close

दिक्तेलकाे वडा कार्यालय भवन उद्घाटन 

दिक्तेलकाे वडा कार्यालय भवन उद्घाटन 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १५ विजयखर्क वडा कार्यालयको नयाँ भवन निर्माण गरिएको छ । 

 

१५ वडा रहेको नगरपालिकाभित्रका ११ वडामा एकै डिजाइनका भवन बनाउने क्रममा विजयखर्कको नयाँ भवन निर्माण गरिएको हो ।

 

नगरपालिकाको ७० लाख रुपैयाँको लागतमा सञ्जीव निर्माण सेवाले निर्माण गरेको वडा कार्यालय सोमबार नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले उद्घाटन गरे ।

 

निर्माण कम्पनीका प्रतिनिधि लालबहादुर विश्वकर्माले वडाध्यक्ष वीरेन्द्रप्रसाद ढकाललाई भवनको चाँबी हस्तान्तरण गरे । करिब १ सय जना अट्ने सभाहल, वडाध्यक्ष, वडा सचिव र वडा कार्यसमिति सदस्य बस्ने ४ कोठे भवन निर्माणपछि सेवा प्रवाह सहज भएको छ । 

 

स्थानीय निर्वाचनमार्फत नगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिले बनाएको ५ वर्षे आवधिक योजनामा उल्लेख भएको लक्ष्यअनुसार हरेक वडाको आफ्नै पक्की भवन निर्माण अघि बढाइएको हो ।

 

१५ वडामध्ये दिक्तेल रुपाकोट मझुवागढी वडा नम्बर ३ बाम्राङ, वडा नम्बर ५ लफ्याङ, वडा नम्बर ६ नेर्पा र वडा नम्बर १४ बुइपामा भने पहिल्यै सुविधासम्पन्न भवन सञ्चालनमा आइसकेको अवस्थामा बाँकी ११ वडामा एकै डिजाइनका भवन निर्माण अघि बढाइएको थियो ।

 

११ वडामध्ये यसअघि वडा नम्बर १३ नुनथला र वडा नम्बर १२ जालपाको वडा कार्यालय भवन उद्घाटन भइसकेको छ । नगरपालिकाका बाँकी ८ वडामा पनि  भवन निर्माण धमाधम भइरहेको नगरप्रमुख रिजालले जानकारी दिए । चैतभित्र बाँकी वडामा वडा कार्यालय भवन निर्माण पूरा हुने उनको भनाइ छ । 

 

व्यवस्थित कार्यालय नभएका वडामा भवन निर्माणका लागि नगरपालिकाले प्रतिवडा ६५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो । तर, कतिपय भवन सोभन्दा कम बजेटमा निर्माण भइरहेका छन् । 

 

विजयखर्कमा वडा कार्यालयसँगै स्वास्थ्य चौकी, चम्पावति मावि र महिला समूहको भवन उद्घाटन गरिएकोे छ । नगरपालिकाको १ करोड ७० लाख रुपैयाँ लागतमा पुष्पाञ्जली कन्स्ट्रक्सन प्रालि काठमाडौंले स्वास्थ्य चौकी भवन निर्माण गरेको हो ।

 

चम्पावति माविको भवन भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ७२ लाख र नगरपालिकाको २८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । ५ लाख रुपैयाँमा स्थानीय भैरवेश्वर महिला जागरण मञ्चको भवन निर्माण गरिएको छ ।

 

नवनिर्मित विद्यालय भवनमा कम्प्युटर एवं साइन्स ल्याब स्थापना गरिएको छ । वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयलगायतको भवन निर्माणपछि सेवा प्रवाह सहज भएको स्थानीय शारदाप्रसाद पोखरेलले बताए । 

 

४ वटा भवन उद्घाटनकै अवसरमा विजयखर्कका विद्यार्थीलाई दिवा खाजा तथा टिफिन क्यारी एवं छात्राका लागि स्यानिटरी प्याड वितरण सुरु गरिएको छ ।