव्यक्ति ५० र विदेशीलाई १ सय रुपैयाँ शुल्क तोकिएको छ । 


यो वर्ष पर्यटक आगमन नभएपछि पर्यटकीय स्थलको प्रवेश शुल्क उठाउने ठेक्का लगाउन नसकिँदा आयस्रोतमा असर परेको गाउँपालिका अध्यक्ष डमबहादुर पुनले बताए । गत असारमा भएको गाउँसभाले घोडेपानी पुनहिल र तातोपानीको ठेक्काबाट १५÷१५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । 


आर्थिक वर्षको ८ महिनासम्म पर्यटन गतिविधि चलायमान हुन नसकेपछि आइतबार भएको गाउँसभाले तातोपानीबाट १ लाख र घोरेपानीबाट ५० हजार रुपैयाँ आम्दानी हुने गरी बजेट संशोधन गरेको छ । 

 

१ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको रातोपानी र पाउद्वार तातोपानी कुण्डबाट १५÷१५ हजार र ५० हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी कुण्डबाट ५ हजार रुपैयाँ आम्दानी हुने गरी करको दर घटाएको छ । 

 

अमानतमा तोकिएको रकम बुझाएर शुल्क बुझाउनेलाई जिम्मेवारी दिने गाउँपालिकाले जनाएको छ । पर्यटकको प्रवेश शुल्क अन्नपूर्ण गाउँपालिकाको मुख्य आन्तरिक आयस्रोत हो । यो वर्ष कोरोनाले आम्दानीसँगै सो परिचालन गरेर हुने विकास गतिविधिसमेत प्रभावित भएको अध्यक्ष पुनले बताए । 


सुनसान पर्यटकीय स्थल 

 

फागुन, चैत, वैशाख सिजनमा अन्नपूर्णको वडा नम्बर ६ घोडेपानीको सन्नी होटलका सञ्चालक सन्नी पुनलाई खाना खाने फुर्सद पनि हुँदैनथ्यो । तर, १ वर्षयता सन्नी मात्र नभएर घोडेपानीका सबै होटल व्यवसायी फुर्सदिला छन् । 

 

‘कोरोना र लकडाउनले बन्द भएको होटल गत माघमा खोले पनि अझै तंग्रिन सकेको छैन’, उनले भने, ‘रित्तो होटल कुरेर बसेका छौँ । आन्तरिक पर्यटक फाट्टफुट्ट आएका छन् ।’ 


कोरोना महामारी रोकथामका लागि गत वर्षको चैतदेखि गरिएको लकडाउन खुलेपछि धेरै क्षेत्र पुरानै लयमा फर्किन थालेका छन् । तर, पर्यटन व्यवसाय भने अझै तंग्रिन नसकेको घोडेपानीको स्नोल्याड होटलका सञ्चालक सुशील पुनले बताए । 

 

विगतका वर्षमा पर्यटकले भरिभराउ हुने पर्यटकीय स्थल र त्यहाँका होटलमा यसपालि फागुन सकिनै लाग्दा फाट्टफुट्ट आएका पाहुना मात्र भेटिन्छन् । ‘विदेशी पर्यटकको आगमन शून्य छ,’ होटल व्यवसायी पुनले भने, ‘स्वदेशी पर्यटक पनि खासै आएका छैनन् ।’

 

समुद्री सतहदेखि २ हजार ८ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा २५ वटा सुविधासम्पन्न होटल छन् । इलाका प्रहरी कार्यालय घोडेपानीका अनुसार यहाँ वार्षिक ५० हजार जना बढी विदेशी पर्यटक आउँथे । लकडाउनका कारण होटल बन्द भएपछि त्यहाँ काम गर्ने १ सय जना बढीको रोजगारी गुमेको छ । 

 

२ अर्ब रुपैयाँ बढीको लगानी भएको घोडेपानीको होटल व्यवसाय संकटमा परेको छ । भूकम्प, हुदहुद आँधी र नाकाबन्दी हुँदा पनि अहिलेजस्तो सुनसान थिएन, घोडेपानी । विगतमा भीडभाड भएर होटलमा कोठासमेत पाउन मुस्किल पर्ने घोडेपानी यसपाली सुनसान र शान्त रहेको पोखराबाट घुम्न आएका मनोज क्षेत्रीले बताए । 

 

‘लामो समय घर र बजारमा थुनिएर बस्नुपर्दा मोनोटोनोस भएकाले घुम्न आएको हो,’ उनले भने, ‘शान्त वातावरणमा प्रकृतिको सौन्दर्यमा रमाउन पाउँदा रिफ्रेस भएको महसुस भयो ।’ 

 

यतिबेला घोडेपानी पुनहिल क्षेत्रको जंगलमा गुराँस फुल्न थालेको छ । गण्डकी प्रदेशकै ठूलो गुराँसको जंगल घोडेपानीमै छ । यहाँको जंगलमा राता, सेतालगायत नेपालमा पाइने ३२ मध्ये ८ प्रजातिका गुराँस पाइन्छन् । पुनहिलबाट सूर्योदय, हिमाल र गुराँसे जंगलको अवलोकन गर्न सकिन्छ ।

 

घोडेपानीमा बास बसेर पुनहिल घुम्न जाने पर्यटकको एकाबिहानै लाम लाग्दथ्यो ।  पोखराबाट घोडेपानी घुम्न आएका रमेश श्रेष्ठले पर्यटन र होटल व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर प्याकेज ल्याउनुपर्ने बताए ।

 

‘नेपालको पर्यटन व्यवसायको भरथेग गर्ने भनेको अब आन्तरिक पर्यटकले नै हो’, उनले भने, ‘विदेशीले भन्दा नेपालीले खर्च पनि बढी खर्च गर्छन् । तर, व्यवसायीले त्यहीअनुसारको व्यवहार र सुविधा दिन सक्नुपर्‍यो ।’

 

पर्यटन र होटल व्यवसायलाई पुनजीर्वन दिन घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर व्यवसाय सुरु गरेको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए । पोखरेबगर हुँदै घोडेपानी जोड्ने सडक निर्माण भएकाले गाडीबाटै घुम्न आउन सकिन्छ ।