close

सहयोग लिएर किरियापुत्रीको घरघरमै पुग्छन् शुक्लागण्डकीका जनप्रतिनिधि

सहयोग लिएर किरियापुत्रीको घरघरमै पुग्छन् शुक्लागण्डकीका जनप्रतिनिधि

Trulli
ADVERTISEMENT

तनहुँ - घरआँगनको सरकारले विकास निर्माणमा अनियमितता गर्छन् भन्ने जनगुनासो सुनिँदै आएको छ । तर, तनहुँको शुक्लगण्डकी नगरपालिका- १२ भने विपन्न र आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई सहयोग गरेर प्रशंसित भएको छ ।


जिल्लाको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकका मीनबहादुर भुजेल गत २६ भदौदेखि बेपत्ता थिए । ३० वर्षीय भुजेल गत आइतबार पोखरा महानगरपालिका–३३ चवादीस्थित धानखेतमा मृत अवस्थामा फेला परे  ।


अरुको घरमा काम गर्दै जीवन निर्वाह गर्दै आएका मीनबहादुरको मृत्युपछि उनका दाजु कुलबहादुरले काजकिरिया आफन्त र छरछिमेकको आर्थिक सहयोगमा हुँदै छ । १३ दिने मृत्यु संस्कार उम्काउन विपन्न परिवारका भुजेललाई धौधौ भएपछि वडा कार्यालयले राहतमा खाद्य सामग्री उपलब्ध गराएको छ ।


चामल, आँटा, खानेतेल, चिनी, चियापत्ती, नुनलगायतका खाद्यवस्तु वडा कार्यालयले सहयोग गरेको हो ।  वडा कार्यालयले मृत्यु संस्कारमा सघाएको यो पहिलो पटक भने होइन ।  वडाको बजेटमा ‘विपन्नलाई राहत कार्यक्रम’ सञ्चालन गर्न ३ लाख  बजेट नै छुट्याएर सघाउँदै आएको छ ।  


विपन्न परिवारका सदस्यको मृत्यु भएको बखत शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष मनराज गुरुङसँगै अन्य जनप्रतिनिधि राहत लिएर पुग्ने गरेका छन् । 


विपन्न परिवारलाई किरिया खर्चस्वरुप ५ हजार रुपैयाँसम्मको खाद्यान्न सामग्री दिने गरेको गुरुङले बताए । ‘मृत्यु संस्कारअनुसार आवश्यक सामग्री उपलब्ध गराउँछौं’, उनले भने, ‘विपन्न परिवारलाई सघाउन कार्यक्रमको अवधारणा ल्याएका छौं । जनताको दुःखमा जनप्रतिनिधि र स्थानीय सरकार सँगै हुनुपर्छ ।’


कार्यक्रममार्फत विपन्न ५ परिवारलाई किरिया खर्चमा सघाइसकेको गुरुङ सुनाउँछन् । कार्यक्रमबाट विपन्न परिवारलाई घर निर्माणमा पनि वडाले सघाउँदै आएको छ । सुरक्षित बसोबासका लागि घर निर्माण गर्दा आवश्यक जस्तापाता दिने वडाध्यक्ष गुरुङले बताए ।