close

घुमिरहूँ लाग्ने घोडेपानी-पुनहिल क्षेत्र 

कालोपत्रे सडक, पदमार्ग, उज्यालोदेखि दृश्यावलोकन स्थल निर्माणसम्म

घुमिरहूँ लाग्ने घोडेपानी-पुनहिल क्षेत्र 

कालोपत्रे सडक, पदमार्ग, उज्यालोदेखि दृश्यावलोकन स्थल निर्माणसम्म

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिल क्षेत्रमा पिच सडक पुर्‍याउने, पदमार्गलाई चौबीसै घन्टा उज्यालो पार्नेदेखि दृश्यावलोकन स्थल निर्माण गर्नेलगायतका पूर्वाधार निर्माणले तीव्रता पाएको छ । 

 

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको सुविधाका लागि ३ वटै तहका सरकार र समुदायले धमाधम पूर्वाधार विस्तार गरेका हुन् ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७५ मा घोडेपानी-पुनहिललाई १ सय वटा स्थापित पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको थियो । पर्यटकीय गन्तव्यमा सूचीकृत भएसँगै निजी क्षेत्र, समुदाय र सरकारी तवरबाट करोडौँ मूल्यका पूर्वाधार निर्माण भएका हुन् । 

 

घोडेपानीका व्यवसायीले सहरबजारमा जस्तै पक्की घर र होटललाई सुविधायुक्त बनाउने प्रतिस्पर्धा चलेको छ । ५ वर्षअघि घोडेपानीका होटलको क्षमता दैनिक ५ सय जनाको हाराहारी थियो । 

 

अहिले होटलको क्षमता बढाएर १ हजार जनाभन्दा बढी पुर्‍याएको होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष मीना पुन बताउँछिन् । 

 

‘पाहुनाले बास नपाएर डाइनिङ हल र भान्छाकोठामा सुत्नुपर्ने समस्या छैन’, उनले भनिन्, ‘तातो पानी, एट्याच बाथरुम भएका कोठा र वाईफाईको सुविधा छ ।’ 

 

समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा अवस्थित घोडेपानीमा २५ वटा सुविधासम्पन्न होटल छन् । 

 

यसअघि ढुंगा, माटो र काठले बनेका घरमा होटल सञ्चालन गरिएको थियो । अधिकांश व्यवसायीले पक्की घर बनाएका छन् । होटलको सुविधा र क्षमता बढाउन न्यूनतम २ करोडदेखि ७ करोड रुपैयाँसम्म लगानी गरेको व्यवसायीले बताएका छन् । 

 

२०७६ असारमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँ बजेटबाट मार्ग खोलिएको चित्रे हँुदै घोडेपानी जोड्ने ४ किलोमिटर सडक थप २५ लाख रुपैयाँ खर्चेर ग्राभेल गरिएको छ ।

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्रे गर्न २७ करोड रुपैयाँको आयोजना सञ्चालन गरेको छ । 

 

घोडेपानीका व्यवसायी रनबहादुर पुनले सडक सुविधासँगै सवारीसाधन चढेर आउने आन्तरिक पर्यटक बढेको बताए । ‘निर्माण र खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी सहज र खर्च सस्तिएको छ’, उनले भने, ‘पोखरेबगर–चित्रे सडक कालोपत्रे र कास्कीसँग सडक जोडिएपछि झनै सजिलो हुन्छ ।’

 

घोडेपानीदेखि कास्कीको उल्लेरी जोड्ने सडक निर्माण गर्न अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष डमबहादुर पुनले पालिका र प्रदेश सरकारका कार्यालयमार्फत घोडेपानी क्षेत्रमा चालू आर्थिक वर्षमा २ करोड ५० लाख रुपैयाँ बजेटका योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । 

 

‘कोरोनाका कारण यसपालि पर्यटक नआएकाले फुर्सदमा भएका यहाँका बासिन्दा अहिले भौतिक पूर्वाधार निर्माणमा परिचालन भएका छन्’, अध्यक्ष पुनले भने, ‘पर्यटक आउँदा उपभोक्ता समितिमा बस्ने मान्छे पाउन मुस्किल हुन्थ्यो । फुर्सदको समयलाई विकासमा लगाएका छन् ।’ 

 

घोडेपानी र त्यहाँदेखि दृश्यावलोकन स्थल पुनहिल जाने बाटोमा प्रदेश सरकारको २५ लाख रुपैयाँ सहयोगमा २३ वटा सोलार बत्ती जडान गरेर रातको समय उज्यालो बनाइएको छ । सोलार जडानपछि घोडेपानीमा बास बसेर उज्यालो नहँुदै पुनहिल जाने पर्यटकलाई सहज भएको टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजाले बताए । 

 

