close

राष्ट्रिय परिचयपत्र वितरणका लागि ३३ हजारको विवरण दर्ता 

राष्ट्रिय परिचयपत्र वितरणका लागि ३३ हजारको विवरण दर्ता 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङमा राष्ट्रिय परिचयपत्र वितरणका लागि हालसम्म ३३ हजार बढीको विवरण दर्ता भएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि हालसम्म जिल्लामा नेपाली नागरिकता प्राप्त गरेका ३३ हजार ७५० जनाको विवरण संकलन गरिसकिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए । 

 

राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ जिल्ला प्रशासनको राष्ट्रिय परिचयपत्र वितरण दर्ता स्टेसनबाट गत १ साउनदेखि तथा विभिन्न स्थानीय तहमा स्थापना गरिएको अस्थायी स्टेसनबाट गत १५ माघदेखि विवरण संकलन धमाधम भइरहेको छ । 

 

राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी कार्यविधि, २०७५ बमोजिम स्थानीय तहमा सञ्चालन गरिएको दर्ता स्टेसनबाट हालसम्म २९ हजार ५ सय ३० जनाको विवरण दर्ता गरिसकिएको छ ।

 

यस्तै, जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र वितरण दर्ता (स्टेसन) बाट हालसम्म ४ हजार २ सय २० जनाको विवरण संकलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत १५ माघदेखि ५ फागुनसम्म रावाबेँसी गाउँपालिकामा सञ्चालन गरिएको स्टेसनबाट ५ हजार ५८ जनाको विवरण संकलन गरिएको छ । 

 

यस्तै, १९ माघदेखि १९ फागुनसम्म हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालन गरिएको स्टेसनबाट १० हजार ७ सय २० जना र गत ९ देखि २५ फागुनसम्म ए‍ेासेलुखर्कमा सञ्चालन गरिएको स्टेसनबाट ६ हजार ४ सय ३८ जनाको विवरण दर्ता गरिएको छ । 

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २० फागुनदेखि र केपिलासगढीमा २९ फागुनदेखि राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण दर्ताको काम भइरहेको छ । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ हजार ८ सय ४७ जना र केपिलासगढीका ४ सय ६७ जनाको विवरण दर्ता भइसकेको छ । 

 

यसपछि दिप्रुङ चुइचुम्मा र साकेला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण दर्ता स्टेसन सञ्चालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । क्रमशः अन्य स्थानीय तहमा विवरण दर्ता स्टेसन सञ्चालन हुनेछ ।

 

विवरण दर्तापछि १६ वर्ष उमेर पुगेका र नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नेपाल सरकारको तयारी छ । राष्ट्रिय परिचयपत्र नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त र बहुउपयोगी प्रमाणपत्र हो ।