close

‘काठमाडौं चिनौँ’ पुस्तक पठनपाठन गराउँदै महानगर

‘काठमाडौं चिनौँ’ पुस्तक पठनपाठन गराउँदै महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौँ) पठनपाठन गराउने भएको छ । मातृभाषा, कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सो पुस्तक पठनपाठन गराउन लागिएको हो । 

 

शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार आधारभूत तहमा स्थानीय विषयका रूपमा मातृ भाषामा पठनपाठन गर्न सकिने व्यवस्था छ । त्यसैअनुसार कक्षा ८ सम्म पाठ्यक्रम निर्माण तथा कक्षा ४ सम्मको पाठ्यपुस्तक प्रकाशित गरेको महानगरपालिकाले जनाएको छ । 

 

‘यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि रैथाने शब्द अरू भाषामा बुझाउन सकिँदैन । ती कुरालाई बुझ्ने मात्र होइन, विद्यार्थीले त्यसलाई आत्मसातसमेत गर्न सकून् भन्ने उद्देश्यले पाठ्यक्रम तयार पारेका हौँ’, महानगरप्रमुख विद्यासुन्दर शाक्यले भने ।

 

सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने हो भने संस्थागत विद्यालय स्वतः कमजोर भएर जान्छन् ।

 

आधारभत तह कक्षा १ देखि कक्षा ८ सम्म हुने भए पनि कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक विमोचन गरिएको छ । काठमाडौं महानगरपालिकाले आफू मातहतका सम्पूर्ण सामुदायिक र निजी विद्यालयमा यसै वर्षदेखि उक्त पाठ्यपुस्तक पठनपाठन गर्ने निर्णय गरिसकेको छ ।

 

नेपालको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफंैले एक विषय अध्ययन–अध्यापन गराउन सकिने व्यवस्था छ ।

 

काठमाडौं महानगरपालिकाले सोही व्यवस्थाअन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो । 

 

काठमाडौं महानगरपालिका क्षेत्रभित्र मूलतः नेपाल भाषाभाषीको बाहुल्य रहेकाले महानगरले नेपाल भाषाको माध्यमबाट उक्त पाठ्यक्रम पठनपाठन गर्ने नीति लिएको हो । काठमाडौं महानगरपालिका क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता विषयबारे परिचित गराउने उद्देश्यले उक्त विषयको पठन-पाठन सुरु गरेको महानगरले जानकारी दिएको छ । 


बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले १ देखि ३ सम्म १०० पूर्णांकमा १०० नै अभ्यासगत पठन-पाठन गरिनेछ । कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन-पाठन हुनेछ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन-पाठन हुने व्यवस्था गरिएको छ ।

 

काठमाडौं महानगरको सातौँ नगरसभाले स्थानीय पाठ्यक्रमअन्तर्गत स्थानीय महत्त्वका विषयबारे महानगरबासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरेको थियो ।