पानी र हिउँ परेको अवस्थामा सुरक्षित रूपमा बसेर दृश्यावलोकन गर्ने सुविधाका लागि पुनहिल परिसरमा २७ लाख ५० हजार रुपैयाँ खर्चेर ३ कोठे आश्रयस्थलको पक्की भवन निर्माण भएको छ । यो योजनाका लागि पर्यटन विभागले पालिकामार्फत बजेट पठाएको थियो । 

 

पुनहिलको नजिकै पर्ने फूलबारीमा प्रदेश सरकारले १० लाख रुपैयाँ खर्चेर गुराँस उद्यान बनाउन लागेको छ । २० रोपनी जमिनमा बनाउन लागिएको उद्यानको तारबार गर्नुका साथै शौचालय निर्माण गर्ने योजना छ । 

 

नेपालमा पाइने ३१ प्रजातिका गुराँस एकै ठाउँ अवलोकन गर्न सकिनेछ । डिभिजन वन कार्यालय म्याग्दीले २० लाख रुपैयाँको लागतमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने साइकल एवं घोडा ट्रेल, चरा अवलोकन स्थल र घोडा बाँध्ने तबेला बनाउन लागेको कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले बताए । 

 

योजनाको डिजाइन र लागत अनुमान तयार पारी उपभोक्ता समितिसँग सम्झौता गरिसकेको उनले जानकारी दिए । ३ किलोमिटर पदमार्ग बनाउन लागिएको हो । 

 

यसैगरी प्यारीबाराही तालको वरपर ३८० मिटर लामो ढुंगा बिछ्याएको पैदल मार्ग बनाउन घराम्दी सामुदायिक वन उपभोक्ता समूहलाई ३ लाख ८४ हजार रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको छ । 

 

अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको ८ लाख रुपैयाँ बजेटबाट घोडेपानी खानेपानी आयोजनाको क्षमता विस्तारको काम सुरु भएको छ । स्थानीयको थप ८ लाख रुपैयाँ जुटाएर ३० हजार लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण र मुहानबाट थप पानी ल्याउन लागिएको उपभोक्ता समितिका अध्यक्ष टेकसर बुद्धुजाले बताए । 

 

२० वर्षअघि भारतीय दूतावास र रेडक्रस सोसाइटीको सहयोगमा निर्माण भएको घोडेपानी खानेपानी आयोजनाको ट्यांकी र पाइप सानो भएकाले क्षमताले माग धान्न नसक्दा समस्या भएको छ । गाउँपालिकाबाट ८ लाख रुपैयाँ विनियोजन भएको मगर संग्रहालय सञ्चालन गरेको घोडेपानी आमा समूहको भवन निर्माण जारी छ । 

 

समूहको कोषमा रहेको थप १० लाख रुपैयाँ लगानी गरेर पक्की भवन निर्माणलाई पूर्णता दिइने पदाधिकारीले बताए । घोडेपानीमा ढल व्यवस्थापनका लागि नाली बनाउन गाउँपालिकाले थप ६ लाख रुपैयाँ विनियोजन गरेको छ । घोडेपानी गाउँभित्र विद्युत्को तारलाई व्यवस्थित बनाउन केबुल तार राख्न थालिएको छ । 

 

गाउँपालिकाले विनियोजन गरेको २० लाख रुपैयाँ बजेटबाट पुनहिल हुँदै मोहरे, घोडेपानीदेखि चित्रे, खिवाङ र घान्दु्रकतर्फ जाने करिब २ किलोमिटर पदमार्ग निर्माण भएको छ । घोडेपानी-प्यारीबाराही पदमार्ग निर्माण समितिका अध्यक्ष सुशील पुन घोडेपानी भित्रने पाहुनाको बसाइ लम्ब्याउन नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी त्यहाँ पूर्वाधार निर्माणका साथै प्रचार-प्रसारमा जुटेको बताउँछन् । 

 

घोडेपानीलाई केन्द्रित गरेर फूलबारी, मोहरेडाँडा, प्यारीबाराही ताललगायत सहायक गन्तव्यको पहिचान गरिएको छ । पहाडको उच्च स्थानमा रहेको घोडेपानी र पुनहिल सूर्योदय, हिमशृंखला र गुराँसको जंगल अवलोकनका लागि महत्त्वपूर्ण गन्तव्य हो ।

 

अन्नपूर्ण संरक्षण आयोजनाअन्तर्गत पर्ने घोडेपानी-पुनहिल क्षेत्र अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यमा पर्छ । 

 

पोखरादेखि नजिक पर्ने भएकाले यो क्षेत्र पर्यटकको रोजाइमा परेको छ । कोरोनाका कारण १ वर्षदेखि पर्यटक आगमन नहुँदा यो क्षेत्र सुनसान छ । बन्दाबन्दी हटेको र कोरोनाको जोखिम घटे पनि पर्यटक आगमन अपेक्षाकृत हुन सकेको छैन ।