close

१०० पुग्न लागेकाहरू लौरो टेक्दै खोप केन्द्रमा

१०० पुग्न लागेकाहरू लौरो टेक्दै खोप केन्द्रमा

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको भीमाद नगरपालिका वडा नम्बर ९ अस्पाक्दीकी ९१ वर्षीया तिलीसरा आले शुक्रबार ५ बज्नै लाग्दा रिठाभन्ज्याङमा रहेको आधारभूत स्वास्थ्य केन्द्र पुगिन् । यहाँ रहेको कोरोनाको खोप केन्द्रमा उनलाई स्वास्थ्यकर्मीले खोप लगाइदिए । 

 

खोप लगाएपछि स्वास्थ्य केन्द्रसँगै रहेको वडा कार्यालयमा आधा घन्टा टेलिभिजन हेरेर बिताइन् । वडाले खबर गरेपछि ढुक्क भएर खोप लगाउन आएको उनले सुनाइन् । ‘सबैले लगाएको खोप लाउनलाई केको डर ?’ उनले प्रश्न गरिन् । 

 

शुक्लागण्डकीको वडा नम्बर ३ कवासेका ७२ वर्षीय कमलराज शर्मा पौडेलले दुलेगौँडा बजारस्थित खैरेनीटार स्वास्थ्य चौकी पुगेर खोप लगाए । पहिला ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भन्दा उनलाई शंक लागेको थियो रे ।

 

‘पहिला सरकारले ६५ वर्षमाथिकालाई खोप दिनेभन्दा केही खतरा भएर मरे पनि यिनै बूढाबूढी पहिला मरुन् भनेर होला कि भन्ने शंका थियो । पछि ठूल्ठूला मान्छेले लगाए भनेपछि ढुक्कसँग खोप लगाउन आएँ’, उनले भने । खोप लगाएपछि कोरोना भाग्छ भन्ने उनलाई लागेको छ ।


२३ फागुनदेखि दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान देशभर चलेको छ । सोहीअनुसार तनहुँमा पनि अभियान सुरु भएको हो । 

 

खोप लगाउन तोकिएको खोप केन्द्रसम्म उत्साहका साथ ज्येष्ठ नागरिक लौरीको सहारामा आएका । कतिपयले आफन्तलाई खोप लाउन डो¥याउँदै ल्याएको देखियो । ज्येष्ठ नागरिकलाई असहज नहोस् भनेर खोप केन्द्रमा पनि बसाइको व्यवस्था मिलाइएको छ ।

 

कतिपय स्थानमा खोप केन्द्र टाढा हुँदा ज्येष्ठ नागरिकले सास्ती भोग्नु परेको छ । ग्रामीण भेगमा नजिक स्वास्थ्य केन्द्र नहुँदा बुढेसकालमा घन्टौँको बाटो पैदल हिँडेर पुग्नुपर्ने बाध्यता छ ।


खोप लगाउन ज्येष्ठ नागरिकको सक्रिय सहभागिता रहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तव बताउँछन् । उनी भन्छन्, ‘बूढाबूढीले पनि सरकारले आफूहरूलाई प्राथमिकतामा दिएर खोप लगाएको भन्दै खुसी व्यक्त गरेका छन् ।’


तनहुँमा २३ देखि २७ फागुनसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा ६५ वर्षमाथिकालाई खोप लगाइसकिएको छ ।

 

यी स्थानीय तहमा ४६ केन्द्रबाट ९ हजार २ सय २७ जना ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँका कोल्डचेन असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीले जानकारी दिए । 


शुक्रबारदेखि तनहुँका बाँकी ५ स्थानीय तहमा पनि दोस्रो चरणको खोप अभियान चलेको छ । शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा शुक्रबारदेखि खोप लगाउन थालिएको हो । 


शुक्रबार २ हजार ३ सय १७ जनाले खोप लगाएको चौधरीले बताए । २ चैतसम्म यी स्थानीय तहमा ज्येष्ठ नागरिकलाई खोप लगाइनेछ । दोस्रो चरणमा जिल्लाभर १८ हजार हाराहारी ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य रहेको उनले बताए ।

 

खोप लगाउन जिल्लाका १० वटा स्थानीय तहमा ९४ वटा खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियान सञ्चालनका लागि २ सय ६६ स्वास्थ्यकर्मी र ४ सय २५ जना स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालयले बताएको थियो ।


सबै पालिकामा खोप अभियानका लागि चिकित्सकसहितको एईएफआई टिम परिचालन गरिएको छ । तनहुँमा पहिलो चरणमा ४ हजार ९ सय ६७ जनाले खोप लगाएका थिए । हालसम्म १६ हजार ५ सय ११ जनाले खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँको तथ्यांकमा उल्लेख छ ।