close

पूर्वाधारमा पोखरा महानगरको लोभलाग्दो फड्को 

पूर्वाधारमा पोखरा महानगरको लोभलाग्दो फड्को 

Trulli
ADVERTISEMENT

कास्की– २०१६ सालमा नगर पञ्चायत । २०५२ मा उपमहानगरपालिका । २०७३ सालमा पोखरा लेखनाथ हुँदै २०७५ मा पोखरा महानगरपालिका स्थापना भयो । यो क्षेत्रफलका हिसावले देशकै ठूलो महानगरपालिका हो । महानगरले ५औं वार्षिकोत्सव मनाएको छ । बिहीबार स्थापना दिवस पर्ने भएपनि शिवरात्री परेकोले बुधबार नै दिवस मनाइएको हो । 


महानगरपालिकाले रक्तदान, विभिन्न खेलकूद प्रतियोगिताका साथै बुधबार सभागृहमा विशेष कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । यसअघि भलिवल, ब्याडमिन्टन, फुटवल प्रतियोगिता आयोजना गरिएको थियो ।

बुधबार नै महानगरबाट प्रभातफेरी निकालेर पृथ्वीचोकको परिक्रमा गरी टोली सभागृह पुगेको थियो । पोखरा महानगर घोषणा हुँदा नजिकका विभिन्न साविकका गाविसहरु मिसाइएको थियो । विकासका हिसावले निकै कमजोर ती वडाहरुमा जनप्रतिनिधि आएपछि पूर्वाधार बनेका छन् । 


खासगरी वडा कार्यालयसँग कनेक्टिङ सडकमा महागरले फड्को नै मारेको छ । नगर क्षेत्रका सबैजसो सडकहरुमा अस्फाल्ट कंक्रिट मार्फत कालोपत्रे गरिएको छ । मेयर मानबहादुर जिसी यही कामलाई आफ्नो प्रमुख उपलव्धि ठान्छन् । 


‘हामी छिर्दा केही पनि थिएन । सडकको बेहाल थियो । वडा कार्यालय बनेका थिएनन्,’ उनले भने, ‘केही सुरुवात भएको छ । धेरै नसकेपनि परिवर्तनको महशुस नागरिकले गरेका छन् ।’ खासगरी कनेक्टिङ रोडमा आफुले जोड दिएको उनले सुनाए । 


पोखरा महानगरपालिकाले नयाँ संरचनापछि ४ वटा बजेट ल्याइसकेको छ । अर्वौंको बजेट सार्वजनिक गर्ने नगरपालिकाले काम भने देखिने गरी गर्न सकेको छैन । सबैजसो विकास पुरानै अवस्थामा छ । दैनिकी विताउने बाहेक विशेष योजना पनि बनेको छैन । न आन्तरिक श्रोत खोजी भएको छ, न त संघ र प्रदेशले दिएका अनुदान सही ठाउँमा सदुपयोग गरिएका छन् ।


जनप्रतिनिधिहरु भने आफ्नो दक्षता र श्रोतको सीमितताका आधारमा उल्लेख्य काम गरेको दावी गर्छन् । यद्यपी केही वडा कार्यालय बनेका छन् । महानगरले आफ्नै लगानीमा प्राविधिक शिक्षालय स्थापना गरेको छ । प्रज्ञा प्रतिष्ठान, सहकारी वोर्ड, नगर योजना आयोग गठन गरिएको छ । 


कोभिडको समयमा प्रदेशभरीकै स्थानीय तहहरुको अभिभावकीय दायित्व पोखराले पूरा गरेको थियो । गण्डकीमा पोखरा मात्रै महानगरपालिका हो । यहाँ २६ वटा नगरपालिका र ५८ वटा गाउँपालिका छन् । 


बुधबारको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशको चेपुवामा स्थानीय सरकार परेको बताए । ‘संघीयता भनेको सरकारहरुको पनि सरकार हो । प्रदेश र संघ सरकारले समयमा कानुन नबनाउँदा स्थानीय सरकारलाई गाह्रो भयो,’ उनले भने, ‘हामीले धेरै काम गर्न सकेका छैनौं । तोकिएको समयमा तोकिएका काम गर्न नसक्दा राम्रोसँग सरकार चल्न सकिरहेको छैन ।’ उनले पोखरालाई पर्यटनको राजधानी बनाउन पहल गरिरहेको बताएका छन् । 


वार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको छ भने सेवा निवृत्त भएकालाई सम्मान गरिएको छ । कार्यक्रममा कर्मचारीहरुले अस्थायी र सेवा करारका कर्मचारीलाई स्थायी गराउनुपर्ने आवाज उठाए । 


जनप्रतिनिधिहरुले बाँकी रहेको १ वर्षलाई जतिसक्दो धेरै उपयोग गर्ने र नागरिकको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । ३३ वटा वडा रहेको पोखरामा १ सय ७० जनप्रतिनिधि र ८ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । महानगरले स्थापना दिवसको अवसरमा बुधबार सार्वजनिक विदा दिएको छ ।