close

बजेट पाएर के गर्नु ? ठाउँमा कचकच, नियत मै ‘खोट’ !

बजेट पाएर के गर्नु ? ठाउँमा कचकच, नियत मै ‘खोट’ !

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको डिकुवा र उदयपुरको सोररुङछबिसेको सीमामा पर्ने सुनकोसीमा मोटरेबल पुल निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारबाट १ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । तर, सो आर्थिक वर्षमा पुल निर्माण स्थलको माटो परीक्षणबाहेक अरू कामै भएन । 

 

हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर २ डिकुवाको नर्सरी बगान र उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० सोररुङछबिसेको ढाँडे जोड्ने पुल निर्माणका लागि चालू आर्थिक वर्ष पनि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट डेढ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । तर, आर्थिक वर्ष बित्न लाग्दासम्म सडक पुलको ‘सिन्को’ भाँच्ने कामसमेत भएको छैन । 

 

बजेट विनियोजन हुने तर काम नहुने समस्याका कारण नर्सरी-ढाँडे मोटरेबल पुल निर्माण अलपत्र अवस्था पुगेको डिकुवाका वडा सदस्य घनश्याम राईले बताए । सुनकोसीमा पक्की पुल निर्माणका लागि प्रदेश सरकारसमक्ष बजेट माग गर्ने क्रममै योजनाको नाम फरक पर्न गएका कारण निर्माण अघि बढाउन झमेला निम्तिएको हो ।

 

खोटाङका प्रदेश सांसद राजन राई र उदयपुरका प्रदेश सांसद कला घले नेतृत्वको टोलीले मन्त्रिपरिषद्को कार्यालय तथा प्रदेश १ को भौतिक पूर्वाधार मन्त्रालयसमक्ष पुल निर्माणका लागि बजेट माग गरेका थिए । 

 

तर, हलेसी तुवाचुङको वडा नम्बर २ डिकुवाको नर्सरी बगान र उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० सोररुङछबिसेको ढाँडे जोड्ने पुल निर्माणका लागि बजेट माग गर्दा हलेसी तुवाचुङको वडा नम्बर २ डिकुवाको नर्सरी बगान र उदयपुरको ताप्ली गाउँपालिकाको निबुवाटार जोड्ने पुल भनेर प्रस्ताव गरेपछि आएको बजेट खर्च गर्न समस्या देखिएको हो ।


नर्सरी बगान र ढाँडे जोड्ने पुलको बजेट नर्सरी र निबुवाटार जोड्ने पुल भनेर आएपछि ताप्लीका स्थानीयले नर्सरी बगान र निबुवाटार पुललाई नै कायम गरेर निर्माण गर्नुपर्ने अडान लिए भने डिकुवाबासीले नर्सरी र ढाँडे जोड्ने पुल निर्माणका लागि अडान लिए ।

 

बजेट आए पनि पुल बनाउने स्थानका विषयमा भएको झमेलाले योजना नै हराउने अवस्था बनिरहेको वडा सदस्य राईले बताए । ‘योजनाको नाम नर्सरी बगान र ढाँडे जोड्ने पुल हुनुपर्नेमा नर्सरी–निबुवाटार भएछ । त्यसो भएपछि ताप्ली गाउँबासीले नर्सरी बगान र निबुवाटार पुल नै कायम गर्नुपर्ने माग राखे,’ वडा सदस्य राईले भने ।

 

नर्सरी बगान र ढाँडे जोड्ने पुल निर्माणका लागि बजेट आएकाले उनीहरूको कुरा अस्वीकार गरिएको उनको भनाइ छ । यसले धेरै समय अलमलको अवस्था सिर्जना भए पनि अहिले विवाद हल भइसकेको उनले जानकारी दिए । 

 

डिकुवाको नर्सरी बगान र सोरुङछबिसेको ढाँडे जोड्ने वा नर्सरीबाट निबुवाटार जोड्ने पुल बनाउने भन्ने विवाद भइरहेको समय नजिकै संघीय सरकारको बजेटमा डिकुवाको राईघाट तुइम्बुबाट ताप्ली गाउँपालिकाको आडमारा जोड्ने पुल निर्माणका लागि डिपिआरको काम भइसकेको छ ।

 

तुइम्बुबाट आडमारा जोड्ने पुल निर्माणको काम अघि बढेपछि नर्सरी बगानबाट ढाँडे जोड्ने पुल निर्माणका लागि भइरहेको विवाद स्वतः हल भएको वडा सदस्य राई बताउँछन् ।

 

‘डिकुवा र ताप्ली गाउँपालिका जोड्ने अर्को पुल बन्ने भएपछि अहिले नर्सरी बगान र ढाँडे जोड्ने पुल निर्माणको काम अघि बढाउन कुनै समस्या छैन,’ वडा सदस्य राईले भने, ‘तर पुलको काम सुचारु गराउन प्रदेश सरकारको ध्यान गएको छैन । आर्थिक वर्ष पनि बित्न लाग्यो । पुल बनाउने योजनै हराउलाजस्तो भइरहेको छ ।’ 

 

डिकुवाको नर्सरी बगान र ढाँडेस्थित सुनकोसीमा सदियौँदेखि सञ्चालनमा रहेको डुंगा विस्थापित गर्न पुल निर्माणको काम अघि बढाइएको थियो । डिकुवाबाट ढाँडे पार गरेपछि बेतेनी हुँदै कटारी आउजाउका लागि सबैभन्दा छोटो मार्ग खुल्ने वडा सदस्य राईले बताए । 

 

प्रदेश सांसद राईले भने कोभिड-१९ को महामारी, त्यसलगत्तै नेकपाभित्र देखिएको आन्तरिक समस्याले पुल निर्माणको काममा सरकारको ध्यान पुग्न नसकेको जानकारी दिए । डिकुवाको नर्सरी बगानसम्म २०६३ मै कच्ची सडक पुगिसकेको छ भने सुनकोसीपारि निबुवाटारसम्म २०६४ मै सडक निर्माण भइसकेको छ ।