close

कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको आवेदन दिने म्याद थप

कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको आवेदन दिने म्याद थप

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– परीक्षा नियन्त्रण कार्यालय (राष्ट्रिय परीक्षा बोर्ड) ले कक्षा ११ को ग्रेड वृद्धिको आवेदन फारम भर्न २७ चैतसम्मको समयावधि दिएको छ ।

 

सम्बन्धन प्राप्त माध्यमिक विद्यालय, क्याम्पसमा कक्षा ११ मा अध्ययन गरी अक्षरांकन पद्धतितर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका २ अंक ७४ वा ७५ वा ७६ भएका) कुनै विषयमा ‘सी’ वा सोभन्दा तलको ग्रेड प्राप्त गरी ग्रेडवृद्धितर्फ परीक्षा दिन चाहने (शैक्षिक प्रमाणपत्र नलिएका) परीक्षार्थीले आवेदन दिन सक्नेछन् ।

 

यसैगरी आशिंकतर्फका परीक्षार्थी (रजिस्ट्रेसन नम्बरका सुरुका २ अंक ७० वा ७१ वा ७२ वा ७३ भएका र हालसम्म कुनै विषयमा उत्तीर्ण हुन नसकेकालाई २० चैत २०७७ भित्र साधारण शुल्कमा र २७ चैतभित्र विलम्ब शुल्कसहित आवेदनका लागि पनिकाले समय तोकेको हो ।

 

आवेदन दिन राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा आवेदन फारम भरी सम्बन्धित विद्यालय, क्याम्पसमार्फत चैत मसान्तसम्म राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन पेस गर्नसमेत पनिकाले सम्बन्धित सबैलाई जानकारी गराएको छ । परीक्षा आवेदन फारमका लागि साधारण शुल्क ६ सय र विलम्बसहितको शुल्क १ हजार २ सय रुपैयाँ कायम गरिएको पनिकाले जनाएको छ । 

बाह्य पर्यवेक्षक खटाई प्रयोगात्मक परीक्षा हुने विषयका लागि प्रतिविषय प्रतिविद्यार्थी ७५ रुपैयाँ थप दस्तुर लाग्नेछ । प्रयोगात्मक शुल्क ७५ मध्ये प्रतिविषय प्रतिविद्यार्थी २५ रुपैयाँ सम्बन्धित विद्यालय, क्याम्पसले नै राखी आन्तरिक परीक्षकको पारिश्रमिकबापत उपलब्ध गराउनुपर्नेछ । 

 

बाँकी प्रतिविषय प्रतिविद्यार्थी ५० रुपैयाँका दरले हुने रकम राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयको नाममा बैंक भौचर भरी २० चैतभित्र बैंक दाखिला गर्नुपर्नेछ । प्रयोगात्मक शुल्कबापतको रकम बुझाउन विलम्ब भए यसमा पनि शुल्क दोब्बर हुने भएको छ ।