close

दोवाका घरघरमै खानेपानीका धारा 

दोवाका घरघरमै खानेपानीका धारा 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ दोवामा एक घर एक धारासहितको खानेपानी आयोजना सञ्चालन भएको छ । घरघरमै धारा जोडेर खानेपानी वितरण गर्ने लक्ष्यसहित आयोजना निर्माण भएपछि स्थानीयलाई सहज हुनेछ । 

 

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५/७६ मा सुरु गरेको दोवा खानेपानी तथा सरसफाइ आयोजनाको हालसम्म ८० प्रतिशत निर्माण सकिएको छ । 

 

कुल ४ करोड ८९ लाख ६९ हजार ४ सय ६९ रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट ४ सय २२ घरधुरीका २ हजार ५ सय ९६ जनसंख्या लाभान्वित हुने कार्यालयका प्रमुख इञ्जिनियर कुमार खड्काले जानकारी दिए । 

 

‘४ वटा स्किममा निर्माण हुने आयोजनाको एउटा स्किमबाट यसै वर्ष खानेपानी वितरण गर्ने तयारीमा छौँ’, उनले भने, ‘चालू आर्थिक वर्षमा विनियोजन भएको ७३ लाख रुपैयाँ बजेटको काम उपभोक्ता समितिमार्फत भइरहेको छ ।’ आगामी वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको इञ्जिनियर खड्काले बताए । 

 

गरकखोला, छिप्चेपानी, रातोखोला-गरिलाखोला र एकरातेखोलाको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनाएर वितरण गरिनेछ । पानी संकलन गर्न ७५ हजार लिटर क्षमताको एउटा, ५० हजार, ३० हजार र २० हजार लिटर क्षमताका २/२ वटा रिजर्भ ट्यांकी निर्माण सकिएको छ । 

 

स्किम २ र ३ अन्तर्गत मार र बगर टोलका १ सय ३० घरमा निजी धारा जडान, मुख्य तथा शाखा पाइप लाइन विस्तार भएको छ । हालसम्म करिब ३ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाको २ वटा स्किमबाट खानेपानी वितरणको तयारी भएको वडाध्यक्ष दिलीपकुमार गर्बुजाले बताए । 

 

सुनारी टोल र दोवाको स्किमको इन्टेक निर्माण गर्न बाँकी छ । ३० किलोमिटर पाइप लाइनमध्ये मुख्य लाइन निर्माण सकिएको छ । उपभोक्ता समितिमार्फत सञ्चालित आयोजनाको पाइप लाइन निर्माणमा स्थानीयले श्रमदान गरेका छन् । यसअघि सार्वजनिक धारा, खोल्साको पानी उपभोग गर्दै आएका थिए । 


घरघरमै खानेपानी सुविधा हुने भएपछि खुसी लागेको स्थानीय कुमारी पुर्जाले बताइन् । ‘खानेपानी वितरण व्यवस्थित नहुँदा खोलाबाट गाग्रोमै बोकेर खानुपर्ने बाध्यता थियो’, उनले भनिन्, ‘प्रत्येक घरमा निजी धारा जडान गरेर खानेपानी सुविधा उपलब्ध भएपछि समयको बचतका साथै दैनिकीमा सुधार हुने अपेक्षा गरेका छौँ ।’