close

महुरे-राजापानी सडकः म्याद नाघेको ७ महिनापछि अर्कैको जिम्मामा 

कालोपत्रेको गुणस्तमा प्रश्नै प्रश्न 

महुरे-राजापानी सडकः म्याद नाघेको ७ महिनापछि अर्कैको जिम्मामा 

कालोपत्रेको गुणस्तमा प्रश्नै प्रश्न 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको महुरे-राजापानी (सिमपानी) सडक कालोपत्रेको ठेक्का लिएको मुख्य निर्माण कम्पनीले बाँकी काम सब-कन्ट्रयाक्टरलाई जिम्मा लगाएको छ । 


गाईघाट-दिक्तेल सडकको महुरे-फोक्सिङटार ४९ किलोमिटर सडक खण्डको महुरे-राजापानी (सिमपानी) सडक कालोपत्रेको ठेक्का लिएको भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभीले सम्झौता म्याद नाघेको ७ महिना बितेपछि बाँकी काम ग्राइन्ड डिजाइन कन्स्ट्रक्सन प्रालि नेपालगन्जलाई जिम्मा दिएको हो । 


कालोपत्रेको काममा ढिलासुस्ती भइरहेको तथा गुणस्तरमाथि प्रश्न उठ्दा आलोचित बनिरहेको भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभीले बीचैमा अर्कै निर्माण कम्पनीलाई सब-कन्ट्रयाक्टमा काम छाडेको हो ।


करिब अढाई महिनाअघि सब-कन्ट्रयाक्ट गरेको ग्राइन्ड डिजाइन कन्स्ट्रक्सनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख वीणादेवी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालगायतको उपस्थितिमा २६ फागुनदेखि महुरेबाट काम सुरु गरेको छ ।


भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभीका डाइरेक्टर दीपेन्द्रबहादुर शाहीले कालोपत्रेको बाँकी काम सुम्पिएपछि अगाडि बढाइएको ग्राइन्ड डिजाइन कन्स्ट्रक्सन प्रालिका डाइरेक्टर दिनेशकुमार पुडासैनीले बताए । ‘यो सडक कालोपत्रेको काम क्रोनिक र च्यालेन्जिङ छ,’ पुडासैनीले भने, ‘बाँकी काम १८ देखि २४ महिनाभित्र पूरा गर्ने लक्ष्य छ ।’ 


दिक्तेलबाट उदयपुरको गाईघाट हुँदै तराई पुग्ने छोटो दूरीको बाटोमा पर्ने महुरे-राजापानी (सिमपानी) खण्डको कालोपत्रेको काम गत दसैँअघिदेखि नै ठप्प छ ।


सडक कालोपत्रेको काममा ढिलासुस्ती गरेकामा भारत कन्स्ट्रक्सन/सिद्धि शाहीबाट करिब साढे ६ करोड रुपैयाँ बैंक ग्यारेन्टी तानिएको गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डीई) गोपाल खकुरेलले बताए । 

 

४१ करोड ५० लाख रुपैयाँको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । 

 

भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभीले २९ असार २०७७ मा सम्पन्न गर्ने सर्तमा ३० असार २०७३ मा महुरे-राजापानी (सिमपानी) सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । निर्माण व्यवसायीले भने महुरे-राजापानी (सिमपानी) सडक खण्डमा ५५ प्रतिशत भौतिक प्रगति भएको दाबी गरेको छ ।


भारत कस्न्ट्रक्सन/सिद्धि शाही जेभीले जिम्मा लिएको उदयपुरतर्फको खण्डमा पनि उस्तै ढिलासुस्ती देखिएको डीई खकुरेलले बताए । हाल कालोपत्रे भइसक्नुपर्ने सडकमा ठेकेदारको ढिलासुस्तीका कारण अझै हिउँदमा बुङबुङ धुलो र वर्षामा हिलाम्मे हुने गरेको छ ।

 

सम्झौता म्याद गुज्रिँदासमेत सडक कालोपत्रेको काम पूरा नहुँदा जिल्लाबासी असन्तुष्ट छन् । जिल्लामा हरेक नयाँ सिडिओ आउँदा राजनीतिक दलका नेताले समेत महुरे-फोक्सिङटार सडकलगायत विकास निर्माणमा भइरहेका ढिलासुस्ती अन्त्यका लागि ध्यानाकर्षण गराउने गरेका छन् । 


दिक्तेल र गाईघाटलाई जोड्ने छोटो मार्गका रूपमा रहेको सडक खण्ड कालोपत्रेको काम अत्यन्तै सुस्त छ । काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पटक-पटक आफ्नो साइड इन्चार्ज परिवर्तन गर्दै स्थानीयलाई छल्ने गरेको छ ।

 

प्रतिनिधिलाई फिल्डमा पठाएर मुख्य ठेकेदार सम्पर्कविहीन बनेर बस्ने गरेका थिए । सडक कालोपत्रेमा भइरहेको ढिलासुस्तीबारे जनप्रतिनिधि र दलका नेतासमेत चुपचाप बस्ने गरेको स्थानीयको गुनासो छ ।

 

कालोपत्रे गरेर चिल्ला हुनुपर्ने सडकमा हिलो र धुलोको कारणले यात्रा गर्नै सकस भइरहेको बुइपाका मिलन राईले बताए । महुरे-फोक्सिङटार सडक खण्डअन्तर्गत राजापानी (सिमपानीभन्ज्याङ) देखि फोक्सिङटार २७ किलोमिटर खण्डको काम भने देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले गरिरहेको छ ।

 

सो खण्डको काम पनि सन्तोषजनक छैन । सिमपानी-फोक्सिङटार सडक खण्डको हालसम्म करिब ५९ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ । ५५ करोड ८७ लाख रुपैयाँमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने सर्तमा ११ साउन २०७३ मा सो खण्डको सम्झौता गरिएको थियो । 


कालोपत्रेको गुणस्तरमाथि प्रश्नै-प्रश्न 

 

महुरे-फोक्सिङटार सडक कालोपत्रेको गुणस्तरको विषयमा समेत आवाज उठ्ने गरेको छ । महुरे-सिमपानी (राजापानी) खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले २३ पुस २०७६ मा करिब ३० मिटर ड्रेन भत्काइदिएका थिए । 


सडकको काममा ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तहीन रहेको र कार्यरत कामदारले वर्षौंसम्म पारिश्रमिक नपाएको विरोधमा स्थानीयले २० पुस २०७६ देखि महिना दिन र ८ फागुनदेखि २ दिन सडकको काम ठप्प बनाएका थिए । 


हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानीको माटोखानी (साविकको राजापानी वडा नम्बर २) मा सब-बेस ओछ्याउन पाखाबाट ल्याइएको गिटी तथा पाखाकै बालुवालाई ढलानको काममा प्रयोग गरिरहेको भन्दै स्थानीयले गत भदौमा आवाज उठाएका थिए ।


ड्रेन निर्माणका क्रममा पाखाबाट उठाएर ल्याइएको सब-बेस गिटीलाई प्रयोग गरिरहेको पाइएपछि राजापानीका वडाध्यक्ष सन्तोष खत्रीले गत १२ भदौमा रोक लगाएका थिए । सडकको गुणस्तरबारे जनताले पटक-पटक गुनासो गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले बताइन् ।