close

रूख चढेरै फोन गर्छन् गाउँपालिका अध्यक्ष 

रूख चढेरै फोन गर्छन् गाउँपालिका अध्यक्ष 

Trulli
ADVERTISEMENT

हुम्ला/च‌खेली गाउँपालिका– हुम्लाको विकट चंखेली गाउँपालिकामा भरपर्दो फोन सेवा नहुँदा गाउँबासी करिब २ घन्टाको बाटो हिँड्नुपर्ने बाध्यतामा छन् । ६ वटा वडा भएको गाउँपालिकाको नेप्कामा अहिलेसम्म टेलिफोनका टावर नै नराखिँदा त्यहाँका स्थानीयलाई फोन, मोबाइल के हो भन्ने थाहासमेत छैन । 

 

पछिल्लो समय बल्ल त्यहाँ टेलिफोन टावरका सामग्री आइपुगेकाले बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष धनलाल चौलागार्इंले बताए । भौगोलिक हिसाबले ठूलो र धेरै खोल्साखोल्सी भएको उक्त गाउँपालिकामा २०६६ मा एउटा मात्र नेपाल टेलिकमको टावर मेल्छामको वडा नम्बर ५ मासिधारमा ठड्याइएको थियो ।


उक्त टावरको क्षमता कम भएकाले सीमित मात्रामा फोन सेवा लिन सकिन्थ्यो । अहिले उक्त टावर पूर्ण रूपमा बन्द हुँदा २ घन्टाको पैदल बाटो हिँडेरै रूखको टुप्पोमा गएर फोन गर्नुपर्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष चौलागाईं सुनाउँछन् ।


‘टेलिफोन नभए पनि इन्टरनेट सेवा छ तर अत्यन्तै सुस्त’, चौलागाईं भन्छन्, स्थानीयले फोन सेवा पाउनु त परको कुरा । म आफैं गाउँपालिका अध्यक्षले समेत २ घन्टाको बाटो हिँडेर अग्लो ठाउँमा गएर फोन गर्नुपर्छ । त्यो पनि घाम लागेका बेला काम गर्छ घाम नलागे फोन टिप्दैन ।’


पानी परे, हावा–हुरी लागे तथा हिमपात भए टेलिफोन सेवा पूरै ठप्प हुने गरेको उनले बताए । टेलिकमलाई फोनका लागि आग्रह गरिए पनि सुनुवाइ नभएको उनको गुनासो छ ।


‘गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हालेपछि धेरै पटक सञ्चार मन्त्रालय, नेपाल टेलिकममा धाउँदाधाउँदै हैरान भइयो । सम्बन्धित निकायले हुन्छ–हुन्छन् भन्छन् तर काम कहिल्यै गर्दैनन्’, उनले भने ।

 

यस विषयमा जिल्ला प्रशासन कार्यालय, टेलिकमलगायत सम्बन्धित निकायलाई जानकारी गराइसकिए पनि टावर मर्मतका लागि कोही टोली नखटाएको उनले सुनाए । चौलागाईंका अनुसार सम्बन्धित निकायमा जाँदा भिस्याट विस्तार गर्ने नेपाल सरकारको रणनीति भएकाले नयाँ टावर विस्तार नगरिने जवाफ आएको उनले बताए । 


फोरजी विस्तारका लागि देशैभर ५६ वटा टावरको टेन्डर भइसकेको र नेप्कामा पनि जडान गरिने आश्वास आएको २ वर्ष बितिसके पनि अझैसम्म नबनेको उनको गुनासो छ ।

 

बेखर टेलिकम


हुम्लामा टेलिकमका टावर कति सञ्चालनमा छन्, कति बिग्रिएका छन् भन्नेबारे यहाँस्थित नेपाल टेलिकम बेखबर देखिएको छ । गाउँपलिकाका अध्यक्षले नै जानकारी गराए पनि हुन्छ, गरौँला भन्नेबाहेक अरू कुनै काम नभएको चौलागाईंले बताए ।


टेलिकमका प्राविधिक राम खातीले भने, ‘मलाई यसबारे केही थाहा छैन । सोही गाउँपालिकाको नेप्कामा टावर बनाउन जाँदा सबै टावर हेरेर आउने योजना मात्र थियो । हामीले यहाँबाट टावरका सबै सामग्री माथि पठायौँ । त्यहाँकै १ जना स्थानीयले ढुवानीको जिम्मा लिएका थिए । बीचैमा ढुवानी गरेको गाडी पल्टिँदा टुटफुट भएका सामग्रीको एकिन परिमाण जानकारीमा छैन ।’