close

काम सुरु नहुँदै खानेपानी आयोजनामा विवाद 

काम सुरु नहुँदै खानेपानी आयोजनामा विवाद 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा खानेपानी आयोजना निर्माण सुरु नहुँदै विवाद चुलिएको छ । ऐँसेलुखर्कको वडा नम्बर २ बाकाचोलस्थित बिस्खाम खोलाको पानी अन्यत्र लैजान सुरु गर्न लागिएको माथिल्लो खानेपानी योजना विवादमा फसेको हो ।

 

वडाध्यक्ष सन्तवीर तामाङले समन्वय नगरी बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै असन्तुष्ट स्थानीयले विरोध गरेपछि आयोजनाको काम अलमलमा छ । 

 

बाकाचोलसहित ऐँसेलुखर्कको वडा नम्बर ३ ऐँसेलुखर्क र वडा नम्बर ७ माक्पासम्म खानेपानी विस्तार गर्न डिपिआर तयार पारिएको खानेपानी आयोजनाका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेलमार्फत चालू आर्थिक वर्ष ५० लाख रुपैयाँ बजेट प्राप्त भएको छ । 

 

तर, वडाध्यक्ष तामाङले समन्वय नगरी बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्काम सडक उपभोक्ता समिति गठन गरिएको भन्दै असन्तुष्ट स्थानीयले ४ चैतमा वडा कार्यालयमा ताला लगाएका छन् । वडा कार्यालयमा लागेको ताला अझै खुलाइएको छैन । 

 

वडा कार्यालयमा ताला लागिरहेकै समय शनिबार काठमाडौंमा बसिरहेका बाकाचोलबासीले मित्रलाल पुरीको संयोजकत्वमा गत २० असारमा गठन गरिएको संघर्ष समितिलाई हेरफेर तथा विस्तार गरेको छ । 

 

विरोध तथा चरणबद्ध आन्दोलनका लागि गठित १७ सदस्यीय संघर्ष समितिले खानेपानी मन्त्रालय, संघीय संसद्, प्रदेश संसद् र जिल्ला समन्वय समितिलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको बाकाचोल बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तुलसीराम पुरीले बताए । 

 

स्थानीयसँग समन्वय नगरी तथा आयोजनाबाट पर्ने तत्कालीन तथा दीर्घकालीन असरलाई बेवास्ता गर्दै आयोजनाको काम अगाडि बढाइएको संघर्ष समितिको ठहर छ । बिस्काम खोलाको पानी अन्यत्र लैजाँदा चार करोड रुपैयाँको खर्चमा बनाइएको सिन्दुरेढुंगा लिदिङ खोला लघुजलविद्युत् आयोजनालाई असर पर्ने उनीहरूको दाबी छ ।

 

यस्तै, साविकको बाकाचोलको वडा नम्बर २ र ३ का सिँचाइ आयोजना प्रभावित हुँदा कृषि क्षेत्रमा दीर्घकालीन असर पर्ने, ऐँसेलुखर्कको वडा नम्बर १ राखाबाँदेलमा सञ्चालित लघुजलविद्युत् योजना र सिँचाइमा प्रत्यक्ष असर पर्ने असन्तुष्ट पक्षको दाबी छ । 

 

ऐँसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाको पहलमा माथिल्लो खानेपानी योजनाको काम अघि बढाइएको हो । तर, विवादको हल नभए करोडौँ लागतको माथिल्लो खानेपानी योजना नै गुमाउनुपर्ने अवस्था निम्तिने देखिएको छ । 


सोलुखुम्बुमा पर्ने दियाले खोला र बिस्खाम खोलामध्ये बिस्खाम खोलाको पानी विस्तारका लागि डिपिआर गरिएको थियो । डिपिआर गर्दा स्थानीयसँग समन्वय नगरे पनि बजेट परेपछि समन्वय गर्ने गरी रमेश राजभण्डारीको संयोजकत्वमा पालिकास्तरीय समन्वय गठन गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

 

‘बजेट परेपछि उपभोक्तासँग समन्वय गर्ने भनेर डिपिआरको काम गरियो । समन्वय समिति गठन गरिएको छ,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘सहमति भए योजनाको काम अघि बढाउने, नभए विकल्पको खोजी गर्ने लक्ष्य हो । तर, पानी बेच्यो भनेर भाषण गर्नु उचित होइन ।’ 

 

वडा कार्यालयमा लफडै लफडा 


वडा कार्यालय बाकाचोलमा तेस्रो पटक ४ चैतमा ताला लगाइएको हो । वडाध्यक्षसँगको असमझदारीका कारण यसअघि २८ जेठ २०७७ र ७ पुस २०७६ मा वडा कार्यालयमा ताला लगाइएको थियो ।

 

वडा कार्यालय भवन निर्माणका क्रममा वडाध्यक्ष तामाङले आफूखुसी गरेको भन्दै ४ जना वडा सदस्य एवं असन्तुष्ट स्थानीयले गत २८ जेठमा वडा कार्यालयमा ताला लगाएका थिए । 

 

यस्तै, वडाध्यक्ष तामाङको कार्यशैलीमाथि प्रश्न उठाउँदै ७ पुस २०७६ मा वडा सदस्य जयकुमार तामाङले वडा कार्यालयमा ताला लगाएका थिए ।