close

उज्यालो बोकेर गौमूल पुग्यो हेलिकोप्टर 

उज्यालो बोकेर गौमूल पुग्यो हेलिकोप्टर 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको गौमुल गाउँपालिकामा हेलिकोप्टरबाटै विद्युत् सामान ढुुवानी गरिएको छ । गाउँपालिकाको केन्द्र घट्मुनामा हेलिकोप्टरबाट विद्युत् सामग्री झारिएको हो ।

 

गाउँपालिकाको वडा नम्बर १ विकट गाउँ अन्द्राडीमा निर्माण गरिने अन्द्राडी साना जलविद्युत्को सामग्री ढुवानीका लागि हेलिकोप्टर गौमूल पुर्‍याइएको हो ।
 
लामो समयदेखि अँध्यारोमा बस्न बाध्य गाउँबासीको उज्यालो सपना पूरा गर्ने गरी जलविद्युत् निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।


‘मान्छेले बोक्न सक्ने अवस्था छैन । छरिएको गाउँ छ । बस्ती धेरै विकटमा छन् । प्रत्येक टोलमा सहज रूपमा सामान ढुवानी गर्ने नसकिने हुँदा विद्युत् निर्माणका गह्रौँ सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरेका हौँ’, अध्यक्ष रोकायाले ।
 
गाउँपालिकाको समन्वय र काधुुरी एड एग्रिकल्चर ब्रिटिस गोरखा संस्थाको सहयोगमा जलविद्युत् आयोजना करिब १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । विद्युत् आयोजना निर्माणपछि उज्यालोबाट वञ्चित गाउँबासीलाई सहज हुने उनको विश्वास छ ।
 
जनतालाई विस्तारै सिंहदरबार गाउँमा पुगेको आभास भइरहेकाले विकास र समृद्धि दिलाउने प्रयास हुँदै रहेको गाउँपालिका उपाध्यक्ष सीता थापाले दाबी गरिन् । ‘जनताका थुप्रै सपना पूरा गर्नुपर्ने छ । त्यसका लागि क्रमिक योजना छनोट गरेर सम्पन्न गर्दै छौँ’, उनले भनिन् । करिब १ सय किलोवाट क्षमताको जलविद्युत् गाउँपालिकाको विकट अन्द्राडीमा निर्माण गरिनेछ ।

 

सिम्रिक एयरलाइन्सको हेलिकोप्टरमार्फत ल्याइएका विद्युत् सामग्री गाउँपालिकाको वडा नम्बर १ अम्लिस, अन्द्राडी, माडी र वडा नम्बर २ को मल्लोदुगुन, पौदालीलगायत क्षेत्रमा ढुवानी गरिने पाइलट सिद्धार्थजंग गुरुङले जानकारी दिए ।


आयोजनाबाट उक्त वडाका करिब ६ सय बढी घरधुरी लाभान्वित हुने जलविद्युत् निर्माण उपभोक्ता समितिका अध्यक्ष धनबहादुर बोहराले बताए ।