close

अध्याँरोमा बसेर २० वर्षदेखि उज्यालो कुर्दै छ माग्रीगाउँ 

अध्याँरोमा बसेर २० वर्षदेखि उज्यालो कुर्दै छ माग्रीगाउँ 

Trulli
ADVERTISEMENT

मुगु- मुगुको मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ८ मा रहेको च्याप्नेगाड जलविद्युत् आयोजना २० वर्ष बितिसक्दा पनि बन्न सकेको छैन । २०५८ मा बाट स्थापना भएको च्याप्नेगाड जलविद्युत् आयोजना सञ्चालन भएको २० वर्ष बढी समय बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको हो । 

 

२५ किलोवाट विद्युत् उत्पादन क्षमताको यो आयोजनाले २ वटा गाउँ माग्री र महगाउँमा करिब ३ सय बढी घरधुरीलाई लक्षित गरी निर्माण सुरु गरिएको थियो । उक्त आयोजनाामा हालसम्म करोडौँ रकम हिनामिना भएको छ भने टाठाबाठाले उपभोक्ता समिति गठन गरेर मागिखाने भाँडो बनाएको स्थानीयको गुनासो छ ।

 

सुरुमा साविक जिविस कार्यालय मुगुअन्तर्गतको दुर्गम विकास क्षेत्रबाट सञ्चालित आयोजनाको जिम्मा पाएको राधा कन्स्ट्रक्सनले ५८ लाख रुपैयाँमा ठेक्का लिएको थियो । ठेकेदारले विद्युत् निर्माणका सामग्री खरिद गरेर आयोजना स्थल पुर्‍याउने एवं ढुंगा, माटो, नहर निर्माण उपभोक्ता समितिबाट गर्ने गरी सम्झौता भएको थियो ।

 

प्राविधिकको डिजाइन स्टिमेटअनुसार काम सम्पन्न भई आयोजनाबाट उत्पादित बिजुलीले मह, माग्री गाउँका बस्ती झिलीमिली भइसकेको रिपोर्ट दुर्गम विकास समितिले प्रतिवेदन जिल्लालाई बुझाएको देखिन्छ । 

 

तर, उक्त प्रतिवेदनले आयोजना सम्पन्न भएको कागजी प्रतिवेदन दिए पनि अहिलेसम्म निर्माण सुरु नै नभएको विगतमा उपभोक्ता समितिका अध्यक्ष रहेका माग्री गाउँका राप्क्या लामाले बताए । 

 

उनका अनुसार विद्युुत् आयोजना निर्माणको जिम्मा पाएको राधा कन्स्ट्रक्सनले कुनै काम नगरेको, सामान आयोजना स्थलमा नपुर्‍याएर भ्रष्टाचार गरेको देखिएपछि पुनः आफ्नै अध्यक्षतामा नयाँ समिति गठन गरी निर्माण अगाडि बढाउन थालिएको छ । 

 

आयोजना बनाउन दाताको खोजी भइरहेको वर्तमान विद्युत् समितिका अध्यक्ष सोनाम लामाले जानकारी दिए । २०५८ बाट आयोजना बनाउने नाममा धेरै समिति हेरफेर भइसके पनि अहिलेसम्म निर्माण अगाडि बढ्न सकेको छैन ।


दुर्गम विकास कोषको आयोजना निर्माणका लागि २६ लाख, साविक माग्री गाविसको ५ वडादेखि ९ वडासम्म लक्षित कार्यक्रमको ८ लाख ९० हजार, नेपाल जलवायु परिवत्ता कार्यक्रम (लापा) को ९ लाख १० हजार, संसद् विकास कोषलगायत विभिन्न निकायको सहयोग गरी ५० लाख, गमगाढ आयोजनाको २० लाख गरी १ करोड १४ लाख रुपैयाँ बढी खर्च भइसकेको छ ।

 

च्याप्नागाड जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष सोनाम छिरिङ लामाका अनुसार आर्थिक अभावका कारण हालसम्म विद्युत बल्न नसकेको हो । मुगुम कार्मारोङ गाउँपालिकाले कुनै पनि तहबाट सहयोग नगर्दा अहिलेसम्म आयोजना अलपत्र परेको लामाले जानकारी दिए ।


आयोजनाको नाममा आएका विद्युत् पोल, अन्य तारबार अलपत्र अवस्थामा परेका छन् भने स्थानीय अँध्यारोमा बस्न बाध्य छन् । पोलका लागि गमगाढ साना जलविद्युत आयोजना मुगुले २ वर्षअगाडि २० लाख रुपैयाँमा स्थानीय ठेकेदारलाई ठेक्का दिए पनि अहिलेसम्म निर्माण स्थलमै नपुगेको अध्यक्ष लामाले बताए ।  

 

‘बत्ती बाल्ने सपना अधुरै भयो । प्रत्येक दसैँमा बत्ती बाल्छौँ भन्छन् तर बल्दैन । विभिन्न संघ-संस्थाले सोलार दिने बताए पनि यही आयोजनाका कारण पाउन सकेनौँ’, स्थानीय छिरिङ टुङडुङ लामाले भने । 

 

सुरुमा बत्ती बाल्न प्रत्येक घरबाट ५०/५० रुपैयाँ उठाइए पनि त्यसको सदुपयोग नभएको उनको गुनासो छ । लामो समयसम्म आयोजना नबन्दा  निर्माण स्थलमा राखिएका औजार उपकरण खिया लागेका छन् भने अधिकांश भग्नावेशेष अवस्थामा फालिएका छन् ।