close

मनकारी पालिका अध्यक्ष: सरकारी सुविधा विपन्न र गाउँटोलका नाममा

मनकारी पालिका अध्यक्ष: सरकारी सुविधा विपन्न र गाउँटोलका नाममा

Trulli
ADVERTISEMENT

म्याग्दी- स्विमिङ र ड्राइभिङमा अन्तर्राष्ट्रिय पदक विजेता म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन दुःखका सारथि बनेका छन् । 

 

भारतीय सेनाको निवृत्त क्याप्टेन पुनले जनप्रतिनिधिको रूपमा म्याग्दीको उत्तरी क्षेत्रको विकासको अगुवाइ मात्र गरेका छैनन्, आफूले पाउने सेवा-सुविधालाई पनि जनताको अप्ठेरो फुकाउन परिचालन गरेका छन् ।

 

उनले जनप्रतिनिधिको हैसियतमा सुविधाबापत पाएको १८ लाख रुपैयाँभन्दा बढी रकमलाई सामाजिक काममा खर्चिएका छन् । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिक स्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन अध्यक्ष पुनले आफूले पाएको सुविधा खर्चिएका हुन् । 

 

सेवा-सुविधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करिब ४ वर्षको अवधिमा १८ लाख २ हजार रुपैयाँ सामाजिक क्षेत्रमा परिचालन गरेको अध्यक्ष पुनले बताए । ‘भारतीय सेनाको पेन्सनले मेरो खर्च पुग्छ । परिवारका सदस्यहरू आफैं आत्मनिर्भर छन्’, उनले भने, ‘जनतासँग गरेको प्रतिबद्धताअनुसार सेवा-सुविधालाई सामाजिक क्षेत्रमा लगाएको हो ।’ 

 

खातामा ३ लाख रुपैयाँ बाँकी छ । गण्डकी प्रदेश सरकारले गाउँपालिका अध्यक्षलाई विभिन्न शीर्षकमा मासिक ४८ हजार रुपैयाँ सुविधा तोकेको छ ।

 

पोखराको सुन्दरीडाँडास्थित शिवमन्दिरमा नियमित पूजा सञ्चालनका लागि ५ लाखको अक्षयकोष स्थापना गरेर एउटा पुजारीलाई तलबको व्यवस्था गरेका पुनले वडा नम्बर ४ गाडपारको नारच्याङ आधारभूत विद्यालयमा १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । 

 

परिवारको कमजोर आर्थिक अवस्थाका कारण इञ्जिनियरिङको प्रवेश परीक्षा उत्तीर्ण भए पनि भर्ना हुन नसकेका पाउद्वारका काजल रोकालाई १ लाख रुपैयाँ सहयोग गरेर गण्डकी बोर्डिङ स्कुलमा भर्ना गरिदिएका थिए । करेन्ट लागेर दुवै हात गुमाएकी पाउद्वारकी कृशिखा विकको उपचारका लागि अस्पताल पुग्न बाटो खर्चस्वरूप ३० हजार रुपैयाँ उपलब्ध गराए । 

 

गाउँपालिकाका विद्यालयमा टेलिटिचिङ सुरु गर्न ५० हजार सहयोग गरेर अभियान सुरु गरेका पुनले ज्ञानप्रकाश माविलाई ५० हजार, मुक्तिमार्ग माविलाई ५० हजार, शिख माविलाई १ लाख, काफलडाँडाको करबाकेली संरक्षण समितिलाई १ लाख १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

 

अध्यक्ष पुनले पाउद्वार उपल्लोगाउँको आमा समूहको भवन निर्माणमा २ लाख ५० हजार, पाउद्वार युवा क्लबलाई मन्दिर बनाउन ५० हजार, फलातेमा खेलमैदान बनाउन ५० हजार, किन्दुको आमा समूहलाई भाँडा खरिद गर्न ४२ हजार रुपैयाँ सहयोग गरेका छन् । 

 

पुनको सहयोग यत्तिमा मात्र सीमित छैन । घराप आमा समूहको खानेपानी योजनालाई १ लाख १० हजार रुपैयाँ पाइप खरिद गरेर उपलब्ध गराएका पुनले बजेट अभावमा अधुरो बनेको घारको खानेपानी आयोजनालाई पूर्णता दिन १ लाख सहयोगको घोषणा गरेका छन् । दोसल्लेका धनबहादुर पुनको घर पुनर्निर्माणका लागि जस्तापाता किन्न ३५ हजार रुपैयाँ सहयोग गरेका छन् । 

 

कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई ५० हजार र हिस्तान स्वास्थ्य चौकीलाई ७५ हजार रुपैयाँ सहयोग गरेका छन् । 

 

विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थी र खेलाडीलाई पुरस्कृत गरेका पुनले जनप्रतिनिधि नभएको अवस्थामा पनि सामाजिक क्षेत्रमा सहयोग र समय दिएर योगदान गरेका थिए । पहिरो, चट्याङ, आगलागीपीडितका साथै आर्थिक अभावका कारण उपचारका लागि अस्पताल पुग्न नसक्ने विपन्नका लागि पनि आफ्नो पारिश्रमिकबाटै सहयोग गर्छन् । 

 

प्राकृतिक प्रकोपको अवस्थामा जोखिम मोलेर आफैं उद्धार र राहतमा अगुवाइ गर्छन् । 

 

‘सीप र कला सिकाउन नपाउँदा रुन मन लाग्छ’

 

२०२१ मा भारतीय सेनामा भर्ती भएर २१ वर्ष ९ महिना काम गरेर फर्किएका पुन पर्यटकीय स्थल घोडेपानीको सन्नी होटलका सञ्चालक हुन् । भारतीय सेनामा रहँदा स्विमिङ र ड्राइभिङमा १० वर्ष लगातार नेसनल च्याम्पियन बनेका पुनले नवौँ र दसौँ एसियन, १९७९ को कमन वेल्थ गेम, १९८२ को वल्र्ड च्यापियनसिपमा सहभागी भएर पदक दिलाएका थिए ।

 

भारतमा खेल प्रशिक्षक भएर काम गरेका उनले नेपालको राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएर पदक जितेका थिए । होटलका कोठालाई समेत अन्तर्राष्ट्रिय खेलाडीको नामबाट नामकरण गरेर व्यवसायमा नयाँ शैली अपनाएका पुनको अगुवाइमा घोडेपानी र पुनहिल क्षेत्रको पर्यटन विकासमा धेरै महत्त्वपूर्ण काम भएका छन् ।

 

जनप्रतिनिधि बनेपछि श्रीमती र छोरालाई होटलको जिम्मा लगाएका पुन परिस्थितिले राजनीतिमा आउनुपरे पनि आफ्नो सीप, अनुभव र क्षमतालाई नेपालको खेल क्षेत्रमा उपयोग गर्न नसकेकामा दुखी सुनिन्छन् ।

 

‘जनताको सेवा गराैँ भनेर राजनीतिमा हाम फालेर गाउँपालिकाको अध्यक्ष बनेँ । राम्रो गराैँ भनेर लागेको छु’, पुनले भने, ‘तर मेरो मूल्य, गोल्ड मेडल र पदक सम्झिँदा, कला सिकाउन नपाउँदा रुन मन लाग्छ ।’

 

उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । उनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग मितेरी साइनो गाँसेका छन् ।