close

खोक्मामा बन्यो खेल मैदान: वडा कार्यालयको फुटबल 

खोक्मामा बन्यो खेल मैदान: वडा कार्यालयको फुटबल 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर ३ बाँसपानीस्थित खोक्मामा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि बाक्सिला (ए) ले चुमेको छ । वडा कार्यालय बाँसपानीले खोक्मामा निर्माण गरेको खेल मैदानमा आयोजना गरेको फाइनल खेलमा बाक्सिला (बी) लाई हराउँदै बाक्सिला (ए) ले उपाधि चुमेको हो । 

 

हारसँगै बाक्सिला (बी) ले दोस्रो स्थान प्राप्त गरेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा बाँसपानी (ए) ले तेस्रो स्थान प्राप्त गरेको स्थानीय खोकलुङ युनाइटेड क्लबका अध्यक्ष प्रतापसिं राईले जानकारी दिए । 

 

प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त टिमलाई क्रमशः नगद ४० हजार, ३० हजार र २० हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरियो । विजेतालाई गाउँपालिका अध्यक्ष कृष्णकुमार राई, जसपा गाउँपालिका अध्यक्ष गुरुराज राई, राष्ट्रिय युवा संघ नेपाल खोटाङका संयोजक पवन श्रेष्ठ, केपिलासगढीको वडा नम्बर ४ का वडाध्यक्ष गणेश अधिकारीलगायतले पुरस्कार हस्तान्तरण गरे ।

 

कार्यक्रम बाँसपानीका वडाध्यक्ष खगेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । फुटबलको प्रवर्द्धनका लागि वडा कार्यालयले १ चैतदेखि ३ दिने वडास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

 

प्रदेशसभा सांसद राजन राईको निर्वाचन क्षेत्र विकास कोषबाट विनियोजन गरिएको १० लाख रुपैयाँमा खोक्मामा खेलमैदान निर्माण गरेलगत्तै फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । 

 

स्थानीय महन राई, विम्बा राई, जसबहादुर राई, स्व. कर्मध्वज राई र क्याप्टेन रामबहादुर राईले जग्गा दिएपछि खोक्माको कालिका प्राविमा खोक्मा खेल मैदान निर्माण गरिएको हो ।

 

खेल मैदान १ फागुनमा गाउँपालिका अध्यक्ष राईले उद्घाटन गरेका थिए । करिब ६० मिटर लम्बाइ र ४० मिटर चौडाइको खेल मैदान निर्माण गरिएको छ ।

 

खेल मैदान निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गादातालाई फुटबल प्रतियोगिता समापन अवरमा सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।