close

सडक विस्तारका लागि धरानका १ हजार घर भत्किँदै

सडक विस्तारका लागि धरानका १ हजार घर भत्किँदै

Trulli
ADVERTISEMENT

सुनसरी/इटहरी- मोरङको रानी-विराटनगर-इटहरी-धरान ६ लेनको व्यापारिक सडक विस्तारअन्तर्गत धरानको मुख्य हाइवेका करिब १ हजार घर भत्किने भएका छन् ।

 

६ लेन सडक विस्तारका लागि धरानको मुख्य हाइवे हुँदै जिरो प्वाइन्टसम्म १ हजार घर भत्किन सक्ने ६ लेन सडक विस्तार आयोजना इटहरीले जनाएको हो ।

 

धरानको तीनकुनेबाट ब्रिटिस क्याम्पसम्म ५ किलोमिटर हाइवेलाई ६ लेन बनाउँदा १ हजार घरमा आधाउधि क्षति पुग्ने ६ लेन सडक आयोजना प्रमुख बद्रीप्रसाद शर्माले बताए ।

 

‘हाइवेमा पर्ने घर भत्काएपछि घरधनीलाई क्षतिपूर्ति दिइनेछ । तर, जग्गाको क्षतिपूर्ती भने पाउँदैनन्’, प्रमुख शर्माले भने ।


धरान उपमहागरले भने हाइवे सडक विस्तारमा ध्यान दिएको छैन । उपमहानगरले ७२ फुट मात्र क्लियर गर्न चाहेको छ । 

 

धरानको मुख्य बजार भत्कने भन्दै उपमहानगरले चासो नदिँदा ६ लेन सडक विस्तारको काममा ढिलाइ भइरहेको उपमहानगरका एक कर्मचारीले बताए ।

 

उनले भने, ‘मेयर साबले ६ लेन सडक निमार्णमा चासो देखाउनुभएको छैन । उपमहानगरले हाइवेका घर नभत्काई सेउती करिडोर र सर्दु करिडोर क्षेत्रबाट लौजाने प्रस्ताव ल्याएको थियो । तर, सडकले हाइवे छाडेर अन्यत्रबाट सडक लौजान नसक्ने बताउँदै आएको छ ।’

 

सडक विस्तार आयोजनाका प्रमुख शर्माले अन्य करिडोरबाट जाँदा ५ किलोमिटर बाटो बनाउनुपर्ने ठाउँमा १० किलोमिटर बनाउनुपर्ने बताए । सडक घुमाएरै लौजाँदा पनि घरमा क्षति पुग्ने उनको भनाइ छ ।

 

‘उपमहानगरले निर्णय गरेर सेउती करिडोरबाट सडक लौजान भनेको छ । आयोजनाले घरको क्षतिपूर्ति दिन सक्दैन’, प्रमुख शर्माले भने ।

 

सुन्दर सहर धरानमा ६ लेनको सडक बनाउनैपर्ने आयोजना प्रमुख शर्माको तर्क छ । बस्ती भएको क्षेत्रमा ठूलो बाटो बनाउनु आवश्यक रहेको उनले बताए ।

 

पार्किङसँगै अन्य यात्रुुका लागिसमेत धरानको मुख्य बजारमा ६ लेन सडक नै बनाइने उनले जानकारी दिए ।

 

सडक विस्तार सुरु भएको ६ वर्ष भए पनि पूर्णता पाउन सकेको छैन । धरान क्षेत्रमा सडक विस्तारको कुरा नमिल्दा ठेक्का लाग्न सकेको छैन । सडक विस्तारको काम आर्थिक वर्ष २०६९/७० देखि सुरु भएको हो ।

 

शर्माका अनुसार रानीदेखि धरानसम्म ४९ किलोमिटर लामो सो सडकमध्ये पटक-पटक गरी ३४ किलोमिटरको ठेक्का लागिसकेको छ । जम्मा १० अर्ब रुपैयाँको यो योजनामा ३४ किलोमिटर बाटो ७ अर्ब रुपैयाँमा ठेक्का लागेको हो ।


ठेक्का लागेजति सडकलाई १४ टुक्रा बनाएर विभिन्न निर्माण कम्पनीले काम गरिरहेका छन् ।

 

इटहरी-धरान सडक विस्तारका लागि रुख काटेर विस्तारको काम भइरहेको छ । चारकोशे जंगल क्षेत्रमा पर्ने सडकका दुवै किनाराका रुख काटेर सडक विस्तार भइरहेको आयोजनाले जनाएको छ ।

 

हाइवेमा पर्ने करिब १ हजार रुख कटान गरिसकिएको छ । तरहरादेखि धरानसम्म चारकोशे झाडीको ९ किलोमिटर सडकको काम सुरु भएको हो ।

 

तरहरादेखि धरानसम्म ४ लेनको मात्र हुने आयोजनाले जनाएको छ । सडकको दायाँबायाँ ११.५ र ११.५ मिटर चौडाइमा सडक विस्तार हुनेछ । 

 

आयोजना प्रमुख शर्माका अनुसार जंगलमा ड्रेन र फुटपाथ बनाउन नपर्ने हुँदा सोही मापदण्डमा सडक विस्तार हुने भएको हो ।