close

माछा पालेर एग्रो टुरिजम योजना बनाउँदै हलेसी तुवाचुङ

माछा पालेर एग्रो टुरिजम योजना बनाउँदै हलेसी तुवाचुङ

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एग्रो टुरिजमको विकासका लागि माछा फार्म सञ्चालन अवधारणा अघि सारेको छ । 

 

हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसी रहेको नगरपालिकाले एग्रो टुरिजमको विस्तारका लागि खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने फाँटमा माछा फार्म सञ्चालन गर्ने योजना बनाएको हो ।

 

हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारको  कुखुरेबेँसीमा माछा फार्म सञ्चालनका लागि मत्स्य विकास केन्द्र बालाजुको प्राविधिक सहयोगमा डिपिआर तयार पारिसकिएको नगरप्रमुख इवन राईले बताए ।

 

त्रि-धार्मिकस्थल हलेसी आएका आन्तरिक तथा बाह्य पर्यटकलाई दूधकोसीको किनारमा रहेको कुखुरेबेँसीमा पुर्‍याउने र उनीहरूको बसाइ १/२ दिन लम्ब्याउने लक्ष्यका साथ नगरपालिकाले फिस फार्मको अवधारणा अघि सारेको हो ।

 

एग्रो टुरिजमको विकासका लागि कुखुरेबेँसीमा फैलिएको करिब ९२ रोपनी जग्गाभित्र रेस्टुराँ, माछा पोखरी, स्विमिङ पुल, रिसोर्ट, बगैँचालगायत संरचना निर्माण गरिने डिपिआरमा उल्लेख छ ।

 

कुखुरेबेँसीमा माछापालनका लागि ठूल्ठूला ७ वटा पोखरी निर्माण गरिनेछन् । सो स्थानमा पुग्ने व्यक्तिले आफंै फिसिङ गर्दै ताजा माछा खान पाउने व्यवस्था गरिनेछ ।

 

करिब ६ करोड ८ लाख ७७ हजार ३ सय ३५ रुपैयाँमा आवश्यक संरचना निर्माण गरेपछि माछा फार्म भाडामा सञ्चालन गर्न दिइने नगरप्रमुख राईले बताए । सो स्थानमा फुटबल, भलिबललगायत खेलकुदसम्बन्धी गतिविधिका लागि पनि संरचना तयार पारिनेछ । 


कुखुरेबेँसीलाई दूधकोसी करिडोरको सबैभन्दा ठूलो फाँट मानिन्छ । नदीको किनारमा फैलिएको समथर फाँट भएकाले सो स्थानमा नयाँ वर्ष वा अन्य पर्वमा खोटाङ र ओखलढुंगातर्फका स्थानीय पिकनिक जाने, फुटबल खेल्ने गरेका छन् । 

 

यही ठाउँबाट जिल्लाका लागि अधिक मात्रामा बालुवा निकासी हुने गरेको छ । ओखलढुंगातर्फ दूधकोसीको किनारैकिनार सडक निर्माण भइसकेकाले कुखुरेबेँसीको माछा फार्मको सम्भावना बलियो देखिएको नगरप्रमुख राईले बताए । सो स्थानमा झोलुंगे पुल बन्न लागेकाले माछा फार्म योजना थप फलदायी हुने अपेक्षा गरिएको छ ।

 

फिस फार्मका लागि आवश्यक बजेट जुटाउन प्रदेश र संघीय सरकारसमक्ष माग गरिने नगरपालिकाले जनाएको छ । 


नगरपालिका कार्यालय दुर्छिमबाट करिब १५ किलोमिर टाढा रहेको कुखुरेबेँसीमा दुर्छिम-मंगलटार (सिजन मार्ग) पार गर्दै माछा फार्ममा पुग्न सकिन्छ । फिस फार्ममा पुग्ने र बस्नेलाई अर्गानिक खानेकुरा खुवाउने व्यवस्था मिलाइनेछ ।

 

‘माछा फार्ममा पुग्ने सेवाग्राहीलाई स्थानीय किसानले पालेका लोकल खसी, बोका र कुखुरा खुवाइनेछ । त्यहीकै किसानले उत्पादन गरेका तरकारी खुवाइनेछ । यसबाट स्थानीय कृषि सामग्रीले बजार पाउँछ ।

 

कृषिमा आकर्षण बढाउँछ । ठाउँको प्रवर्द्धनमा सहयोग पुग्छ,’ नगरप्रमुख राईले भने, ‘हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कुखुरेबेँसीमा बास बसाएर वा घुम्माएर पर्यटन क्षेत्रको विस्तार गर्ने हाम्रो लक्ष्य हो । यसबाट स्थानीयको आयआर्जनमा टेवा पुग्नुका साथै बसाइँ सर्ने र विदेश जाने दर न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा छ ।’ 

 

फिस फार्मका लागि खोलाको पानी उपयोग गरिनेछ । खोलाको पानी अपुग भए दूधकोसीकै पानी निकाल्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।